‘संविधान बने हामी च्यात्छौं, नबने तीन दल असफल’
गोरखा : नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले ‘किरण’ ले संविधानसभाबाट संविधान नआए मुलुकमा संकट आउने बताएका छन् ।बिहीबार गोरखाका पत्रकारहरुसँग कुराकानी गर्दै उनले संविधान आए पनि संकट र नआए पनि संकट आउने बताएका हुन् ।
‘संविधान सभाबाट संविधान नआए मुलुकमा संकट आउँछ’ उनले भने, ‘तीन दलले पनि गर्न नसके के हुन्छ ? संकट आउँछ । ल, हेर्नु है अब मुलुकमा संकट आयो । तीन दलले पनि नसक्ने कुरा आयो ।’
अहिलेको अवस्थामा संविधान आउनु र नआउनुमा कुनै फरक नभएको बताउँदै अध्यक्ष वैद्यले मुलुकको संकट टार्न तीन दलले पनि नसक्ने जिकिर गरे ।
‘बनाए पनि सुख छैन, नबनाए पनि सुख छैन’ उनले भने ‘संविधान बनाए हामी अस्वीकार गर्छौं, च्यात्छौ र जलाउँछौं । नबनाए तीन दल असफल हुन्छन्’, अध्यक्ष वैद्यले भने,
‘संविधान नै नभए के हुन्छ ? संकट भनेको यही त हो । संकटमा फसे यिनीहरु । तीन दलले नसकेपछि संकट आयो अब ।’
संकटको हल क्रान्तिबाट आउनसक्ने उनले बताए । ‘संकट आएपछि दुई तरिकाले हल हुनसक्छ । एउटा हल फाँसीवादी, तानाशाही ढंगले हुन सक्छ’, उनले भने ‘अर्को हल नयाँ क्रान्तिबाट हुन सक्छ । यस्तो अवस्था नआओस् भन्ने चाहन्छु ।’
पत्रकारसँग बोल्दै उनले अहिले अलोकतान्त्रिक र फाँसीवादी तरिकाले संविधान जारी गर्ने अभ्यास भइरहेको आरोप लगाए ।www.annapurnapost.com
0 comments
Write Down Your Responses