भतिजाको निवासबाट चीनमाथि सुशीलले लगाए यस्तो आरोप
काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाले भारतले नाकाबन्दी गरेका बेला आपूर्तिमा सहयोग गर्न आफुले गरेको आग्रह चीनले नमानेको दाबी गरेका छन् ।रिपोर्टर्स क्लबले मंगलबार महाराजगञ्जस्थित कोइराला निवासमा गरेको साक्षात्कारमा उनले चीनले सहयोग नगरेको आरोप लगाए । चीनले पटकपटक इन्धन दिन तयार रहेको र त्यसका लागि औपचारिक सम्झौता गर्न प्रधानमन्त्रीसहित नेपाली अधिकारीहरुलाई आग्रह गरेको समाचारहरु बाहिर आइरहेका बेला कोइरालाले त्यस्तो दाबी गरेका हुन् । ‘प्रधानमन्त्री रहेकै बेला मैले सहयोग गर्न आग्रह गरेको थिएँ’, कोइरालले भने, ‘चीनले सहयोगका लागि कुनै चासो देखाएन ।’
कोइरालाले आफूहरु सरकारमा बस्दा वा नबस्दा बोली फरक नहुने भन्दै कुटनीतिक तवरबाट समस्याको समाधान खोज्नु पर्नेमा जोड दिए ।
‘हामीहरु नाकाबन्दी भन्छौ, उहाँहरुले रोकेको छैन, तपाईहरुकै कारण भएको हो भन्नु हुन्छ’, कोइरालाले भने, ‘मैले भारतीय राजदुतलाई बोलाएर यो नराम्रो स्थिति भयो नाका खोल्नु पर्यो भनेको थिएँ उनले नाकाबन्दी नगरेको जवाफ दिए ।’
राष्ट्रपतिमा उम्मेदवारी दिन्छौं
कोइरालाले पार्टीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए । उनले भने ,‘तपाईहरु ढुक्क हुनुस, काँग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन्छ । लोकतन्त्रको सस्थागत विकास र संविधानको कार्यान्वयनको लागि पनि उम्मेदवारी दिनु अपरिहार्य छ । हामी अहिले छलफलमा छौ, पार्टीले निर्णय गरेर उपयुक्त पात्रलाई उम्मेदवार बनाउँछौ ।’
कोइरालाले प्रधानमन्त्री निर्वाचनमा पनि पार्टीले उम्मेदवार बनाएकाले आफूले उम्मेदवारी दिएको स्पष्ट पार्दै आफ्नो उम्मेदवारी लोकतन्त्र र मधेस आन्दोलनको पक्षमा भएको दावी गरे ।
काँग्रेसले उम्मेदवारी दिएकै कारण आन्दोलनमा रहेका मधेसवादी दल निर्वाचनमा सहभागी भएको जिकिर उनको थियो । मधेसवादी दल प्रधानमन्त्री निर्वाचनमा सहभागी भएसँगै समस्या समाधानको बाटो खुलेको दाबी उनको थियो ।
कोइरालाले फेरि मुलुक द्धन्द्धमा गयो भने नेपाल रहन्छ कि रहदैन भन्ने आशंका रहेको उल्लेख गर्दै तत्काल सरकारले मधेसको समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले ल्याएको संविधान संशाोधन विद्येयक अगाडि बढाउनु पर्ने धारणा राखे ।
सरकारी वार्ता टोलीमा बस्ना अस्वीकार
सरकारले गठन गरेको बार्ता समितिमा काग्रेस नबस्ने स्पष्ट पार्दै उनले भने,‘ प्रधानमन्त्रीजीले मलाई काँग्रेसको तर्फबाट बार्ता टोलीमा सहभागिता हुनु पर्यो भन्नु भएको थियो तर काँग्रेस त्यसमा सहभागि हुँदैन । मैले प्रधानमन्त्रीलाई काँग्रेस समितिमा सहभागी हुँदैन बाहिरबाट गर्ने सहयोग गर्छौ भनेर भनेको छु ।’
kathmandutoday.com
0 comments
Write Down Your Responses