मोर्चाका नेताले अस्पतालभित्रै डाक्टरको गाडी जलाए
डाक्टरमाथि कुटपिट र दुर्व्यबहारबारा : बाराको सदरमुकाम कलैयास्थित जिल्ला अस्पतालमा पार्किङ गरेर राखिएको डाक्टरको गाडीमा आन्दोलनकारी मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार दिउँसो आगजनी गरेका छन् ।
मोर्चाका कार्यकर्ताहरुले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्रकुमार झाको स १ च ८७९ नम्बरको निजी कार अस्पताल परिसरमै जलाएका हुन् ।
अस्पताल परिसरमा पार्किङ गरिराखेको कार उनीहरुले अपरान्ह चार बजे पेट्रोल छर्केर आगजनी गरेका हुन् । आगजनीबाट कार पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
मधेस आन्दोलनका क्रममा भदौ १५ गते प्रहरीको गोलीबाट मारिएका कलैया–१० का हिफाजत मियाँको पोष्टमार्टम रिपोर्ट गलत बनाएको भन्दै मोर्चाका कार्यकर्ताहरुले डाक्टर झाको कारमा आगजनी गरेका हुन् ।
छातीमा गोली लागेर मारिएका मियाँको डाक्टर झाले बनाएको पोस्टमार्टम रिपोर्ट शरीरको पछाडि भागमा गोली लागेको उल्लेख गरेको आरोपमा कारमा आगो लगाइएको हो ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य प्रमोद गुप्ता र तमलोपाका जिल्ला सदस्य अरुण कुमार सिंहको नेतृत्वमा रहेका नेता कार्यकर्ताले कारमा आगजनी गरेका हुन् ।
कलैयाको भरत चोकबाट ४०/५० जनाको संख्यामा अस्पतालमा पुगेका मोर्चाका कार्यर्ताहरुले शुरुमा मेसु झाको कार्यकक्षमै पुगेर गलत पोष्टमार्टम रिपोर्ट किन बनाएको भन्दै गालीगलौज र हातपातसमेत गरेका थिए ।
मेसु झामाथि हातपात हुन थालेपछि अस्पतालका कर्मचारीले उनलाई त्यहाँबाट भगाएर लगेपछि मोर्चाका कार्यकर्ताहरुले उनको कारमा आगजनी गरेका हुन् ।
अस्पताल परिसरमा पार्किङ गरेर राखिएको कारमा शुरुमा उनीहरुले तोडफोड गरेका थिए । त्यसपछि मोर्चाका कार्यकर्ताहरुले कारलाई धकेल्दै एक सय मिटर पर प्रसुती सेवा केन्द्र अगाडि लगेर पेट्रोल छर्की आगो लगाएको प्रत्यक्षदर्शीले बतएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले कारमा आगजनी गरेलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगेको थियो ।
तर मोर्चाका कायकर्ताहरु भने त्यहाँबाट भागिसकेका थिए । कारमा आगजनी गरेपछि प्रसुती सेवा केन्द्रमा रहेका सुत्केरी महिलाहरु अत्तालिएर बाहिर निस्किएका थिए ।
कारमा आगो लगाइएपछि अस्पताल परिसरमा ठूलो संख्यामा जनपथ र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले पोस्टमार्टम रिर्पोटको बहाना केही व्यक्तिले गुण्डागर्दीको शैलीमा डाक्टरको गाडीमा आगजनी गरेको बताए ।
www.annapurnapost.com
0 comments
Write Down Your Responses