भारत हल्लाएको हत्या प्रकरण : आमाले छोरी हत्या गरेको आरोप

प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ, शिना राहुल मुखर्जीसँग ‘लिभिङ टुगेदर’ सम्बन्धमा थिइन् । राहुल इन्द्राणीका हालका पति पिटर मुखर्जीकी पहिलो पत्नी शबनमबाट जन्मिएका हुन् ।
भाद्र १६, २०७२- एक साता अघि (अगस्ट २५) मुम्बई प्रहरीले भारतकी एक चर्चित महिलालाई आफ्नी 'बहिनी' शिना बोराको हत्या अभियोगमा पक्राउ गर्‍यो । ती चर्चित महिला थिइन् सञ्चार उद्यमी पिटर मुखर्जीकी पत्नी, इन्द्राणी मुखर्जी । आफैं पनि भारतको ठूलो मानव संशाधन कम्पनीकी प्रमुख भइसकेकी उनको पक्राउले भारतीय मिडियामा राम्रै चर्चा पाउने नै भयो ।

उनी पक्राउ परेको भोलिपल्ट घटनाले तब नयाँ मोड लियो जब इन्द्राणीले शिना आफ्नी बहिनी नभई छोरी भएको बयान दिइन् । यसपछि २४ वर्षिया शिना बोरा हत्या प्रकरणमा यस्ता धेरै नयाँ मोडहरु थपिइरहेका छन् । मुम्बई प्रहरीका प्रमुख राकेस मारियाले मिडिया समक्ष शिना इन्द्राणीकी छोरी भएको कुरा सार्वजनिक गरेलगत्तै यो हत्या प्रकरणको रहस्यबारे अनेक चर्चा सुरु भयो ।

यो तथ्य सार्वजनिक भएसँगै सर्वसाधारण मात्रै नभएर मुम्बई र दिल्लीका ‘इलिट’हरु पनि आश्चर्यमा परेका छन् । किनकि इन्द्राणी पार्टीहरु र सामाजिक भेटघाटमा सधैं शिनालाई आफ्नी बहिनीको रुपमा चिनाउँथिन् ।

सन् २०१२ अप्रिल २४ मा शिना बोरा एकाएक गायब भएकी थिइन् । त्यसको एक महिनापछि उनको शव प्रहरीले फेला पारेको थियो । कामबाट चाँडै बिदा लिएर निस्किएकी उनले हराएकै दिन आफू काम गर्ने संस्थामा राजीनामा पत्र पठाएकी थिइन् ।

हत्याको तीन बर्षपछि प्रहरीले दुई साता अघि (अगस्ट २१) मा इन्द्राणीको ड्राइभरलाई पक्राउ गरेको थियो । ड्राइभरले ईन्द्राणीले हत्या गरेको र त्यसमा आफूले सहयोग गरेको बयान दिएपछि प्रहरीको अनुसन्धानले गति पाएको थियो । लगत्तै प्रहरीले इन्द्राणीलाई पक्राउ गरेको हो ।

प्रहरीले इन्द्राणी पक्राउ परेको २ दिनपछि उनका पूर्वपति सञ्जिव खन्नालाई पनि पक्राउ गर्‍यो । उनी कलकत्ताका व्यापारी हुन् । शिना हत्याको मुद्दा अहिले मुम्बईको अदालतमा चलिरहेको छ । सञ्जिव इन्द्राणीका दोस्रा पति हुन् । शिना भने पहिलो पति सिद्धार्थ दासबाट जन्मिएकी थिइन् । पहिलो पतिसँग उनले एक छोरी र एक छोरा जन्माएकी थिइन् । पहिलो पतिबाट जन्मिएका इन्द्राणीका छोरा मिखाइल आफ्नी दिदीको हत्या आमाले गरेको दाबी गरिरहेका छन् ।

इन्द्राणीले आफ्नी छोरीको परिचय आफ्नो साथी संगतमा किन लुकाइन् ? आफ्नी छोरीलाई बहिनी भन्दै चिनाउनु इन्द्राणीको उद्देश्य के हो ? यसको जानकारी प्रहरीसँग पनि छैन् ।

अचम्म त के छ भने इन्द्राणीले हालका पति पिटर मुखर्जीलाई समेत शिनालाई आफ्नी बहिनीका रुपमा चिनाएकी थिइन् । उनले प्रहरीसँग शिना इन्द्राणीको पहिलो पतिबाट जन्मिएकी छोरी हुन् भन्ने जानकारी नै नभएको बयान दिएपछि मिडिया नै तरंगित भयो ।

‘बिहे भएको १५ बर्षमा मैले इन्द्राणीको माइती पक्षसँग भेटेको छैन । म इन्द्राणीभन्दा उमेरमा १५ बर्ष जेठो भएकाले उनीहरु खुशी छैनन् जस्तो लाग्थ्यो । इन्द्राणीलाई पनि पुराना कुरा कोट्याएको मन पर्दैनथ्यो । मैले शिनालाई सालीको रुपमा चिनें,’ उनले मिडियामा भनेका छन् । पिटरका अनुसार इन्द्राणीले उनलाई शिना अमेरिका गएको बताएकी थिइन् । पक्राउ पर्नुअघि इन्द्राणीले मिडियासमक्ष पनि शिना अमेरिकामा रहेको दाबी गरेकी थिइन् ।

शिना हत्याको उद्देश्य के थियो ? प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ, शिना राहुल मुखर्जीसँग ‘लिभिङ टुगेदर’ सम्बन्धमा थिइन् । राहुल इन्द्राणीका हालका पति पिटर मुखर्जीकी पहिलो पत्नी शबनमबाट जन्मिएका हुन् । नाता लगाउने हो भने राहुल शिनाको झट्केलो दाजू हुन् ।

‘यसमा शंका छैन कि मेरी दिदीको हत्या भएको हो । उनको हत्या कहिले भएको थियो मलाई थाहा छैन । मैले सोधेको बेला इन्द्राणीले उनी अमेरिकामा पढाइमा व्यस्त भएको जवाफ दिन्थिन्,’ शिनाका भाई  मिखाइलले भनेका छन् । शिना र मिखाइल दुवै मामाघरका हजुरबुबाआमासँग गुवाहटीमा हुर्किएका थिए । शिना बेपत्ता हुनुभन्दा अघिसम्म दुवैजना मुम्बईस्थित एक एयरलाईन्स कम्पनीमा कार्यरत थिए ।

को हुन् इन्द्राणी ?
असमको गुवाहटीमा जन्मिएकी इन्द्राणीको नाम सानो छँदा पोरी बोरा थियो । गुवाहटीमा स्कुले पढाई सकाएपछि उनी उच्च शिक्षा अध्ययनको लागि सिलोङ पुगेकी थिइन् । सिलोङमा छँदा उनले सिद्दार्थ दाससँग विवाह गरिन् र दुई सन्तान जन्माइन्– शिना र मिखाइल । उनीहरु क्रमश: सन् १९८७ र १९८८ मा जन्मिएका थिए ।

१९९० मा दुवै सन्तानलाई आफ्नो आमाबुवको साथमा छाडेर उनी कलकत्ता पुगिन् । र, तीन बर्षपछि सञ्जिव खन्नासँग विवाह गरिन् । सञ्जिवबाट १९९७ मा उनको एक छोरी विधि जन्मिइन् ।

सन् २००१ मा उनी मुम्बई सरिन् । सञ्जिवसँगको डिभोर्स प्रक्रिया चल्दै गर्दा उनको भेट हालका पति पिटरसँग भएको थियो । २००२ मा उनीहरुले विवाह गरे । पिटरसँग विवाह गरेलगत्तै उनका दोस्रो पतिबाट जन्मिएकी छोरी बिधि पनि इन्द्राणीसँगै आइन् र थर मुखर्जी रोजिन् । २००६ पछि शिना पनि इन्द्रेणीसँगै बस्न थालिन् ।

सानो कम्पनीबाट जागिर सुरु गरेकी इन्द्राणीले भारतको ठूलो मानव संशाधन कम्पनीमा प्रमुखको रुपमा जिम्मेवारी सम्हालिसकेकी छिन् । २००१ मा उनले सुरु गरेको कम्पनी रिलायन्स कम्पनी मुम्बईको ठूलो रिक्रुटमेन्ट कम्पनी मानिन्छ ।kantipur.ekantipur.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses