राप्रपा नेपाल संविधान निर्माणमा सहभागी हुने
काठमाडौं : संविधानसभाको चौथो शक्तिको रुपमा रहेको राप्रपा नेपाल संविधान निर्माणको बाँकी प्रक्रियामा सहभागी हुने भएको छ।राप्रपा नेपालको केन्द्रिय समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। अध्यक्ष कमल थापाले संविधान निर्माण प्रक्रियामा सहभागी हुने भन्दै राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको जानकारी राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
श्रेष्ठले भने, राप्रपा नेपाल प्रजातन्त्रको मुल्य र मान्यता अनुसार विधि र प्रकृयाबाट अघि बढ्छ,आफ्नो एजेन्डा रक्षाका लागि अन्तिमसम्म संविधानसभालाई उपयोग गर्छ।'
राप्रपाले आफ्ना एजेन्डालाई सुरक्षित राख्दै संविधान निर्माण प्रक्रियामा बाधक नबन्ने निश्कर्ष निकालेको हो । केही दिन अघि मात्र राप्रपा नेपालले आफ्ना मुद्दा र मागलाई तीन दलले सम्बोधन नगरेको आरोप लगाउँदै प्रक्रियाबाट बाहिरिने निर्णय गरेको थियो ।
तीन दलले राप्रपालाई औपचारिक रुपमा पत्रचार गरेर प्रक्रियामा सहभागी हुन अनुरोध गरेका थिए। राप्रपा नेपालको नेतृत्व र तीन दलबीच वार्ता पनि भएको थियो । राप्रपा नेपालले सुरुदेखि नै हिन्दु राज्य कायम हुनुपर्ने र राजसंस्था संविधानमा उल्लेख गर्नुपर्ने माग राख्दै आएको छ।
चौथो शक्तिका रुपमा रहेको राप्रपा नेपालको यो निर्णयले प्रकियाबाट बाहिर रहेका अन्य दल र पक्षहरुलाई संविधान निर्माणमा सहभागी हुन सकारात्मक दबाब पुगेको छ।
annapurnapost.com


0 comments
Write Down Your Responses