यसरी तुहियो प्रचण्डको बाल्यकालदेखिको सपना !
काठमाडौं, २१ भदौ । भनिन्छ मानिस जन्मिदा खेरी नै एउटा सपना बोकेर संसारमा पाइला टेक्छ । र त्यो सपना पूरा गर्न हजारौं संघर्ष जीवनमा उसले गर्छ ।‘२०२८ सालमा पुष्पलाल समूहका नेता रुपलाल विश्वकर्माबाट कम्युनिष्ट पार्टीको सदस्यता लिइसकेर पनि पुष्पकमल दाहाल दोधारमै थिए– शाही नेपाली सेनामा गएर सेकेन्ड लेफ्टिनेन्ट बन्ने कि कम्युनिष्ट आन्दोलनमा होमिने ? सुरुमा सोचे–सैनिक अधिकृत नै बन्ने । र, भर्ना भए सेनाको नेशनल क्याडेट फोर (एनसीसी) मा ।
चितवनमा हुर्के–बढेका उनी त्यसयताका पाटन संयुक्त क्याम्पसमा आईएससी पढ्दै थिए । ‘आईएससी पढेकालाई सेकेन्ड लेफ्टिनेन्टमा लिने चलन थियो । अझ एनसीसी ग¥यो भने विशेष ग्राह्यता पाईन्थयो ।’ प्रचण्डले खुलासा गरे, ‘सुरुमा मेरो ध्यान त सेनामै जाने थियो ।’
त्यस बेला कलेज पढिरहेका विद्यार्थीलाई सामान्य फौजी कौशल सिकाउने ‘एनसीसी’ तालिम दिईन्थ्यो । एक वर्षभरि काठमाडौ.को सैनिक मुख्यालयसामुन्ने टुँडिखेलमा छाती तन्काउँदै परेड पनि खेले उनले । ‘सेनामा जाने इन्ट्रेस्ट खोई कताबाट आयो ! आर्मी अफिसर बन्न असाध्यै मन लाग्थ्यो ।’ पारिवारिक प्रेरणाले हो कि भन्ने अडकल काट्दै उनले थपे, ‘हुन त मेरा काकाहरु पनि सेनामा थिए । एक जना काका त सुवेदार मेजर पनि हुनुहुन्थ्यो । सायद त्यसैको इम्प्रेस प¥यो कि !’
किन ? एनसीसी र आईएससी कम्प्लिट भइसकेपछि मलाई राजनीतिको नशा यति लाग्यो कि सेनामा जानु हुन्न भन्नेतिर गएँ म ।’
सेनामा गएको भए उनी पनि कतै माओवादीसँगै युद्ध भिड्थे होलान् । अथवा देशले जनयुद्ध देख्दैन थियो कि ! ‘सेनामा जानुभएको भए कर्णेलभन्दा माथि पुग्नुहुन्थ्यो होला ?’ जवाफमा ‘त्यो त खोइ, के भइन्थ्यो कुन्नी !’ भन्दै उनी कुम हल्लाउँदै हाँसे । सेनामा भर्ती नभए पनि उनको सैन्य मोहचाहिँ हराएको थिएन् । कालान्तरमा उनले एक दशक लामो सशस्त्र संघर्षको अगुवाई गरे र सरकारी सेनाको ‘कर्णेल’ होइन, आफैंले खडा गरेको जनमुक्ती सेनाको कमाण्डर बने । जसले बन्दुक चलाउन सिकायो, त्यो उसैतिर सोझियो । त्यतिबेला पुष्पकमल आर्मी अफिसर नभई प्रख्यात प्रचण्ड बनिसकेका थिए ।’’ प्रचण्डको यो भनाई सुधीर शर्माद्धारा लेखिएको पुस्तक प्रयोगशालामा उल्लेख गरिएको छ ।
माथि भनेजस्तै, प्रचण्डको चाहना नेपाली सेनाको कर्णेलसम्म पुग्ने नै थियो । तर कारणवंश उनी माओवादी लडाकूका कमाण्डर बने । जसमा मुख्य कारण हो कम्युनिष्ट आन्दोलन, जसले प्रचण्डलाई यसरी छोयो कि उनले सेनाको कर्णेल बन्ने सपना बिर्सिए । कम्युनिष्ट आन्दोलनको नेतृत्व हातमा लिँदै प्रचण्डले हतियार चलाउने चाहना त पूरा गरे तर, माओवादी बनेर । सेनामा भने उनी कर्णेल भन्दा पनि दुश्मन बने ।
(सुधीर शर्माद्धारा प्रकाशित पुस्तक ‘प्रयोगशाला’को सम्पादित एक अंश ।)
dainiknepal.com


0 comments
Write Down Your Responses