प्रक्रिया सार्ने प्रधानमन्त्रीको प्रस्ताव ओली र प्रचण्डबाट अस्वीकार, आजै मतदान
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको प्रक्रिया अझै केही पर सार्ने प्रस्तावालाई एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ठाडै अस्वीकार गरेका छन्।

प्रक्रिया सार्ने योजनाअनुसार कोइरालाले आइतबार बिहान बैठकका लागि ओली र प्रचण्डलाई बालुवाटार बोलाए पनि दुवै बैठकमा सहभागी भएनन् । दुवैले अब बैठक गरेर अलमलिनुभन्दा प्रक्रियामा जानुपर्ने सन्देश प्रधानमन्त्रीलाई दिएका छन् । प्रक्रिया सार्ने पक्षमा प्रधानमन्त्रीको मनसाय बुझेपछि ओली र प्रचण्ड बालुवाटार नगएको र प्रक्रिया कुनै पनि हालतमा सार्ननहुने प्रधानमन्त्रीलाई टेलिफोनमा बताएका छन् । प्रचण्ड र केपीको यस्तो अडानपछि आजै मतदानको प्रक्रिया सुरु गर्ने तयारी भएको बुझिएको छ ।


सभाध्यक्ष सुवास नेम्वाङ पनि वार्ताको ढोका खुलै राखेर प्रक्रियामा जानुपर्ने र आन्दोलनकारीसँग वार्ता भएर सहमति भए त्यसलाई कुनै पनि बेला रुपान्तरि संसद्बाट सम्बोधन गर्नसकिने सल्लाह शीर्ष नेतृत्वलाई दिएका छन् । प्रधानमन्त्री सुशील केही लचिलो देखिए पनि कांग्रेसका वरिष्ठ नेता शेरबहादु देउवालगायतका अधिकांश नेताहरु प्रक्रिया कुनै हालतमा रोक्न नहुने र प्रक्रिया रोकिँदा संविधान बन्न नदिने खेललाई बल पुग्नसक्ने बताउँदै आएका छन् ।


गत शुक्रबार नै मतदानको प्रक्रिया सुरु गर्ने कार्यसूची भए पनि वार्ताका लागि अन्तिम अवसर भन्दै चार दलले दुई दिन प्रक्रिया रोकेका थिए। तर प्रक्रिया रोकेर वार्ताका लागि अपिल गर्दा पनि आन्दोलनकारी दलहरुले कुनै सकारात्मक प्रतिक्रिया नजनाएपछि तीन दलले आन्दोलनकारी सम्वाद र शान्तिपूर्ण समाधानको पक्षमा नरहेको विश्लेषण गरेका छन् ।

स्रोतका अनुसार वार्ताका नाममा प्रक्रिया सार्दै जाँदा संविधानसभालाई असफल पार्ने र संविधानलाई अड्काउने खेल हावी हुँदै जाने विश्लेषण ओली र प्रचण्डको छ । तराई मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्नका लागि पटकपटक वार्ताका लागि अपिल गर्दा पनि आन्दोलनकारी वार्तामा आउनुको सट्टा आन्दोलनलाई झन् हिंसक र अराजक बनाउने दिशामा अग्रसर भएको निश्कर्ष नेताहरुको छ ।

एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई प्रक्रिया सार्ने पक्षमा लबिङ गरिरहेका छन्। उनको सक्रियता प्रचण्ड स्वयमलाई चित्त बुझेको छैन। बाबुरामको भूमिकाबाट प्रचण्ड पनि शसंकित देखिएका छन्।


विदामा बसेको सुरक्षाकर्मी तथा एम्बुलेन्समा घाइतेलाई समेत थुतेर हत्या गर्नेजस्ता अपराधिक गतिविधि हावी हुँदै गएकोले अब आन्दोलनले राजनीतिक चरित्र र लगाम गुमाउँदै गएको विश्लेषण गर्दै यस्तो अवस्थामा पनि आन्दोलनकारीसँग वार्ता गर्ने भन्दै ढिलाइ गर्दा अवस्था झन् भयावह हुने निश्कर्ष ओली र प्रचण्डले कोइरालासमक्ष राखेका छन् ।

संविधानसभाको कुल संख्या नब्बे प्रतिशत बहमत संविधान निर्माणको पक्षमा हुँदा पनि केही आन्दोलनकारीको धम्की र घुर्कीबाट डराएर प्रक्रियामा जान खुट्टा कमाउन नहुने भनाइ ओली र प्रचण्डले शीर्ष बैठकमा राख्दै आएका छन् । स‌ंविधानसभाका करिब नब्बे प्रतिशत सभासद् प्रकियाको पक्षमा छन्।संविधानसभाको हाल कायम सिट संख्या ५९८ मात्र हो। राप्रपा नेपाल पनि प्रक्रियामा सहभागी भएपछि संविधानसभामा ५४० सभासद् संविधान जारी गर्ने प्रकियाका पक्षमा छन्। प्रकियाको पक्षमा रहेका दलहरूको संख्या १९ पुगेको छ।

संविधान पारित गर्न चाहिने अन्तरिम संविधानको धारा ७० को प्रावधानअनुसार आवश्यक पर्ने दुईतिहाई बहुमत भनेको ३९८ सभासद् हुन्।संविधानसभामा सभासद्हरुले संविधान निर्माणको प्रक्रियालाई मतदानमा लैजान खुटा कमाउन नहुने भन्दै नेतृत्वको खबरदारी गरिहेका छन् ।

संविधानसभाको प्रक्रिया छोडेर सडकमा जान लागेको राप्रपा नेपाललाई पनि प्रक्रिया सहभागी बनाउन ओली केही दिनदेखि सक्रिय रहेका थिए। थापा र ओलीबीचको पटकपटकको सम्वादपछि राप्रपा नेपाल प्रक्रियामा सहभागी हुन राजी भएको हो ।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses