सहयोग गर्न आएकी अमेरिकी युवतीको हत्या
पोखरा: सामाजिक सञ्जालमार्फत चिनिएका साथीहरूलाई तपाईं कति विश्वास गर्नुहुन्छ ? उनीहरूका मीठा कुरामा मक्ख परेर विश्वास गर्दा ठूलो धोका हुनसक्छ। तपाईंको विश्वासको फाइदा उठाउँदै कतिपयले मन र धन मात्रै होइन, ज्यानै लिनसक्छन्।फेसबुक, ट्विटर, इमेल, इन्टरनेट र मोबाइलको दुरुपयोग गरेर धेरैको जिउ, धन लुटेका घटना सार्वजनिक भइरहेको बेला पर्यटकीय नगरी पोखरामा जघन्य अपराध भएको छ।नेपालमा भूकम्पले लाखौं नेपालीको बिचल्ली भएको सुनेर राहत दिन आएकी २५ वर्षीया अमेरिकी युवती डालिया याहियाले सामाजिक सञ्जालमा चिनिएको युवकलाई धेरै विश्वास गर्दा ज्यान गएको छ।
विश्वभरका मानिसबीच मित्रता फैलाउने उद्देश्यले बनाइएको 'काउच सर्फिङ' सामाजिक सञ्जालमा चिनिएको पुरुषको भर पर्दा डालियाले ज्यान गुमाएकी हुन्। गोरखाका भूकम्पपीडितलाई राहत दिएर काउच सर्फिङमा आबद्ध कास्कीको धिताल ३ का ३२ वर्षीय नारायणप्रसाद पौडेलले डालियालाई पोखरा १ सिम्पानीस्थित डेरामा लगेर गत साउन २२ गते राति हत्या गरेका हुन्।
सर्फिङमार्फत परिचित पौडेललाई भेट्न डालिया साउन १९ गते पोखरा आइपुगेकी थिइन्। पौडेलसँगै पोखराका विभिन्न स्थानमा घुमफिर गरी तीन रात एउटै कोठामा बसेकी उनलाई चौथो दिन साउन २२ गते मध्यराति पौडेलले घन र गजबारले टाउकोमा हानेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन्। 'धेरै नै पैसा होला भनेर हत्या गरेको बयान दिएको छ', कास्कीका प्रहरीउपरीक्षक हरिबहादुर पालले भने, ‘के कारणले हत्या गरेको हो, त्यसबारे अनुसन्धान भइरहेको छ।'
धितालस्थित कैलाख टेन्सु प्राविका शिक्षक पौडेल र डालिया साउन २२ गते शुक्रबार दिनभर लेकसाइडमा घुमफिर गरेर कोठामा फर्केका थिए। अभियुक्त पौडेलले पैसाका लागि हत्या गरेको बयान दिए पनि अनुसन्धान टोलीले राति सुत्ने क्रममा डालियासँग यौनसम्पर्क राख्न खोजेको र अस्वीकार गर्दा रिसको झोकमा हत्या गरेको हुनसक्ने अनुमान गरेको छ।
'पैसाका लागि हत्या गरेको भने पनि डालियासँग लाखौं रुपैयाँ थिएन। जम्मा पाँच हजार रुपयाँ मात्रै रहेछ', प्रहरीस्रोतले भन्यो, ‘राति डेरामा एउटै कोठामा सँगै सुत्दा पौडेल उत्तेजित भएर करणी गर्न खोज्दा नमानेपछि आक्रोशित भएर मारेको हुनसक्छ।'
हत्यापछि पौडेलले डालियको शव तन्नाले बेरेर बोराभित्र हाली मोटरसाइकलमा डेरादेखि करिब पाँच सय मिटर पर सेती नदीमा फालेको बयान दिएका छन्। घटनास्थल र शव फालिएको स्थानमा रगताम्मे कपडा, तन्ना, युवतीको कपडा प्रहरीले फेलापारे पनि शव भने एक महिना बित्दासमेत भेटिएको छैन।
