एउटी वृद्धासँगको डेटिङ
बाथरुमको सानो झ्यालबाट चुहिएर बाहिरिएका आँखा पारिपट्टिको घरको एउटा झ्यालमा अचेल नराम्ररी ठोक्किने गरेका छन्। आँखा के ठोक्किनु, झ्यालमा देखिने दृश्यमा आँखा अडिने गरेका छन् भनौं।निद्रा खुलेपछि महसुस हुने मानसिक हल्कापनले बिहानै बाथरुम जाँदाको मन अक्सर निर्विचार हुने गर्थ्यो। तर, आजभोलि बाथरुम छिर्नुुअघि नै पारिपट्टिको झ्यालमा देखिने दृश्य हेर्न मन एक किसिमले हतारिएको हुन्छ।
भूकम्पले हल्लाएको मन पुरानै ठेगानामा फर्किएपछि मैले पहिलोपटक बाथरुमबाट छिमेकी झ्यालमा एक वृद्धालाई देखेको थिएँ। काष्ठमण्डपको पुुरानो शिल्पकारले काठ जोडजाड गरेर बनाएजस्तै लाग्ने उनका दुई पाखुराको गोलाकार घेराभित्र एउटा धुतुमुने बालक थियो।
गहिरा आँखा तिखारेर उनी बालकलाई क्षितिजतिर औंल्याउँदै देखाइरहेकी थिइन्। बालक झटारिन खोज्दा उनी ढल्नढल्न लागेको रूखजस्तै देखिन्थिन् तर, एकदमै दृढतासाथ बालकलाई सम्हाल्थिन्। नजाने, बालक केही माग गर्थ्यो, त्यसबेला वृद्धा र बालक बाहिरबाट नदेखिनेगरी कोठभित्रै हराउँथे।
वियोगान्त सिनेमा उत्कर्षमा पुग्ने बेला झ्याप्प बिजुली गएर बेचैन बनेका गृहिणी दर्शकझैं म रन्थनिएर बाथरुमबाहिर निस्कन्थेँ। देशमा ठूलो भूकम्प गएपछि छिमेकी झ्यालमा बिहानै देखिन थालेको त्यो दृश्य हेर्ने र त्यसबारे मनमा नानाथरी काल्पनिक घटना घटाएर घायल हुने अम्मली बनिसकेको अहिले आएर मात्रै थाहा पाइरहेको छ
भूकम्प जानुअघि कहाँ थिइन् ती वृद्धा? बालक कहाँ थियो? परिवारमा को को छन्? कतै पहाडतिरको घर भत्केर यता टाउको लुकाउने ठाउँ फेला पारेर बसेका पो हुन् कि? बालकका आमा-बाबु कता होलान्? मनमा प्रश्नहरू आउँथे, मनले नै फरक-फरक वनावटी उत्तर दिन्थ्यो।
मनोगत उत्तरहरूबाट कहिले घायल र कहिले सन्तुष्टिले तृप्त हुँदै म आफ्नो कामतिर लाग्थेँ। वैशाख १२ गते काठमाडौंमा भूकम्प जानुअघि त्यो झ्यालतिर फर्केर हेरेको रहेनछु। कहिलेकाहीँ आँखा त्यता जान्थे।
मसिनो हावाले झ्यालको पर्दा थर्थराएको देख्थेँ। आक्कलझुक्कल पर्दा च्यातेर बाहिर चिहाउँदै गरेकी तन्नेरीको टाउकोबाट कपाल गुडेर तल्तिर बगेको देख्थेँ। हरेकजसो झ्याल र बरण्डामा सुलभ त्यो दृश्यले मलाई तान्न सकेको थिएन।
पराकम्प सधैंजसो आउँथ्यो। त्यस्तै सानो एउटा पराकम्पले सधैंझैं काठमाडौं हल्लायो। साँझको समयमा खुुरुरु घरबाट निस्कने मान्छेको हुलमा बालक च्यापेर वृद्धा पनि मिसिइन्।
‘बाँकीलाई पनि मार्छ कि क्या हो?' भित्रैदेखि कामेको उनको स्वरमा वेदना थियो।
‘तपाईंको घरमा अरू कोही छैन? ' मैले सोधेँ।
‘छ’ एक अक्षरको उनको छोटो उत्तर।
आफैं प्रश्न गर्ने र आफैं उत्तर दिएर व्यथित हुनबाट मुक्त हुन मौका छोपेर वृद्धालाई प्रश्न सोधेको थिएँ। तर, उनले आफूलाई भित्रैदेखि उदांगो पार्न रुचि राखिनन्।
बल गरेर उनलाई कोट्याउन खोजेँ, ‘को को हुनुहुन्छ?'
'सबै छौं।'
'सबै भनेको? '
'नाति।'
वृद्धाले भन्न मन गरिनन्, म अवाक् भएँ। अक्सर अचेल मान्छे सुख दुःख बाँड्न चाहँदैनन्। बाँडेर दुःख बाँडिने पनि होइन। त्यसपछिको अर्को परकम्पनमा बाहिर निस्केर फर्कंदा थाहा पाएँ, उनको 'सबै' नातिमात्रै हो।
बेलुकीको परकम्पन थामिएपछि ओच्छ्यानमा पल्टेका बेला भूकम्पभन्दा वृद्धा र उनको नाति घुम्न थाले मनमा।पीडा देखाएर लाभान्वित हुने आजको मनोवृत्तमाथि प्रहार गरिन् उनले। र म ब्युँझेँ। अनि आफ्नो मनोवृत्ति चिन्न बाध्य पार्ने अर्को एउटा घटनामाथि मन दौडिन थाल्यो।
दाहिने काखीमा च्यापेको छालाको ठूलो ब्यागबाट एक मुठो कागजपत्र झिकेर सात्तो फुजिकोले हाम्रा अघिल्तिर फिँजारिन्। मैलिएर पुराना भइसकेका कागजमा सिकारुले लेखेजस्ता लाग्ने नेपाली अक्षर टाँसिएका थिए। केही कागजमा सिसाकलमले कोरेका चित्रमा रङ पोतिएका थिए।
सेतै फुलेको उनको कपाल ज्यादै अररो देखिन्थ्यो। कपाल टाउकोमा उम्रिएको थिएन, बरु कपालको सहारामा टाउको अडेको हो कि झैं लाग्नेगरी घना थियो। उमेर ८३ वर्ष पुगिसक्दा पनि छालामा चाउरी थिएन बरु आँखामुुनि गाला सोहोरिएर पुक्क उठेका कसिला लुंदाले युवतीको संग्रेलो मेटाउँथ्यो।
गालाको सेतो छालामा टिठ लगाएर हेर्दामात्रै देखिने मसिनामसिना नीला दाग थिए। हिरोसिमा नजिकैको रेल स्टेसनबाट हामीलाई पछि पार्दै लौरो बिना नै रेस्टुरेन्टसम्म हिडेर पुग्दा उनमा प्रेमीसँगको डेटिङमा आतुर युवतीमा जस्तै लाक्षणिक आतुरता देखिएको थियो।
दोभासेको मद्दतमा उनलाई मैले एउटा प्रश्न सोधेँ, ‘कागजको यति ठूलो मुठो किन बोकेर हिँड्नुभएको?' ‘छोरीहरूले पठाएका चिठी हुन्, एकदमै मायालु छन् र हलुका पनि छन्।'
‘छोरीहरू कहाँ छन् तपाईंका? '
'तिम्रै देशमा।'
'नेपालमा? '
'हो नेपालमा।उनीहरूले नै पठाएका चिठी हुन्।'
संवादपछि उनले कागजको मुठो फुकाइन्। अक्षरहरू एकदमै बांगाटिंगा थिए, दाहिने हातले लेख्ने आदत बसेको मानिसले देब्रे हातले लेखेजस्ता।
पुुरानिएर पहेँलो भइसकेको एउटा पानामा लेखिएको थियो, 'आमा! पढ्न एकदम नै मन छ। तपाईंको साथ पाएर चिठी लेख्न सक्ने भएकी छु। अर्कोपटक तपाईं नेपाल आउँदा कथा र कविता पनि सुनाउन सक्छु। तर, तपाईंको मायाँ पाइरहौं!'
यत्तिमै टुंगिएको थियो, लामो थिएन चिठी। रेस्टुरेन्टमा हामी पलेँटी कसेर बसेका थियौं। उनी मेरो छेउमै भएकाले सामूहिक बसाइमा पनि छुट्टै कुरा गर्न मलाई सजिलो थियो। सात्तोले हाम्रा लागि सुसी (जापानमा प्रसिद्ध खाना) अर्डर गरेकी थिइन्।
सुसीको प्रतीक्षा गर्दै हामी उनका चिठी पढ्दै थियौं। दोभाषेले चिठीमा लेखिएको अर्थ फुकाएपछि उनका आँखाका छेउ रसिला देखिए। त्यसपछि उति साह्रो बोलिनन्। मौन सुरु भयो। मौन संवादको संवेदनशीलता मनभित्र स्वाट्टै पस्दो रहेछ। केही नभने पनि धेरै बुझिने।
मौनता तोड्दै मैले प्रश्न गरेँ, ‘कस्तो लाग्यो चिठी?'
