जनयुद्ध हुँदै मन्त्रीसम्म सिंचाइमन्त्री उमेश यादवको कथा
कार्तिक ६, २०७२- ‘जनयुद्धको क्रममा ०५९ साल मंसिरमा सप्तरीको कदमाहामा मलाई तत्कालिन शाही सेनाले पक्राउ गरेको थियो, मलाई मार्ने तयारी गरियो, तर उनीहरु मलार्इ राम्ररी नचिन्दा अल्मलिए, तर मैले म सँगै रहेका स्थानीय ब्यापारी सागिर मियाँको पसलको कामदार हुँ भन्दै जोगिए, त्यो दिन नजोगिएको भए आज कहाँ सासँद र मन्त्री हुनसक्थे र’ गत आइतवार सिंचाइमन्त्रीको रुपमा सपथ लिएका उमेश यादबले यसो भनिरहँदा उनी फोनमै भावुक भए । जनयुद्धका लागेर पटक पटक सुरक्षाकर्मीको निशाना छलेका उनले आफू जनयुद्धमा लाग्दा घर परिवारमा सुरक्षाकर्मीको अत्यधिक आउजाउ र सोधपुछ तथा आफनो चिन्ताका कारण पिता किसुनदेव यादबलाई ह्दयघात भएको र पछि सोही कारणले मृत्यु भएको वास्तविकता स्मरण भएपछि उनी भावुक बनेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको मन्त्री परिषदमा आइतवार सिंचाइमन्त्रीको रुपमा सपथ लिएका यादब गाउँले परिवेस हुदै मन्त्री सम्म पुग्न भ्याएकोमा सन्तोष ब्यक्त गरे । ‘मैले आज सम्म गरेको त्याग र दुखको परिणाम हो यो’–मन्त्री यादबले कान्तिपुरसित भने–‘सबै वर्ग र क्षेत्रको सहयोगले मन्त्रालयलाई नमुना वनाउने प्रयत्न गर्नेछु ।’ सप्तरीको लालापटी गाविस वडा नम्वर– १ निवासी यादव २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा एकिकृत नेकपा माओवादीवादीबाट उम्मेदवार भई सप्तरी क्षेत्र नम्वर– ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । पिता स्व. किसुनदेव यादव र माता लक्ष्मी देवी यादवको कोखबाट जेठो सन्तानको रुपमा धर्तीमा पाईला टेकेका थिए । आफूसहित चार दाजुभाइ र एक बहिनीको अभिभावकत्वको जिम्मेवारी सम्भाल्दै आएका उनले गाउँकै राष्ट्रिय प्राथमिक विद्यालयमा प्राथमिक तह पुरा गरी वि.स. २०४४ सालमा राजविराज स्थित राजदेवी माध्यमिक विद्यालयबाट एसएलसी पास गरे । राजनीतिसँगै भारतको मधेपुराबाट प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेका छन् । वि.सं. २०३९ सालताका काठमाण्डौको ललितपुरमा शिक्षण पेशामा कार्यरत काका रामदेव यादवसँग उनी पढ्नका लागि काठमाण्डौ पुगे । त्यहाँका बासिन्दाहरुले देउसी भैलो खेलेर सङ्कलन भएको रकमबाट कक्षा ३ बाट सञ्चालन भएको विद्यालय १० सम्म सञ्चालन गरेको कुराले उनी प्रभावित भए । आफ्नो गाउँ ठाउँको विकास आफैले गर्नुपर्छ भन्ने सङ्कल्पका साथ गाउँ फर्के प्रा. चन्द्रकिशोर यादव, ईन्जिनियर प्रयाग यादव, कामेश्वर यादव, हरिनारायण यादव, विष्णुदेव यादव लगायतका कर्मचारीहरु समेतको अगुवाइमा क्लव सञ्चालन गरे । गाउँका सरकारी कर्मचारीहरुले कमाइको केही अंश क्लवमा जम्मा गरेर गाउँमा विकासीय अभियान चलाए । विद्यार्थीकालदेखी नै खरो स्वभावका उनी राजनिती भने राष्ट्रिय प्रजातन्त्र पार्टीवाट सुरु गरेका थिए । राप्रपाको युवक सङ्गठनको जिल्ला अध्यक्ष, सगरमाथा अञ्चल ईञ्चार्ज हुदै केन्द्रीय सदस्य समेत भए । पार्टीका नेता राजेश्वर देवकोटा समेत उमेशको शैलीबाट प्रभावित हुदै गएका थिए । देवकोटाले उमेशलाई युवा कार्यकर्ताको रुपमा नभई छोरा भनेर बोलाउथे भने उमेशले समेत बुवा भनेर आदर गर्दथे । माओवादी जनयुद्धले गति लिईरहेकै क्रममा माओवादी नेता मातृका यादव सप्तरी आएका थिए । राजविराज स्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयमा गोप्य बैठक आयोजना भएको थियो । सोही क्रममा उमेशको पनि माओवादी जनयुद्धका गतिविधिहरुमा सामिप्यता बढ्दै गयो । उमेशका अनुसार उनले त्यस अघि काठमाण्डौमा छदा जनादेश साप्तातिकको बेलाबखत स्तम्भमा छापिने गरिएको वावुराम भटराइको लेखवाट समेत माओवादी प्रति प्रभावित हुदै आएका थिए । राप्रपाबाट विस्तारै टाढिदै उनी माओवादीको पर्चा, पम्पलेट छर्ने, भित्ते लेखन गराउने जस्ता कार्यमा सक्रिय भए । पार्टीको गतिविधीहरुमा सक्रिय भई ईमान्दारीपूर्वक काम गर्नथालेपछि उमेशलाई माओवादीको भातृ संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चाको गाउँ कमिटी अध्यक्षको जिम्मेवारी दिईयो । तत्पश्चात पार्टीको सेल कमिटि सेक्रेटरी, एसिएम, डिसिएमको जिम्मेवारी पाए । शम्सेरपुर धातीमा वि.सं. २०५८ सालमा सम्पन्न मधेशी राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सम्मेलनबाट सूर्यनाथ यादव अध्यक्ष भए भने उमेशले उपाध्यक्षको जिम्मेवारी पाए । ०५८ मंसीर ११ गते तत्कालिन राजा ज्ञानेन्द्रले संकटकाल घोषणा गरे पछि निक्कै जोखिमपूर्ण कामहरु समेत उनले पार्टीको निर्देशन अनुसार गरे । उनी एरिया हुदै जनसरकार प्रमुख, जनमिलिसिया कमिसार, जिल्ला जनमुक्ति सेना कम्पनी हुदै बटालियन कमिसार, वाईसिएल केन्द्रीय सदस्य एवम् धनुषा अध्यक्ष, धनुषा महोतरी, सर्लाही ईञ्चार्ज, वाइसिएल मिथिलाराज्य संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । उनी पार्टीभित्र छोटो समयमै प्रभावशाली नेताको रुपमा परिचित भए । पार्टीको जिल्ला संयोजक हुदै वि.सं. २०६९ सालमा पार्टीको केन्द्रीय सदस्य समेत भए । सप्तरी क्षेत्र नम्वर ३ बाट २०६४ सालमा संविधानसभा सदस्यमा चुनाव लडे पनि पराजित भए तर दोश्रो संबिधान सभामा उनी सप्तरी ३ नम्बरवाटै विजयी भए । संबिधान निर्माणको प्रक्रियामा सक्रियतापुर्वक सहभागी भएका यादब संबिधान सभामा २०७१ माघ ५ को मध्यरात आफ्नो दलले गरेको बिरोधमा कुर्सी तोडफोडका घटनामा पनि अगाडि देखिएका थिए । उक्त घटना निक्कै चर्चामा रह्यो ।
kantipur.ekantipur.com


0 comments
Write Down Your Responses