पहिरोमा परि परिवारका ६ जनाको एकै चिहान
१५ साउन, पोखरा ।

आफन्तले मध्यराति मोबाइलमा फोन गरेर ‘बिहानै घर आऊ’ भनेपछि १८ वर्षीया सञ्जिता विक अनिष्टको आशंकाले रातभर सुत्‍न सकिनन्।

कास्कीको ढिकुरपोखरीस्थित मामाको घरमा पढ्न बसेकी उनी सबेरै आफन्तसँगै जन्मथलो पुग्दा चारैतिर भताभुंग भइसकेको थियो।बुबा रामबहादुर साउदीमा र ११ कक्षामा पढ्दै गरेकी उनी मावलीघरमा गएकाले ज्यान जोगिए पनि परिवारमा सर्वस्व लुटिएको छ।

‘अब यो संसारमा मेरो भन्नु को नै छ र? ‘ आफन्तसँग उनी बिलौना पोख्दै थिइन्, ‘परदेशबाट बा आउँदा कसरी मन बुझाउनुहुन्छ । मैले के भनेर सुनाउने ? ‘ उनी बिहीबार बिहान घरमा आइपुग्दा ८४ वर्षीय हजुरबुवा वसन्त, ७० वर्षीया हजुरआमा हिमाउरी, ३२ वर्षीया आमा चिजा, १४ वर्षीया बहिनी सम्झना, १० वर्षीया बहिनी सलिना र नौ वर्षीय भाइ सुनिलको हिलाम्मे शव बारीमा राखेर तन्नाले ढाकिएको थियो।

यसैगरी परिवारका दुईभन्दा बढी सदस्य गुमाउने अरू पनि धेरै छन्। लुम्लेमा सुत्केरी खान आएकी २६ वर्षीया मञ्जु सुनार, तीन महिनाकी छोरी सीमा, ३२ वर्षीया सुनकुमारी जीसी र १० वर्षीय छोरा संगमको मृत्यु भएको छ।
५६ वर्षीय छिरिङ राई, उनकी पत्नी, गुरुदत्त देवकोटा, तिलकुमारी देवकोटा, तुल्सी देवकोटा र ७० वर्षीया पदमी देवकोटाको पनि मृत्यु भएको छ। ढिकुरपोखरीमा पहिरोले पुरेर १९ वर्षीय प्रेमराज दाहाल र १७ वर्षीया अस्मिता दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक देवी पौडेलले बताए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses