यु–१९ क्रिकेट टोली स्वदेश फर्कियो

साताैं पटक विश्वकप क्रिकेटमा भिड्दै
काठमाडौं : उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ ।


नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ ।

मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशवासी, खेल पदाधिकारी एवम् क्रिकेटका शुभेच्छुक र सञ्चारकर्मीमाझ भने, 'टीमको कडा मेहनत र एक अर्काको सहयोगले यो नतिजा प्राप्त भएको हो ।'

प्रतिस्पर्धा कडा भए पनि नेपाली टोलीको आपसी सहयोग र कडा मेहनतका साथ खेलेकाले अहिलेको सफलता आएको भन्दै उनले विश्वकपमा राम्रो नतिजा ल्याउन अझै कडा मेहनत चाहिने बताए

बाहिर गएर अभ्यास गर्न पाएको खण्डमा ब्याड्सम्यान र बलरलाई राम्रो गराउन सकिन्छ, कप्तान रिजालको भनाइ छ ।

नेपाली टोलीका प्रशिक्षक जगत टमटाले नेपाली टोलीका लागि अहिले राम्रो अवसर छ, अझै राम्रो अभ्यास गरेर गएको खण्डमा जित अवश्य नेपालको पक्षमा आउने बताए ।

'अहिलेको टीमका खेलाडीमा गुणस्तर छ, उनीहरुलाई नेपाली जनता, सरकार र राष्ट्रिय खेलकुद परिषद्ले अवसर दिन्छन् भने दुई वर्षमा राष्ट्रिय टोलीमा जान सक्छन् यिनका लागि ‘एक्सपोज’ चाहिन्छ', उनले भने ।

प्रशिक्षक टमाटाले छनौट चरणको पाँचवटा प्रतियोगितामा आयरल्याण्ड टप प्रतियोगी भएपनि नेपाली टीमले राम्रो खेलेको भन्दै बलिङ ६०, ब्याटिङ ४० प्रतिशत रहेको बताए ।

उनले ब्याटिङमा सुधार गर्न जरुरी रहेको उल्लेख गर्दै विश्वकप चुनौतीपूर्ण भएकाले बाँकी अवधिमा अन्तराष्ट्रियस्तरको अभ्यास गर्न जरुरी भएकाले यसलाई क्रिकेट सङ्घले ध्यान दिने विश्वास व्यक्त गरे।

छनोट चरणमा पाँच टीम नेपाल, आयरल्याण्ड, अमेरिका, युगाण्डा र पपुवा न्युगिनीले प्रतिस्पर्धा गरेका थिए । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा आयरल्याण्डलाई तीन विकेटले पराजित गर्दै नेपाल विजेता टोली बनेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न आइपुगेको टोलीलाई नेपाल क्रिकेट सङ्घका पदाधिकारी तथा कर्मचारीले स्वागत गरेका थिए ।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses