दुई मोर्चाबीचकाे टकरावले अान्दाेलन हिंसात्मक'
यहाँका राजनीतिक विश्लेषकका अनुसार दुवै मोर्चाबीच आन्दोलनको नेतृत्व कसले लिने भन्ने होडबाजीका कारण वीरगन्ज तनावग्रस्त बनेको हो।
भाद्र २२, २०७२- वीरगन्जमा दुई मधेसी मोर्चाबीच टकरावका कारण आन्दोलन अराजक भएको निष्कर्ष स्थानीयले निकालेका छन्। दुई मोर्चाबीच आन्दोलन चर्काउने होडबाजी भएपछि स्थिति हिंसात्मक हुन पुगेको हो। सुरु भएको १६ दिनसम्म शान्तिपूर्ण रहेको आन्दोलन एक साताअघि हिंसात्मक भएर पाँच जनाको ज्यान गएको थियो।
यहाँका राजनीतिक विश्लेषकका अनुसार दुवै मोर्चाबीच आन्दोलनको नेतृत्व कसले लिने भन्ने होडबाजीका कारण वीरगन्ज तनावग्रस्त बनेको हो। आन्दोलन सुरु भएयता दलका स्थानीय नेता–कार्यकर्ता प्रदर्शनमा सहभागी हुने गरेका थिए। बिहान टायर बाल्ने, नाराबाजीसहित सहर परिक्रमा गर्थे। प्रत्येक दिन साँझ घण्टाघरमा कोणसभा गरी घर फर्कन्थे। बैंक तथा वित्तीय संस्था खुलेकाले आर्थिक कारोबार चलेकै थियो। राति भन्सारबाट निर्बाध रूपमा इन्धन बोकेका ट्यांकर, एलपीजी ग्यासका बुलेट, औद्योगिक कच्चा पदार्थ र मालवाहक गाडी भित्रिरहेका थिए। अधिकांश उद्योग सञ्चालनमा थिए। भदौ १३ गते साँझ वीरगन्जको नगवाबाट सुरु भएको झडप, तोडफोड पुरै सहरभरि फैलियो। स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले भदौ १५ गते अपराह्न साढे २ बजेदेखि वीरगन्जलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्यो।
संयुक्त लोकतान्त्रिक मोर्चामा आबद्ध संघीय समाजवादी फोरमका प्रदीप यादव, संघीय समाजवादी मोर्चामा आबद्ध राजेशमान सिंह, शशिकपुर मियाँबीचमा स्थानीय स्तरमा राजनीतिक र युवा परिचालनमा प्रतिस्पर्धा हुँदै आएको थियो। यसअघि उद्योगीसँग आर्थिक सहयोग लिएर बन्दको क्रममा उद्योग चलाउन दिएको, प्रहरी प्रमुखसँग मिलेर आन्दोलन नचर्काएको आरोप संघीय समावेशी मोर्चाले संयुक्त लोकतान्त्रिक मोर्चाका नेतामाथि आरोप लगाउँदै आएका थिए। संघीय मोर्चाका संयोजक सरिफ मियाँले आर्थिक सहयोग लिएर आन्दोलन चर्काएको आरोप घण्टाघर मञ्चबाटै लगाएपछि संयुक्त लोकतान्त्रिकका प्रदीपसँग चर्काचर्की भएको थियो। दुवै पक्षबीच हात हालाहालको स्थिति सिर्जना भएको थियो।
दुवै मोर्चाका माग एउटै भए पनि वीरगन्जमा विभिन्न मधेस केन्द्रित दलहरू संयुक्त लोकतान्त्रिक मोर्चा र संघीय समावेशी मोर्चामा विभाजित भएर आन्दोनरत थिए। संघीय समाजवादी फोरम, तमलोपा, सद्भावना, तमसपा संयुक्त मोर्चामा आबद्ध थिए। अनिल झाको सद्भावना, मात्रिका यादवको माओवादीलगायत ११ दल संघीय समावेशी मोर्चामा गोलबद्ध थिए। दुवै मोर्चाले घण्टाघर चोकमा छुट्टाछुट्टै मञ्च बनाएर आन्दोलन हाँकिरहेका थिए।
शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी प्रहरीलाई ढुंगा हिर्काएको भन्दै गत भदौ ६ गते संयुक्त मोर्चामा आबद्ध रहेको संघीय समाजवादी फोरमका प्रदीपले १ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। १६ बुँदे समझदारीको एक हस्ताक्षरकर्ता दल फोरम लोकतान्त्रिकले आन्दोलनमा जाने निर्णय गरेपछि स्थानीय नेतृत्वले संघीय समावेशी मोर्चामा सहभागी भएर आन्दोलन गर्ने निर्णय गर्यो। शरतसिंह भण्डारीको पार्टी राष्ट्रिय मधेस समाजवादी पार्टीले सोही मोर्चामार्फत आन्दोलनमा होमियो। उसले संयुक्त मोर्चाभन्दा कडा आन्दोलन गर्ने भन्दै खुल्ला रहेका उद्योग बन्द गराउने र प्रहरीले इन्धन, मालवाहक सवारी एस्कर्टिङ गर्ने बाइपास सडकमा धर्ना दिने गर्न थाल्यो। बन्दको १६ औं दिन साँझ समावेशी मोर्चाले नगवास्थित बाइपास सडकमा टेन्ट गाडेर विरोधसभा आयोजन गर्यो। सभा सम्पन्न भएपछि सुरक्षाकर्मीले टेन्टमा रहेका नेता/कार्यकर्तालाई हटाउन खोज्दा तनाव सुरु भयो। फोरम लोकतान्त्रिकका मियाँ र फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीपले भने होडबाजीले आन्दोलन अराजक भएको अस्वीकार गरे ।kantipur.ekantipur.com
0 comments
Write Down Your Responses