एउटा कर्मीले पालैपालो मन्दिरका टुँडालमा प्राचीन मुद्रासन कुँद्छ र उही कर्मी ओम मेने पेमे हुँ भन्दै स्तूपामा प्रार्थना गर्छ। मन्दिरको शंखनाद तिम्रा सहरका हरेक गुम्बा र मस्जिदहरूमा सुनिन्छ। स्वयम्भूको थुम्कोबाट आउने धोद्रो आवाजको प्रार्थनाले मन्दिरका पथिकहरू वशीभूत हुन्छन्। देवालयमा कैद धर्मको तिमीहरूलाई वास्ता छैन', सात्तो फुजिकोको अनुहारमा मुस्कान दौडियो।
अझै बोलिनन् सात्तो।
'बालिकाहरूले चिठीमा पोखेको वेदनावाट दु:ख लाग्यो? '
'होइन।'
‘बोल्नुभएन त? '
'खुसीले बोल्ने कुरा हरायो।'
दुःख वा खुसी चित्तको दशा रहेछ। जब त्यो हृदयबाटै आउँछ, तब शब्दहरू सबै नाकाम हुन्छन्। गहिरो दुःखलाई शब्दले बोक्न नसकेरै मान्छेका आँखाबाट आँसु झर्छन्। नत्र मान्छे शब्दबाटै हरेक दुःखलाई सम्बोधन गरेर काटिदिन्थ्यो।
खुसीको पनि यही दशा हो। हाँस्नु केबल मुखको अभ्यास र रुनु केवल आँखाको अभ्यास साबित भएका बेला हा“सो र मुुस्कानबीचको भिन्नता बुुझेँ मैले । उनी बोल्न सकिनन्, भावदशावाट पराजित शब्दहरू उनी भित्रै अड्किए।
‘यो कस्तो खुसी हो?' फेरि मेरो प्रश्न सात्तोलाई।
'खुसी शब्दमा भन्न सकिँदैन।'
'तुलना गरेर भन्न सक्नुहुन्न?'
‘प्रसूतिपछि आमाले पाउने सुखजस्तै', सरल मुद्रामा फर्केर उनले प्रष्ट्याइन्।
तर, सात्तोले भनेजस्तो प्रसव सुखको अनुभव मसँग छैन। र सोधेँ, 'खुसीको यो अनुभूति कहिलेसम्म रहन्छ? '
'जतिबेला अर्को दुःखको तयारी पूरा हुँदैन', बडो दार्शनिक पाराले उत्तर दिइन् उनले।हरेक दु:खबाटै सुखको ढोका खुल्छ र सुख फेरि अर्को दुःखको तयारी हो।
साधनामा बसेको तपस्वीले तत्वबोध गरेजस्तै भएँ म एकछिन् । त्यसो भए सात्तोलाई हृदय थर्थराउने यो खुसीमा पुर्याउने दुःख कुन थियो? मेरो मनमा प्रश्न उब्जियो।
सोधेँ, 'कुन दुःखले तपाईंलाई यो खुसीसम्म पुर्यायो?' 'दुःखले मलाई तिम्रो देश र अहिलेको यो खुसीसम्म एकैपटक पुर्यायो।'
उनको रहस्यमय दुःखमा पस्ने रुचि ममा जाग्यो र सोधेँ, 'त्यो रहस्यमय दुःखबारे भनिदिन सक्नुहुन्छ?' उनी भन्न थालिन्-'रियोको फुजिको २५ वर्षकी थिई।ऊ मैले जन्माएकी छोरी हो। उसलाई जन्माउँदाको प्रसव सम्झेर म अहिले भावविह्वल भएकी हुँ।
उसले जन्म लिएका बेला जब म होसमा फर्केकी थिएँ, काखमा मेरा दुई हातको घेराभित्र ऊ सुनौला खुट्टा हल्लाउँदै थिई। २५ वर्षभन्दा अगाडि ऊ जान सकिन।'
यसोभन्दा सात्तोका आँखा बाटुला देखिएका थिए। लालीमा हराएर अनुहार फुस्रो बन्दै गएको थियो। बितेका दिन बताउँदा मान्छेको रङ यस्तै फुस्रो हुन्छ। हिँड्दै गएको बाटो नरोकिएसम्म मान्छे पछि फर्केर हेर्दैन।बाटो रोकिएपछि मान्छेले काटिसकेको बाटोतिर आँखा फर्काउँछ। सात्तो आफूले हिँडिसकेको बाटो देखाइदिँदै थिइन्।
अर्को एक च्याप्टरमा उनले छोरीबारे बताइन्, 'जवान भएपछि रियोको पत्रकारिता गर्न चीनतिर लागी। पत्रकारिता कति गाह्रो काम हो मलाई थाहा छैन।पत्रकार जीवन बिताउँदा चीनमा उसको ज्यान गयो।मरेको शरीर नदेखेसम्म ऊ जिउँदै छ भन्ने लागिरहँदो रहेछ।'
अनि के गरिन् सात्तोले?
