'फलको आशा छैन'
हालै विबाह बन्धनमा बाँधिएकी गायिका रजिना रिमाललाई सानैदेखि गीतसंगीतमा रुचि थियो। आफ्ना संगीतकार ठूलोबाबा राजन रिमाल र बाबा रविन रिमालको संगीतप्रतिको लगावका कारण उनले आठ वर्षकै उमेरदेखि सारेगमप अलाप्न थालेकी हुन्।

घट्टेकुलोस्थित सूर्योदय आवासीय माविबाट एसएलसी दिएकी रजिनाले १२ वर्षको उमेरमा पहिलो पटक 'दुःख चिन्ताले' बोलको गीत रेकर्ड गराएकी हुन्। पछिल्लो समयका चर्चित गीत ‘पानीको फोका' , ‘पागल म बन्न सक्छु', 'मर्ने कसैलाई रहर हुँदैन', ‘तिमीसँग जिउने मर्ने' लगायत थुप्रै चर्चित गीतकी गायिका रजिना भएको कुराकनीको मुख्य अंश:

पढाइ कहाँ पुग्यो?
मैले गोल्डेन गेट कलेजबाट अंग्रेजी र अर्थशास्त्रमा स्नातक पूरा गरेँ। अब स्नातकोत्तर पढ्ने तयारीमा छु।

चलचित्रमा कहिलेदेखि गाउन थाल्नुभयो?
१३ वर्षको उमेरमा मैले चलचित्रमा प्लेब्याक सिंगरका रूपमा काम गर्ने मौका पाएँ। चलचित्र 'सपूत' मेरो पहिलो चलचित्र हो। त्यसपछि मिस्टर मंगले, मेरो एउटा साथी छ हुँदै हालसम्म निरन्तर गाइरहेकी छु।

पहिलो हिट गीत नि ?
चलचित्र ‘नाइँ नभन्‍नु ल'को शीर्ष गीतसहित अन्य सबै गीत श्रोतामाझ निकै लोकप्रिय भएको थियो।

नयाँ एल्बम ननिकाल्ने ?
अहिले म नयाँ एल्बमको तयारीमा छु। प्रायः सबै गीत तयार नै छन्। एल्बममा विभिन्न खाले गीत रहने छन्।

मन पर्ने गायकगायिका ?      
मलाई नारायणगोपाल, भक्तराज आचार्य, सुक्मित गुरुङलगायतका गायकगायिकाको स्वर बढी मन पर्छ।

साउन कत्तिको लागेको छ?      
यही वर्ष विवाह भएकाले साउन त लागेकै छ । वैशाख १७ गते विवाह भए पनि जेठ १७ गतेमात्रै सबैलाई बोलाएर पार्टी भयो।

व्रत पनि बस्नुभएकै होला ?
यसपालि पहिलोपटक साउने सोमबारको व्रत बसेकी हुँ। तीजमा चाहिँ पहिलेदेखि नै बस्ने गर्थें।

तीजमा शिवजीसँग मागेजस्तै वर पाउनुभयो त ?
फल पाउनुभन्दा पनि मलाई इच्छा लागेकाले मात्रै व्रत बस्ने गरेको हुँ।

अहिलेचाहिँ शिवजीसँग के वरदान माग्नुहुन्छ त ?      
अहिले त अवश्य पनि पतिकै सुस्वास्थ्य र दीर्घायुको कामना गर्छु।

व्रतको दिनमा के खानुहुन्छ?      
बिहान फलफूल र दूध खान्छु। बेलुका खानै खाने गरेकी छु।

पूजा गर्न कहाँ जानुहुन्छ?      
म चाबहिलमा बस्ने भएकाले घरसँगैको चाबहिल गणेशस्थानमा जान्छु। पशुपतिमा धेरै भीड हुने भएकाले जान सकेको छैन।

मेहेन्दी कहाँ लगाउनुभयो त?      
पहिलो सोमबार व्रत बस्दा हामी चलचित्र 'बजरंगी भाइजान' हेर्न केएल टावर गएका थियौं। त्यहाँ सबैले लगाएको देखेर मलाई पनि लगाउन मन लाग्यो।

हरियो पोसाक र चुरापोते लगाउन कत्तिको रुचि छ?
पहिलो सोमबार हरियो चुरा लगाए पनि लुगा रातै लगाएको थिएँ। म्याचिङ लगाउने विषयमा म त्यति सचेत छैन।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses