किरिया बसेकै ठाउँमा तीनजनाको मृत्यु
इलाम (श्रीअन्तु) : इलामको श्रीअन्तु गाउँ विकास समितिस्थित श्रीबुङ गाउँमा श्रीमतीकोे किरिया बसेका श्रीमान्सहित तीनजनाको निसासिएर मृत्यु भएको छ ।किरिया बसेकाहरुको मृत्यु भएपछि गाउँलेमा शोकमाथि शोक थपिएको छ । श्रीअन्तु गाविस–६ मा जेनेरेटरको धुवाँले निसासिएर तीनजनाको मृत्यु भएपछि दिनभर गाउँलेका आँखामा आँसु थामिएन ।
श्रीबुङमा श्रीमति जोतिमाया तामाङको किरिया बसेका ४५ वर्षीय लगन तामाड., सोही गाउँका १८ वर्षीय नितेश मगर र पशुपतिनगर निवासी ६० वर्षीय फुर्वा तामाङको मृत्यु भएको हो ।
उनीहरु तीनैजना शनिबार बिहान घरको कोठामा बेहोस भेटिएपछि उपचारका लागि फिक्कल ल्याइएको थियो । फिक्कल ल्याएपछि डाक्टरले उनीहरुलाई मृत घोषित गरे ।
किरिया बसेको ठाउँमा रहेका तीनैजना त्यही कोठामा राखिएको जेनेरेटर चलाएपछि धुवाँले निसासिएर मृत्यु भएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पदम थपलियाले बताए ।
लमनकी श्रीमती ज्योतिमाया तामाङको दुई हप्ताअघि मृत्यु भएपछि तामाङ संस्कारअनुसार घेवा भइरहेको थियो । आइतबार घेवाको अन्तिम दिन मूलकर्म सम्पन्न गर्नु केही दिन अघिदेखि नै लामा पढाउने काम भइरहेको थियो ।
शुक्रबार राति पनि लामा पढाउन बिजुली नहुँदा जेनेरेटर चलाइएको थियो । पानी परेकाले घरको कोठामै राखेर जेनेरेटर चलाइएको थियो ।
त्यही कोठाका सबै दैला र झ्याल लगाएर तीनजना सुतेको निकेशका बुबा टेकबहादुर मगरले बताए । ‘बत्ती बाल्ने भनेर जेनेरेटर स्टार्ट गरेर सुतेछन्’, उनले भने, ‘कोठाभित्र हावा छिर्ने ठाउँ भएनछ, निदाएपछि निसास्सिएको थाहै नपाइ राति नै सकिएछन् ।’
लमनका कान्छा छोरा प्रितमका अनुसार बिहान ढिलासम्म नउठेका उनीहरुलाई बोलाउँदा नबोलेपछि ढोका फोडेर हेर्दा सबैजना अचेत अवस्थामा थिए ।
फिक्कलको प्रसिद्ध हस्पिटलका डा. आश्विनीकुमार रञ्जनका अनुसार जेनेरेटरले कार्वनडाई अक्साईड फाल्दा कोठामा अक्सिजन अभावमा श्वास फेर्न गाह्रो भएर मृत्यु भएको हुन सक्छ ।
शवलाई फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रको शवगृहमा शनिबारै पोष्ट मार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
आइतबारदेखि उनीहरुको पनि घेवा शुरु गरिने आफन्तजनले बताए । मृतक लमनका दुई छोरा र दुई छोरी छन् भने निकेशका बाबुआमा र दुईजना बहिनी छन् । annapurnapost.com
0 comments
Write Down Your Responses