एकैपटक धेरै मासु खानेको मुटु कमजोर
काठमाडौं: दसैंका बेला एकैपटक धेरै मासु खानाले मुटु कमजोर हुँदै जाने र अन्य दीर्घरोगले पनि च्याप्दै जाने भन्दै चिकित्सकले सकेसम्म कम र ताजा मासु खान सुझाव दिएका छन्।
एकैपटक पकाएको मासु बासी राखेर धेरै खाएमा ततकाल फुड प्वाइजन, झाडापखाला, हैजा हुन सक्ने र बिस्तारै मुटुजस्ता संवेदनशील अंगमा हानि गर्ने चिकित्सकको भनाइ छ।‘दसैं भन्नेबित्तिकै धेरै मासु र रक्सी खाएर रमाइलो गर्ने चलन छ, तर एकैछिनको रमाइलोले निरोगी जीवन रोगीमा परिणत हुन धेरै बेर लाग्दैन,' थापाथलीस्थित नर्भिक इन्टरनेसल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. भारत रावतले अन्नपूर्णसँग भने, 'दसैंका बेला अधिकांशको घरमा मासुका विभिन्न परिवार बनाई खाइरहने चलन छ।
फलफूल या तरकारी भए पनि घरमा आउने पाहुनालाई समेत मासुकै परिकार खान कर गरिन्छ। मासुले रोगमात्र निम्त्याउँछ।' उनले दसैंका बेला कम मासु खरिद गर्न र खान सुझाव दिए।
मधेस आन्दोलनका कारण उपत्यकामा आवश्यकताअनुसार खसीबोका ल्याउन नसकिएकाले दसैंमा बासी मासु बिक्री गर्ने सम्भावना धेरै रहेको भन्दै त्यसप्रति सचेत रहन पनि चिकित्सकले आग्रह गरेका छन्। झिँगा भन्किरहेको मासुपसलबाट मासु खरिद गरी खाँदा त्यसले पनि रोग निम्त्याउने उनीहरूको भनाइ छ।
‘यसपटक बासी मासु बिक्री हुने धेरै सम्भानवा छ। बासी मासुले स्वास्थ्यमा नराम्रो असर पर्छ,' वीर अस्पतालका पेट रोग विशेषज्ञ डा. भूपेन्द्र बस्नेतले भने, ‘त्यसैले ताजा र सफा मासु र स्वच्छ खानेकुरामै जोड दिनुपर्छ।' अत्यावश्यक पौष्टिक तत्वका रूपमा मासुलाई लिने गरे पनि पछिल्लो समय स्वस्थकर मासु बिक्री हुन छाडेकाले यसको प्रयोगमा पनि त्यत्तिकै ध्यान दिनुपर्ने चिकित्सक बताउँछन्।
दसैंका बेला हतारमा काँचो मासुसमेत खाने चलन छन। काँचो मासु खाँदा टेनियासिस, हाइडाटिडोसिस, सिस्टिसकौसिस, ट्राइचुनेलोसिस, इकानोकोकोसिस र नाम्ले जुकाले सताउन सक्छ। वीर अस्पतालका चिकित्सक डा. सुरेन्द्र श्रेष्ठका अनुसार मासु डिफ्रिजमा राखी प्रयोग गर्नुपर्ने हुन्छ।
ग्रान्डी इन्टरनेसल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले दसैंका बेला ज्यादा चिल्लो पिरो र मसलादार खाना खाँदा रोगको सिकार हुने सम्भाना धेरै रहेको बताए।
'मासु खानु हुँदैन भनेको होइन, धेरै र अस्वस्थकर मासु खाँदा जीवन जोखिममा पर्छ भनेको मात्र हो,' डा. मूर्तिले भने, 'ताजा मासुका पिससँग खानामा सागपात, सलादजस्ता वस्तु पनि समावेश गर्दा सबैभन्दा फाइदा हुन्छ।' उनका अनुसार डिफ्रिजमा राखिएको मात्र खरिद गर्नुपर्छ।
annapurnapost.com


0 comments
Write Down Your Responses