अमरेश भन्छन्, ‘सिपाही प्रहरीको आईजिपी हुनु र केपी ओली प्रधानमन्त्री हुनु उस्तै’
नेपाली राजनीतिमा तपाईंको आकस्मिक उदय र गतिविधिले मानिसहरु सोच्न बाध्य छन् कि अमरेशकुमार सिंह को हो ? यसको कारण के होला ?
-म जनताले निर्वाचनमा सर्वाधिक मत दिएर जिताएको जनप्रतिनिधि हुँ । म विश्वविद्यालयबाट ‘सर्टिफिकेट’ किनेर नभई पढेर विद्यावारिधी गरेको व्यक्ति हुँ । मेरो राजनीतिक एजेण्डा ‘क्लियर’ छ । म राजनीतिमा आउने र टिक्ने परम्परागत संस्कार बदल्न लागिपरेको छु ।
कसरी ?
नेपालमा अहिले विकास राजनीतिको आवश्यकता छ । अहिलेसम्म राजनीतिलाई मागी खाने भाँडो बनाइयो । मुलुकको विकास र प्रगतिका लागि होइन, मन्त्री र प्रधानमन्त्री बन्ने खेलमा राजनीतिक केन्द्रित भएको छ । म योभन्दा मेरो फरक धारमा हिंडेको छु । मुलुकमा मधेसी, जनजाति, महिला, चेपाङ, राउटे, कर्णाली र युवा बेरोजगारीलगायत थुप्रै समस्या छन् । युवाहरुलाई त देशमा बस्नै नसक्ने अवस्था खडा गरिएको छ । मुलुकमा नेता क्रमशः धनी र जनता क्रमशः गरिब बन्दै गएको अवस्था छ । प्रतिव्यक्ति आयमा सबैभन्दा असमानता भएको मुलुक संसारमा नेपाल नै हो ।
1
नेपालमा एक दलले अर्को दललाई होच्याउने काम ह हुने गरेको छ । २००७ सालदेखि अहिलेसम्म नेपालको राजनीति किन स्थिर हुन सकेन ? यसको खोजी पत्रकारिता जगतले पनि गर्नुपर्छ र गर्नुपथ्र्यो । पत्रकारिता जगतले पनि दुई पैसा फाइदा लिने नाममा अगाडि बढ्यो । २००७ सालदेखि अहिलेसम्म नेपाल एउटै लडाइँमा छ । यो देशमा लोकतन्त्र नै स्थापित हुन सकेन । लोकतन्त्र भनेको जनताका लागि हो । यो देशमा लोडसेडिङ बढाउन लोकतन्त्र आएको हो ? ग्याँस पाएर जनता भोकभोकै मर्नुपर्ने अवस्था आउनु कुनै लोकतान्त्र हो ?
तपाईंको दाबी म अरुभन्दा फरक छु भन्ने हो ?
–हो, राजनीति भनेको परिवर्तनको लागि गरिन्छ । परिवर्तन देशको प्रगति र जनताको अनुहारमा देखिनुपर्छ ।
जब आर्थिक समृद्धि हुन्छ र ज्ञानमा विकास हुन्छ त्यसपछि आफैं चेहरामा परिवर्तन हुन्छ । अहिले पनि नेपालको प्रतिव्यक्ति कति छ ? नेपालसँगै विकास हुन सुरु गरेको मुलुक दक्षिण कोरिया (जहाँ १९५० देखि यता विकास सुरु भएको हो) त्यहाँ अहिले ३२ हजार प्रतिव्यक्ति आय छ । हाम्रो ५ सय पनि प्रतिव्यक्ति आय छैन । अहिले पनि हामी साक्षारताका नामा नाम लेख्न सक्ने भएकामा गर्व गर्दैछौं । अझै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको रमाउने स्थिति छ ।
हामी एक नेता अर्को नेतासँग लडाई गरिरहेका हुन्छौं । त्यो देश र जनताको विकासका लागि होइन ।
आफू कसरी प्रधानमन्त्री हुने भन्ने स्वार्थसँग जोडिएको हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री देशका लागि बन्ने भन्दा आफूले कमाएर सात पुस्तासम्मका लागि सम्पति जोड्नका लागि भन्ने स्थापित गरियो । यस्तो अवस्था लामो समयसम्म रहनुहुँदैन । नेपाल प्रगति र विकासको बाटोमा जानुपर्छ । विकासको न्यूनतम मापदण्ड शान्ति हो । जबसम्म शान्ति हुँदैन, तबसम्म विकास सम्भव छैन । नेपालमा ००७ सालदेखि अहिलेसम्म एउटा सरकार पनि पाँच वर्षसम्म चलेको छैन । यसको कारण के हो ? २०४८ सालदेखि २०५१ सालसम्म तीन वर्ष सरकार चलेको इतिहास मात्र छ ।
अन्तरिम संविधान जारी भएको दिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गिरिजाप्रसाद र प्रचण्डको पछाडि उभिएको व्यक्तिले यतिछिट्टै राजनीतिमा –आफ्नो हैसियत बनाउन कसरी सक्नुभयो ?
-म त्यतिबेला दिल्लीको जबाहरलाल नेहरु विश्वविद्यालयमा पिएचडी गर्दैै थिएँ । तर राजनीतिक रुवमा क्रियाशिल नभए पनि शान्ति प्रक्रियाका लागि भित्रभित्रै काम गरिरहेको थिएँ । अमेरिकामा बाराक ओबामा ४८ वर्षमा राष्ट्रपति भए । तर नेपालमा नेता बन्न ८० वर्ष पुग्नुपर्छ भन्ने गलत मान्यता छ । नेपालमा आर्यघाटमा पुग्ने बेलामा मात्र प्रधानमन्त्रीका लागि योग्य भएको ठानिन्छ । राजनीतिमा बढीमा ५० वर्षसम्मको उमेर योग्य उमेर हो । तर बिडम्बना यो उमेरका मानिसलाई नेपालमा केही गर्न नै दिइँदैन । सिडिओ हुन कम्तिमा ५० वर्ष कट्नुपर्ने प्रावधान छ । नेपालमा किन २५–३० वर्षको युवा सिडिओ हुन सक्दैन ? प्रहरीको एसपी बनाउन ५० वर्ष कट्नुपर्ने समस्या छ । यही तरिकाले नेपाल छपाडि परेको हो ।
जेएन यू पढ्ने तपाईंजस्ता नेपाली विद्यार्थी धेरै थिए, तर तपाईंकै दाबीअनुसार गिरिजाप्रसाले किन तपाईंलाई मात्रै पत्याउनुभएको ?
त्यसबेला मलाई गिरिजाबाबुले मलाई विश्वास गर्नुभएको थियो । गिरिजाबाबुले विश्वास गरेर शान्ति प्रक्रियाका केही जिम्मेवारी दिनुभएको हो । त्यसलाई मैले पूरा पनि गरें । । कुनै पनि कक्षामा थुप्रै विद्यार्थी हुन्छन्, तर एकजना मात्रै प्रथम हुन्छ । एकैपटक सबै विद्यार्थी प्रथम हुन त सक्दैनन् नि ?
आफ्नै पार्टीका केन्द्रीय सदस्यलाई समेत भेट्न समय नदिने शीर्ष नेताको घरमा तपाईंलाई जतिबेला पनि भेट्न सक्नुहुन्छ । एकैदिन चार पाँच जना शीर्ष नेता भेटें भन्दै आफैं हिड्ने गर्नुहुन्छ । यो कसरी सम्भव भएको हो ?
-यसको जवाफ नेताहरुसँगै सोध्नुस् । नेताहरुको विश्वास भएपछि त भेट्न पाइन्छ नि ?
अरु पैसा र सरुवा बढुवा बनाउने लगायतका काम लिएर नेताकहाँ जान्छन् । तर म कहिल्यै त्यस्ता कामका लागि नेता भेट्दिन । म नेताका अगाडि मगन्ते भएर गएको छैन र जान्न पनि ।
2
त्यसो भए अरु सबै लिने ठाउँमा तपाईं चाहिं दिने ठाउँमा हुनुहुन्छ ?
–दिने ठाउँमा होइन । मेरो माग्न नजाने बानी छ । म एक्लो मान्छे, मलाई केही चाहना पनि छैन । मेरो एउटै चाहना छ, देशमा शान्ति र विकास होस् । नेपालमा पछिल्लो पाँच–छ वर्षदेखि शान्ति त छ । तर हामीलाई स्थायित्व र विकाससहितको शान्ति चाहिएको छ । यो सात वर्षमा सातवटा सरकार परिवर्तन भए । २०६२–०६३ को आन्दोलनपछि अहिले कतिवटा सरकार परिवर्तन भए हामी सबैलाई थाहा नै छ नि ।
तपाईं कहिले काहीं केही राजनीतिक भविष्यबाणी गर्नुहुन्छ, ती मिलेका पनि हुन्छन् । अविष्यबाणीको आधार सूचना कि विश्लेषण ?
मैले नेताहरुलाई छुट्छुट्टै भेट्दा उनीहरुको चाहना नजिकबाट बुझ्ने काम गर्छु । कसको चाहना कहाँ गएर फिट हुन्छ, त्यसका आधारमा विश्लेषण गर्ने गरेको छु । कतिपयको बानी सबै थाहा पाएर पनि बाहिर नबोल्ने हुन्छ । अहिलेसम्मको नेपालको राजनीतिमा छलछाम चल्दै आएको छ । मैले त्यो राजनीतिक संस्कार चिर्ने कोसिस गरिरहेको छु । जनतामा साँचो कुरा बोलेर पनि राजनीति गर्न सकिन्छ भन्ने विश्वास मलाई छ । जनतामा वा सञ्चार माध्यममा म सीधासीधा र साँचो बोल्ने गर्छु । ढाँट्दै जाँदा एक दिन आफ्नै आत्मालाई ढाँट्न सकिन्छ, नेपाली जनतालाई ढाँट्न सकिन्छ र अन्तिममा संसारलाई ढाँट्न सकिन्छ । यो ढाँटबहादुर किन बन्ने ?
भविष्यबाणी गर्ने गरेकाले मानिसहरुले तपाईंको नाम ‘अक्टोपस राखिदिएका छन्, त्यसबारे के भन्नुहुन्छ ?
मैले चाहेका बेला नेपालका जो कोही नेता सजिलै भेट्न सक्छु । उनीहरुसँग नेपालको अवस्थाका बारेमा कुराकानी हुन्छ । सबै निर्णय ४ जनाले गर्ने हो । उनीहरु आफ्नै पार्टीभित्र पनि सबै कुरा गर्दैनन् । भेटेका बेला नेताहरुलाई मैले सबै विषयमा जानकारी लिने र प्रश्न गर्ने गरेको छु । नेपालका सबै राजनीतिक खेलाडीहरुको कुराकानीका आधारमा मैले विश्लेषण गर्ने गरेको छु । यस्तोमा कहिले काही्र नेताहरुको नीति मात्र बुझेर हुँदैन, नियत पनि बुझ्नुपर्छ । बाहिर एउटा भन्छन्, भित्र अर्कै गर्छन् । दलको चुनावी घोषणापत्रमा जे हुन्छ । के चुनावी घोषणपत्र सबैले कार्यान्वयण गरेको छ र ? त्यो त दुनियाँलाई ढाँट्ने र सञ्चारमाध्यामलाई दिने दस्तावेज मात्र हो । मैले कुनैपनि पार्टी र नेताहरुको नीति मात्र होइन, नियत पनि बुझ्ने गरेको छु ।
तपाईंले माओवादी शीर्ष नेतृत्वलाई चाहिं पहिलोपटक कहिले भेट्नुभयो ?
म अध्ययन गर्दै गर्दा माओवादी जनयुद्ध उत्कर्षमा थियो । तपाईहरुले त्यसबेला माओवादी नेताहरुलाई भेटेको भए भगवान ठान्नुहुन्थ्यो । पशुपतिनाथलाई भेट्न गएजस्तै हुन्थ्यो । मैले प्रचण्ड र बाबुरामजी अहिले संविधानसभा भएको भवनमा जुनबेला सार्वजानिक हुनुभयो, त्योबेला पत्रकारको क्यामेराबाट पत्रकारकै टाउको फुटेको देखेको हुँ । त्यतिबेला सञ्चारमाध्यामले उनीहरुलाई भगवान नै ठानिदिन्थे । तर ती भगवानहरुलाई मैले पहिलेदेखि नै भेटिरहेको थिएँ । उतिबेला भगवान ठान्ने कतिपयको अहिले चाहिं उनीहरुलाई नभेटौ भन्ने भावना छ । जनयुद्धताका भेट्ने र शान्तिप्रक्रियाका लागि काम गर्ने, अहिले चाहिं नभेट्ने भन्ने हुँदैन । पहिला गिरिजाबाबुको विश्वासमा भेटेको थिएँ । अहिले आफैं भेट्ने गरेको छु । तर नेपालको पत्रकारिता यस्तो छ कि जसले नयाँ काम गर्न खोजेको छ । त्यसका बारेमा अनावश्यक प्रचार गरिदिने । ग्यालिलियोले एउटा अनुसन्धान गरेपछि उनलाई धेरै दुःख दिइयो नि । ज्ञान, अनुभव, क्षमता र योगदानका आधारमा मान्छेको मूल्याङ्कन हुनुपर्छ । मेरो राजनीतिबाहेक केही स्वार्थ छैन । मैले बिहानदेखि बेलुकीसम्म राजनीतिकै चिन्तन गर्ने गरेको छु । अर्को कुरा म आफुप्रति स्वयम् र देश–जनताप्रति इमान्दार छु ।
नेताहरुले तपाईंलाई पत्याउनुको कारण चाहिं ‘दक्षिण’ को मान्छे भएर हो रे नि त ?
नेपालमा अहिले जुन मनोविज्ञान विद्यमान छ, विकासका लागि त्यो बाधक भएको छ । नेपालमा दिनभर भारको विरोध र राति भएपछि दलाली गर्नेहरु धेरै छन् । के भारतको विरोध गर्दैमा नेपालको प्रगति र विकास हुन्छ ? त्यसो हुँदो हो भने म पनि धुरीमा चढेर भारतको विरोध गर्ने थिएँ । भारतको विरोध गर्ने प्रवृत्ति नेपालको समृद्धिको बाधक भएको छ । दुई छिमेकी चीन र भारतसँग राम्रो सम्बन्ध स्थापित नभएसम्म नेपालको विकास हुँदैन भन्नेमा म प्रष्ट छु । जनता बलियो भएए मात्र राष्ट्रियता बलियो हुने हो । अरुलाई गाली गरेर आफू कहिल्यै बहियो हुन सकिँदैन । भारत र चीनजस्ता ठूला अर्थतन्त्र, ठूलो जनसंख्या र सबै क्षेत्रमा प्रगति गरेका ठूला देशहरुको बीचमा बसेर हामी उनीहरुलाई जिस्क्याइरहेका छौं । केही समयअघि नेपाल आएकी आङसाङ सुकीले एकै दिन नेपालका ७ जना पूर्वप्रधानमन्त्री भेट्न पाएको कुरा रोचक ढंगले भनेकी थिइन् । विश्वको राजनीतिक इतिहासमा कहीं पनि एकैपटक सात पूर्वप्रधानमन्त्रीलाई भेट्न पाउने देश अन्त कतै छैन । तर नेपालमा एउटै मञ्चमा एकै दिनमा सात जना पूर्वप्रधानमन्त्रीहरुलाई भेट्न पाउने स्थिति छ । अमेरिकामा ७ जना पूर्वप्रधानमन्त्रीलाई एकैचोटि भेट्न पाइन्छ ? यस्तै स्थिति रह्यो भने १५ जना पूर्वप्रधानमन्त्री पनि एकैचोटि भेट्न पाउनुहुन्छ । नेपालको राजनीतिक स्तर खस्काउनमा यहाँको राजनीतिक संस्कार त जिम्मेवार छँदैछ, त्यो सँगै यहाँका मिडिया पनि जिम्मेवार छन् । के भारतमा सम्भव छ ? मेरो विचारमा प्रधानमन्त्री भएका सात जना अझै जिवीत छन् कि छैनन् भन्न गाह्रो छ ।
तपाईंको कुरा सुन्दा त तपाईं जत्तिकै जान्ने सुन्ने र पढेलेखेको कोही रहेन छ होइन ?
नेपालमा औद्योगिक विकास सम्बन्धी दृष्टिकोणमा अझै निखारपन आएको छैन । यो दृष्टिकोणमा विकास नभएसम्म नेपालमा हाइड्रोपावर, पर्यटन व्यवसाय लगायतको क्षेत्रमा समेत विकास हुन सक्दैन । नेपालमा अहिले तीनवटा समुदाय वा राष्ट्र देखिएको छ । यहाँ दुई राष्ट्रको कुरा गरेर हुँदैन, तीनवटा राष्ट्र रहेको छ । एउटा जनजाति राष्ट्र, एउटा मधेशी राष्ट्र र अर्को बाहुन क्षेत्री राष्ट्र रहेको छ । यी तीनवटाको बीचमा सहकार्य हुँदैन भने यो राष्ट्रको विकास र समृद्धि हुनै सक्दैन । तपाइँहरुको बुझाईं चाहिं बाहुन क्षेत्रीको विकास भयो भने मात्र देशको विकास हुनसक्छ भन्ने रहेको छ । यो गलत हो । यो सोचअनुसार मधेशी र जनजातिमाथि शासन गर्नुपर्छ भन्ने रहेको छ ।
संविधान निर्माण प्रक्रिया संकटमा परेको छ । अब यो प्रक्रियाको टुंगो कसरी लाग्छ ?
२०६२–६३ सालको जनआन्दोलनको म्यान्डेटको मर्मअनुसार नै संविधान बन्नुपर्छ । संविधान बनेन भने मुलुक लामो द्वन्द्वमा फस्न सक्छ । यसमा मिडियाको पनि भूमिका हुन्छ । एकथरि तथाकथित बुद्धिजिवीहरुले दुईतिहाइबाट किन संविधान जारी गर्न नसकिने ? भन्ने प्रश्न गरिरहेका छन् । प्रजातान्त्रिक प्रक्रियाका बारेमा मेरो केही प्रश्न छैन । अहिलेको अवस्थामा बहुमतीय प्रक्रियाबाट समस्याको समाधान हुन्छ कि हुँदैन ? नेपालमा दुई तिहाइबाट शान्ति आउँछ कि आउँदैन ? मेरो बहस त्यहाँ हो । त्यसो हो भने त नेपालमा चेपाङको कुरा त कहिल्यै उठ्ने भएनन नि, किनभने चेपाङको त कहिल्यै दुई तिहाइ हुन सक्ने स्थिति छैन । सहमतिबाट मात्र मुलुकको समस्या समाधान गर्ने संविधान बन्न सक्छ ।
तपाई जुन पार्टीबाट राजनीति गरिरहनुभएको छ, त्यो पार्टीसँगत तपाई कुरा मेल खादैन नि ?
पार्टीमा पनि मैले प्रष्ट कुरा राखेको छु ।
तर पार्टीमा तपाईंको कुरा त लागू हुँदैन ?
लागू हुन्छ कि हुँदैन हेर्दै जानुस् । त्यसो भए सहमतिबिना चाहिं संविधान आउन सक्छ त ? मैले भनेजस्तो नहुने भए खेत दुई तिहाइबाट संविधान जारी गर्न सकेको ?
प्रक्रिया त अघि बढिरहेको छ नि ?
कहाँ बढेको छ प्रक्रिया ? म अहिले संविधानसभा सदस्य बोलिराखेको छु । संविधानसभा अनिश्चितकालका लाथि स्थगित भएको छ । प्रक्रिया बढेको भए मलाई थाहा हुनुपर्ने हो ।
प्रश्नावली समितिको प्रतिवेदन संविधानसभाले पारित गरेको चाहिं प्रक्रिया होइन ?
त्यो भएर केही हुनेवाला छैन । त्यसको परिणाम त केही छैन नि ? तपाइले जति दिनभरि कराउनुभयो र उसलाई घचेट्नुभयो तर ऊ एक इन्च पनि सरेन भने फिजिक्सको भाषामा त्यसलाई काम भनिँदैन । त्यो प्रश्नावलीले जनताका हातमा संविधान दिइसक्यो त ?
सभाध्यक्षले सहमतिका लागि दलहरुलाई १० दिनको समय दिनुभएको छ । त्यसपछि पनि सहमति नभए प्रक्रियालाई कसैले रोक्न नसक्ने भन्नुभएको छ।
सत्तापक्षीय नेताहरुको भनाइ पनि त्यही छ नि त ?
सभाध्यक्षको आफ्नै खाले बाध्यता होलान् । मेरो बाध्यता भनेका जनता हुन् । मेरो बाध्यता शान्तिप्रक्रिया हो । म शान्तिप्रक्रियासँगै जोडिएर राजनीतिमा आएको हुँ र शान्तिप्रक्रिया टुट्नुहुँदैन भन्ने मान्यता राख्छु । शान्तिप्रक्रिया टुट्यो भने नेपाल अर्को द्वन्द्वमा फस्छ । यहाँ एक नेपालीले अर्को नेपालीलाई किन होच्याउने ? विदेशीका अगाडि लम्पसार पर्ने, आफू दाजुभाई चाहिं काटमार गर्ने ? गोरो छाला देखिनेबित्तिक्कै सरका सर लगाउने अनि नेपाली दाजुभाईबीचमा तथानाम भन्ने ? यो प्रवृत्तिको अन्त हुुनुपर्छ ।
काँग्रेस–एमालेको नेतृत्व शान्तिप्रक्रिया विरोधीको हातमा गएकाले अहिलेको अवस्था आयो भन्ने विपक्षीको आरोप सत्य हो ?
केहीहदसम्म त्यो समस्या पनि हो । शान्तिप्रक्रियामा जसले नेतृत्व गरेको थियो, ऊ भएको भए सबै कुरा बुझेको हुन्थ्यो र त्यसको पीडा पनि थाहा हुन्थ्यो । म शान्ति प्रक्रियामा लागेको कारणले तत्कालीन सरकार मेरो विरुद्धमा थियो । ०६२–६३ सालको आन्दोलन हुनुभन्दा पहिलेको त्यो कथाको छुट्टै पाटो छ । जसले जुन कुरामा लागिरहेका हुन्छ, त्यसलाई मात्र त्यसको मर्मवोध हुन्छ । संलग्न नहुनेलाई त्यसको मर्मबोध कम हुन्छ ।
तपाईले आफ्नै पार्टीको सभापतिलाई यो कुरा किन बुझाउन सक्नुभएन त ?
मलाई लाग्छ उहाँले ढिलोचाँडो कुरा बुझ्नुहुन्छ । त्यसका लागि मेरो प्रयास जारी छ ।
केपी ओलीबारे किन आक्रमक रुपमा पेस हुने गर्नुभएको ?
मैले त्यस्तो कहिल्यै भनेको छैन । यो त तपाईहरु पत्रकारहरुको कमाल हो । अहिलेको परिस्थिति हेर्दा केपी ओली प्रधानमन्त्री हुन सक्नुहुन्न भनेको मात्र हो।
3
२०२८ सालदेखि लगातार राजनीतिको केन्द्र र चर्चामा रहँदै आएको व्यक्ति, संविधानसभाको दोश्रो ठूलो दलको अध्यक्ष केपी ओली प्रधानमन्त्रीका लागि कसरी अयोग्य ?
सबैभन्दा पूरानो मान्छे भएर हुन्छ ? कसैले देशभरिको बूढो मान्छे को भनेर सर्भे गरेको होला । उसैलाई खोजेर प्रधानमन्त्री बनाऔं न त । यो त सिपाहीलाई आइजिपी बनाउने भन्ने जस्तै हो । सिपाही पनि प्रहरीमा भर्ना हुन्छ । उनीहरुलाई आईजी बनाइदिए भइगोनि त । आईजीभन्दा धेरै वर्ष काम गरेका प्रहरी सिपाही हवल्दारमै किन घर जान्छन् । प्रधानमन्त्री हुन कम्तिमा ७० वर्ष उमेर पुगेको, दुई चार महिना अस्पताल बसेको, राष्ट्रको ढुकुटीबाट दुई चार करोड खाएको हुनुपर्ने भन्ने मानसिकता हाबी छ । यस्तो बनाउने काम मिडियाले गरेको हो ।
सरकारी कार्यालयमा दर्ता चलानी गर्ने कार्यालय सहायक कति उमेरमा जागिरबाट रिटायर्ड हुन्छ ? एउटा सिपाहीले अब लठ्ठी उचाल्न सक्दैन भन्ने मान्यताका आधारिक किन रिटायर्ड गरिन्छ ? तर राजनीतिमा चाहिं कुन व्यक्ति ७० नाघेको छ, कतिपटक अस्पताल बसेको छ, भनेर खोज्ने काम हुन्छ । जबसम्म यहाँ युवा नेतृत्व आउँदैन, जबसम्म मिडियाले सही कुरा जनतामा पस्किँदै, तबसम्म नेपालीले केही पाउनेवाला छैनन् ।
केपी ओली एमालेको अध्यक्ष, एमाले संसदीय दलको नेता प्रचलित अभ्यासका आधार हेर्ने हो भने प्रधानमन्त्रीको उम्मेदवार त हो नि ?
पार्टीको अध्यक्ष प्रधानमन्त्री हुने भन्ने कहीं लेखेको छ ? अहिले भारतमा नरेन्द्र मोदी कसरी प्रधानमन्त्री भए ? भाजपा पहिलो पार्टी हुँदा राजनाथसिंह अध्यक्ष थिए । राजनाथ प्रधामन्त्री हुनुपर्ने होइन ? एमालेमै झलनाथ खनाल अध्यक्ष हुँदा हुँदै माधव नेपाल किन प्रधानमन्त्री भए त त्यसो भए ? परम्परा र प्रयोगकै कुरा गर्ने हो भने त पहिला नेपालमा छाउपडी प्रथा थियो । यो पुरानो चलन हो भनेर त्यसलाई राख्ने कि गलत भएकाले हटाउने त ? त्यो गलत परम्परा थियो । त्यसैले हटाइयो ।
त्यसो भए तपाई चाहिं आफूलाई प्रधानमन्त्रीका लागि योग्य ठान्नु हुन्छ ?
–हरेक नेपाली प्रधानमन्त्रीका लागि योग्य छन् । मेरो बुझाई त्यो हो ।
तापईंले वैशाखमा सरकार परिवर्तन हुन्छ भन्नु भएको छ, कसरी ?
मैले भनेको आधा कुरा समाजमा सम्प्रेषण नगरिदिनुहोला । मैले भनेको के हो भने यदि सहमति भएन भने वैशाखसम्मको आन्दोलनपछि म सरकार परिवर्तन हुनसक्छ । ३० दलीय गठबन्धनको आयोजनमा फागुण १६ काठमाण्डुमा जुन आमसभा हुँदैछ, त्यसले धेरै कुरा निर्धारण गर्न सक्छ । सहमति भएन र चैत्रदेखि आन्दोलन भयो र त्यो आन्दोलन वैशाख अन्तिसम्म गयो भने त्यो आन्दोलनलाई सरकारले थेग्न गाह«ो हुन्छ । त्यसकारण मैले चैत्र र वैशाखभित्रको समयसीमा राखेको हुँ । वैशाख १ गते मलाई कुरा नगर्नुस्, वैशाख ३० गते सम्पर्क राख्नुहोला, यो हुनेवाला छ ।
आन्दोलनको पक्षमा तपाईं किन यति धेरै लागिरहनुभएको छ ?
आन्दोलनको पक्षमा म छैन । आन्दोलनरत समूहहरु जुन छन्, तिनीहरु त नेपाली नै हुन् । त्यसको विश्लेषण गरिरहेको छु ।
आन्दोलनमा जनताको समर्थन देखिएको छैन । जनसमर्थनबिनाको आन्दोलन कसरी सफल होला र ?
मान्छे आइसकेका छन् । को आयो त नेपालमा बन्द गराउन ? के अमेरिकन, भारतीय वा चिनियाँ थिए तिनीहरु ?
उल्लेख्य जनसहभागिता देखिएन भनेको नि ?
-तपाइँको नजरमा ०६२–०६३ को आन्दोलनभन्दा पहिला २०५८ सालमा पनि आन्दोलन त चलिरहेको थियो नि । यो पूरै सय प्रतिशत नेपालीको मुद्धा त होइन, तर ६० प्रतिशत नेपालीको मुद्धा त हो नि । यो मुद्धा त मधेशी र जनजातिको मुद्धा हो, त्यसकारण पनि घट्ने त देखिहालिन्छ नि ।
जातीय मुद्धालाई स्वीकार गर्ने पक्षमा नेपाली देखिएनन् ।
विद्यावारिधि गरेको मान्छे भएर पनि त्यति कुरा बुझ्न किन गाह्रो भएको ?
म समावेशी सिद्धान्तमा विश्वास गर्छु । यो सरकार आएको एक वर्ष भयो । दुई सयभन्दा बढीको सरकारी नियुक्ति भयो होला । त्यसमा दशजना पनि जनजाति र मधेसी परेका छैनन् किन ? यस्तो खालको शासन व्यवस्थालाई के भन्ने ?
पहिला भएन भनेर त आन्दोलनहरु भए, संविधानसभा आयो, तपाई संविधानसभामा हुनुहुन्छ, अब बनाउनुस् न त समावेशी संविधान ?
अन्तरिम संविधानमा लेखिएको छ कि राज्यको सम्पूर्ण क्षेत्रको समावेशी र समानूपातिक प्रतिनिधित्व हुनेछ । त्योअनुसार त हुनुप¥यो नि ।
२०६३ सालमा शाखा अधिकृत भएको व्यक्ति अहिले सचिव हुनुपर्छ भन्ने तपाइँको भनाई त ठीक भएन नि ?
–सचिवको सवालभन्दा पनि नयाँ नियुक्तिमा त्यो देखिएन । योजना आयोगमा अनुभवका आधारमा नियुक्ति भएको छ ? यस्ता थुप्रै समस्या छन् ।
तपाईकै पार्टीको सरकार हो क्यारे, फटाफट आफूले भनेजसरी काम गर्न लगाउनुस् न ?
पार्टीभित्र पनि हामीले समावेशी भएन भनेर त उठाइरहेकै छौं । बाटोबाट टिपेर मन्त्री बनाइयो । बाटोबाट टिपेकाहरुले त अलिअलि भए पनि खल्तीमा हालिदिने भए । चुनाव जितेर हामी आएका छौ, तर बाटोबाट आएका मान्छेहरुलाई हामीले मन्त्रीज्यू भनिदिनुपर्ने ? सरकारमा रहनेहरुले अहिले भनिरहेका छन कि ३० दलीय मोर्चा जनमतबाट आएको होइन, तर मन्त्रिपरिषदमा भएकाहरु चाहि सबै जनमतबाटै आएका हुन् त ?
मैले नसकेको भए, सक्ने एकजनाको मात्रै नाम बताइदिनुस् न त ।
सफल त हुनुभएन नि ?
सफलता केमा भन्ने ? मुलुकमा विद्यमान काटमार, हत्या हिंसा त बन्द भयो नि ।
सबै मिलेर यो अवस्था ल्याएको हो । यो तपाईंको कारणले मात्र भएको हो र ?
मैले मात्र जस लिन खोजेको होइन । मैले जे बुझेको हो, त्यो त नेपाली जनतालाई भन्नुपर्छ । मेरो बुझाइअघि नै भनिसकें नेपालमा समृद्धि र विकास हुन आवश्यक छ । त्यसका लागि शान्ति आवश्यक छ । जबसम्म एक नेपाली अर्को नेपालीसँग लडिरहन्छ, तबसम्म केही हुनेवाला छैन ।
तपाइँकै पार्टीमा त्यो कुरा लागू हुँदैन, जनतामा कहिले हुने ?
एउटै कुरा स्थापित हुन ३० औं वर्ष लाग्न सक्छ । मैले के मात्र भन्न खोजेको भने नेपालको राजनीति युवाहरुको हातमा आउनुपर्छ । सबै कुरा मिल्छ ।
प्रचण्डले अब काँग्रेसजस्तो पार्टीमा नबस्नुस्, हाम्रैमा आउनुस् भनेको सुनिएको थियो, खास के हो ? ?
प्रचण्डले मलाई कहिल्यै त्यसो भनेका छैनन् र म जानेवाला पनि छैन ।
प्रचण्डको सल्लाहकारमध्ये तपाई पनि एउटा हो भन्ने सुनिन्छ नि ?
म कहिल्यै पनि कम्युनिष्ट भएको छैन र हुनेवाला पनि छैन । एक्काइसौं शताब्दीमा त्यसको कुनै औचित्य पनि छैन । कार्लमाक्र्सले उहिल्यै लेखेको दास क्यापिटललाई माध्याम बनाएर अहिले राजनीति गर्न सकिँदैन । कार्लमाक्र्सपछि कसले नयाँ सिद्धान्त प्रतिपादन गरेको छ, मलाई देखाइदिनुस् न ।
तपाई अहिले प्रचण्डकै पार्टी र मोर्चाको एजेण्डामा त हुनुहुन्छ नि त ?
म समानताको एजेण्डमा मात्र सहमत भएको हो । के अरुले भात खायो भने मैले भात नै खान नमिल्ने ? यहाँ समस्या के हो भने यहाँ कसैले भात खाँदा मैले पनि भात खाए भने उजस्तै हुन्छु कि भन्ने समस्या छ । जसले उठाएको भए पनि देशको समस्यालाई समस्या भन्ने किन डराउने ? यहाँ पहिचान र समानताको समस्या छ । जनताजनताबीचको पहिचानको समस्या छ । मधेसीले अधिकार माग्यो भने देश टुक्र्याउन खोज्यो भन्ने ?
सीके राउतले खुलेआम तराई काठमाण्डुको अवैध सन्तान हो, यसलाई नेपालबाट अलग गर्नुपर्छ भन्दै हिंडेका छन् । तपाईंको भनाइअनुसार उनले जे भनेको र गरेको भए पनि अरुले उल्टो बुझिदिनुप¥यो होइन ?
खुलेआम केपी ओलीले भनिरहेका छन् कि मधेसीहरु सक्छौ भने बिहारमा गएर मिल ।
लैजाऔ । त्यो अर्को पक्षको प्रतिनिधि पात्र हो । केपी ओलीको बोलीचाहि राष्ट्रियताको बोली तर अरुले बोलेको चाहि गैरराजनीतिक हुने ? देश टुक्राउने खोजेको हुने ?
मैले सिके राउतलाई सपोर्ट गर्नै खोजेको होइन । म त्यसमा सहमत हुन सक्दिन । तर मुलुकमा समस्या त छ नि ।
अन्तिममा कहिलेसम्ममा मुलुकले संविधान पाउला ?
अहिले कुनै न कुनै रुपको आन्दोलन नभई सहमतिको नजिक पुगिन्छ जस्तो लाग्दैन ।
kathmandutoday.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses