प्रधानमन्त्री ओली भन्छन्, ‘धैर्य गरेर बस्नुस् नाकाबन्दी खोल्दैछु’
काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री केपी ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै करिब सात दशकदेखिको जनताको राजनीतिक र सामाजिक अधिकार प्राप्तिको चाहना र आकांक्षालाई संस्थागत गरेको बताउनुभएको छ ।विजयादशमीको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो र अथक संघर्षको परिणामस्वरुप जननिर्वाचित संविधानसभाबाट गएको असोज ३ गते नेपालको संविधान जारी भएको उल्लेख गर्नुभएको छ ।
मुलुक विश्वमै प्राकृतिक र जैविक विविधता र अन्य सम्पदाको दृष्टिले अनुपम रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले यिनै प्राकृतिक सम्पदाहरुको भरपूर सदुपयोग गरेर अब मुलुकलाई आर्थिकरुपमा समृद्धिको दिशामा अघि बढाउनु आवश्यक रहेको बताउनुभएको छ ।
संविधान जारी हुनुअघिदेखि नै देशका केही भागमा असन्तुष्टिहरू देखिएको उल्लेख गर्दै उहाँले संविधान जारी भएसँगै ती असन्तुष्टिहरू सकिएको उल्लेख गर्नुभएको छ ।
मधेस केन्द्रित दलहरूका जायज मागलाई सम्बोधन गर्न सरकारका तर्फबाट आफूले पत्राचारसमेत गरिसकेको उल्लेख गर्दै उहाँले सरकारले वार्ताका लागि गठन गरेको समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको पनि जानकारी दिनुभएको छ ।
‘संविधान निरन्तर गतिशीलताको एउटा दस्तावेज भएकाले त्यसमा केही कमीकमजोरी छन् भने पनि सार्थक वार्ता र संवादका माध्यमबाट त्यसलाई सच्याउन सकिने भएकाले आन्दोलनरत मधेस केन्द्रित दलहरूलाई बडादसैँको यस अवसरमा फेरि एकपटक आन्दोलन रोकी वार्तामा आउन आह्वान गर्दछु’, ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ ।
केही समयदेखि सीमा क्षेत्रमा भएका अवरोधका कारण इन्धनलगायतका सामान आपूर्ति व्यवस्थामा असहजता उत्पन्न भएकाले चाँडपर्वको बेलामा समेत आम नेपालीले कष्ट र अप्ठ्याराहरू व्योहोर्नु परिरहेको बताउँदै ओलीले आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले तदारुकताका साथ पहल थालिसकेको उल्लेख गर्नुभएको छ ।
चाडपर्वका बेला नेपाली जनताले भोग्नुपरेको अनुचित पीडाप्रति आफू अत्यन्तै संवेदनशील र दुखित भएको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो जटिल र कठिन परिस्थितिमा आम देशवासीले देखाउनु भएको संयम, धैर्यता र राष्ट्रिय एकताको भावनाको सम्मान गर्ने उल्लेख गर्नुभयो ।
‘हाम्रो मुलुक बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । हाम्रा रीतिरिवाज, संस्कृति र सुन्दर परम्पराहरूले आम नेपालीलाई शदियौंदेखि एक आपसमा जोड्दै आएको छ । यो कुरा हाम्रा लागि गौरबको विषय पनि हो । गौरवपूर्ण यस्तो इतिहासलाई निरन्तरता दिँदै मुलुकलाई एकताबद्ध र अखण्ड राख्न हामी सबै लागिपरौँ भन्ने आह्वान पनि गर्न चाहन्छु’, सन्देशमा भनिएको छ ।
प्रधानमन्त्रीले सन्देशमा बडादसैँ २०७२ को उपलक्ष्यमा सरकार र आफ्नो व्यक्तिगत तर्फबाट स्वदेश र विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
dainiknepal.com


0 comments
Write Down Your Responses