'वियोगको नशाबाट मुक्त हुन म तिम्रो हिमाली देशमा गएँ।'
'त्यसपछि !'
'त्यसपछि कोख बाहिरबाटै छोरी पाएँ, जुन छोरीले लेखेको चिठी भर्खरै तिमीले पढ्यौ।' भक्तपुरमा बालगृह खोलेर असहाय बालबालिकालाई पढ्न सहयोग गरेकी रहिछन् उनले। धेरैजसो चिठी र बेलाबेला उनी आफैं नेपाल-जापान ओहोरदोहोर गर्दिंरहिछन्।
नेपालका हिमालहरूले चोटको दर्द भुल्न सात्तोलाई मद्दत गरे?
'हिमाल मात्र होइन।'
'के रहेछ हाम्रो देशमा? '
'धर्म।'
'कुन धर्म? '
'मान्छेभित्रको धर्म।'
'कहाँ पाइन्छ त्यस्तो धर्म?'
'मन्दिर, गुम्बा, मस्जिद र चर्चबाहिर, तिम्रो देशका पाखा कन्दरामा त्यस्तो धर्म पाइन्छ।'
'कसरी अनुभूत गर्नुहुन्छ त्यस्तो धर्मलाई?'
'तिम्रो देशका भन्ज्याङ चौतारीहरूमा गाडिएका माटोका घ्याम्पामा एकाबिहानै तिम्रा दाजुभाइ र दिदीबहिनी पानी भरेर फर्कन्छन्।दिउँसो टन्टलापुर घाममा बटुवा आई कलकल पानी खाँदा तिमीहरू आफू स्वर्ग पुगेको अनुभूत गर्छौ।'
‘विभिन्न धर्मका मन्दिरहरू पनि देख्नुभएन?' 'मन्दिर, स्तूपा, मस्जिदहरू पनि देखेँ तर, मन्दिरभित्रको धर्ममा तिमीहरू अल्झेका छैनौं। एउटा कर्मीले पालैपालो मन्दिरका टुँडालमा प्राचीन मुद्रासन कुँद्छ र उही कर्मी ओम मेने पेमे हुँ भन्दै स्तूपामा प्रार्थना गर्छ।
मन्दिरको शंखनाद तिम्रा सहरका हरेक गुम्बा र मस्जिदहरूमा सुनिन्छ। स्वयम्भूको थुम्कोबाट आउने धोद्रो आवाजको प्रार्थनाले मन्दिरका पथिकहरू वशीभूत हुन्छन्। देवालयमा कैद धर्मको तिमीहरूलाई वास्ता छैन।'
भन्न मन लागेको थियो सात्तोलाई, 'सात्तो! धर्मको हाम्रो देशमा अभाव छैन। अहिले त चर्च, मस्जिद, मन्दिर र गुम्बा मान्छेका घरघरमै आइपुग्छन् र मानिसलाई तिनीहरूभित्र निर्मित स्वार्थमा कैद गर्न खोज्छन्।' तर, भनिनँ, मौन बसेँ।
आफ्ना प्रतिक्रियामाथिको मेरो मौनताले उनी खुम्चिइन्। भनिन्, 'तिम्रो समाजसँग दुःख सुख निर्धक्क बाँड्ने क्षमता छ। जहाँ हजुरबा हजुरआमादेखि नातिपनातिसम्मको पुस्ता एउटै छानामुनि खुसी भएर बस्न सक्छन्।'
ओहो ! सात्तोले वर्णन गरेको हाम्रो समाजको दृश्य त समयको माटोले पुरिँदै छोपिँदै र थिचिँदै गइसक्यो। बाथरुमको झ्यालबाट देखिएकी ती वृद्धा आफ्नो वेदना र कष्टसँगै जोडिएको घरमा बस्नेसँग बाँड्न सक्दिनन्।
?
भुइँचालोपछि गाउँबाट बालबालिका हराएका र किशोरीहरू सिमानापारि पुगेका अखबारी खबर ती वृद्धाले पनि सुनेकी थिइन् कि! आफूलाई सम्भावित दलाल कल्पना गर्दै म आधा रातमा निदाएँ।
www.annapurnapost.com
0 comments
Write Down Your Responses