'प्रहरीको टोलीले कुकुरको सहायतामा सेतीका खोचहरूमा खोजी जारी राखे पनि भेटेको छैन', प्रहरीउपरीक्षक पालले भने, ‘सामाजिक सञ्जालमा भेटिएको मान्छेलाई आँखा चिम्लेर विश्वास गर्दा विदेशी युवतीले ज्यान गुमाइन्। यो घटनालाई अन्तर्राष्ट्रिय निकाय र मिडियाले निकै चासो दिइरहेका छन्। एकजनाको कुकर्मले सिंगो देशकै बदनाम गराएको छ। अभियुक्तविरुद्ध कडा कारबाही गर्न प्रहरीले कुनै कसर बाँकी राख्नेछैन।'
अभियुक्तद्वारा आत्महत्याको प्रयास
हत्याको करिब चार सातापछि पक्राउ परेका पौडेलले भदौ १८ गते जिल्ला प्रहरी कार्यालय कास्कीको दोस्रो तलाबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन्। सोधपुछ कक्षबाट शौचालय जान्छु भन्दै हतकडी खोल्न लगाएर पौडेल एक्कासि छतबाट हामफालेको प्रहरीले जनाएको छ।
'सबैलाई झुक्याएर अप्रत्याशित ढंगले छतबाट हामफालेर आत्महत्या गर्न खोज्यो', प्रहरी नायबउपरीक्षक गोविन्द अधिकारीले भने, 'हामफाल्दा टाउकोमा गम्भीर चोट लागेको र दुवै खुट्टा भाँच्चिएको अभियुक्त अहिले खतरामुक्त छ।' पौडेलको मणिपाल शिक्षण अस्पतालमा टाउको र खुट्टाको शल्यक्रिया गरिएको थियो। अभियुक्त गम्भीर घाइते भएकाले अनुसन्धानमा बाधा पुगेको प्रहरीले जनाएको छ।
आईफोनले पत्ता लाग्यो अभियुक्त
आफूलाई विश्वास गरेर आएकी युवतीको हत्यापछि आईफोन र रकम लिएका पौडेलले सुरुमा प्रहरीलाई दुईचार दिन भेटेर छुटेपछि कहाँ गइन्, थाहा नभएको बयान दिएका थिए। तर प्रहरीले अनुसन्धानका क्रममा डालियाको आईफोनमा पौडेलले आफ्नो सिमकार्ड हालेर मोबाइल चलाएको पत्ता लगाएपछि शंकाको घेरामा राखेको थियो।
डालियाले पनि आफू नेपालमा पौडेलसँगै रहेको जानकारी साउन २२ गते अमेरिकामा रहेको केटा साथीलाई दिएलगत्तै बेपत्ता भएकाले प्रहरीको अनुसन्धान पौडेलमाथि केन्द्रित थियो। 'दुई दिन भेटेर कहाँ गई, थाहा छैन भनेर ढाँटेको थियो', पालले भने, ‘डालिया बेपत्ता भएपछि उनको आईफोनमा पौडेलको सिमकार्ड प्रयोग गरेको देखेपछि गहन ढंगले अनुसन्धान गर्दा उसले हत्या गरेको स्वीकार गर्यो।'
डालियाको केटा साथीले नेपालमा उनी बेपत्ता भएको खबर अमेरिकी राजदूतावासलाई दिएपछि खोजीकार्य सुरु भएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रतिनिधिसमेत पोखरा आएर खोजीमा जुटेका थिए।
'काउच सर्फिङ'का नेपालस्थित अर्का सदस्य डा. मुकेशकुमार मल्लिकले डालियाको हत्याले सबै नेपालीको शिर झुकाउने काम भएको बताए। 'नेपाल आएपछि डालियाले मेरो साथीलाई सम्पर्क गरेर बास बस्न आउने बताएकी रहिछन्', उनले भने, 'त्यो बेला उसको घरमा पाहुना भएकाले मलाई राखिदिन आग्रह गरेका थिए। तर मसँग सम्पर्क नहुँदै उनी पौडेलको घरमा पुगिछन्। त्यहाँ उनको हत्या भएको खबर सुन्दा हामी सबै मर्माहत भएका छौं।'
'काउच सर्फिङ' का सदस्यहरू साथीको घरमा जाने, बस्ने, खाने र त्यहाँको परिवेशको अध्ययन गर्ने चलन छ। त्यही क्रममा डालिया पनि पौडेलको घरमा पुगेकी थिइन्।
www.annapurnapost.com
0 comments
Write Down Your Responses