बोक्सी आरोपमा अमेरिकी सेनाबाट हिन्दु महिला बर्खास्त
हिन्दु धर्म अँगालेको, योगाभ्यास गरेको आरोप
 वासिङटन : संयुक्त राज्य अमेरिकाको वायु सेनाले हिन्दु धर्म अँगालेको आरोपमा डेबोरा स्कन्फेल्डलाई सेवाबाट बर्खास्त गरेको छ ।

उनी अमेरिकी सेनामा दन्त चिकित्सकको रूपमा कार्यरत थिइन् । उनलाई बोक्सी विद्या सिकेको र कार्यालयमा भूत बोलाएको आरोप लगाइएको छ । उनले हिन्दु धर्म अँगाली, योगाभ्यास गरेको र भजन सुन्दै अदृश्य आत्मा बोलाएको भन्दै उनलाई सेवाबाट हटाइएको छ ।

डेबोरा स्कन्फेल्डका अनुसार उनी मेरिल्यान्डको एपेस मिडेमा दन्त प्राविधिक अन्तर्गत सैनिक सेवामा कार्यरत थिइन् । उनलाई सेप्टेम्बर २ तारिखमा निष्काशित गरिएको थियो । आफूमाथि धर्मकै कारण निष्काशन गरिएको भन्दै उजुरी गरेकी छिन् । उनले आफूलाई आस्थाकै कारण विभेद गरिएको बताएकी छन् ।

अमेरिकी सेनाको धार्मिक स्वतन्त्रता हेर्ने निकाय द मिलिट्री रिलिजियस फ्रिडम फाउन्डेसन (एमआरएफएफ) ले स्कन्फेल्डमाथि भूत बोलाउने गरेको र बोक्सीको आरोप लगाउँदै धार्मिक यातना दिइएको बताएको छ । उनले योगाभ्यास गर्ने गरेको र त्यो सैतानको काम भएको आरोप लगाइएको पनि एमआरएफएफले बताएको छ ।

यसैगरी हिन्दु अमेरिकी संस्थाले पनि अमेरिकी सेनामा पनि स्कन्फेल्डमाथि हिन्दु धर्म अँगालेकै कारण विभिन्न आरोप लगाइएको भन्दै विरोध गरेको छ । ‘डेबोराले भोगेजस्तो धार्मिक विभेद कुनै पनि कर्मचारीले भोग्नु लज्जास्पद हो । अरूको भावनामाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन ', उनले भने, 'उनलाई सेनाको जागिरबाट बर्खास्त गरिनुको अनुसन्धान गरिनुपर्ने माग गर्दछौं । सेनामा धार्मिक स्वतन्त्रता हुनुपर्ने हाम्रो माग छ ।’

स्कन्फेल्डका दुईजना सहकर्मी महिलाले क्रिस्चियन धर्म छोडेर हिन्दु बोक्सी बनेको भन्दै उजुरी गरेका थिए ।

एमआरएफएफका अध्यक्ष मिखाइल विन्स्टनले भने, ‘स्कन्फेल्डकी एक साथीले सैतानबाट मुक्ति पाएको जानकारी दिएकी थिइन् ।’


उनको ठाउँमा क्याथोलिक धर्मावलम्बी दन्त चिकित्सक नियुक्त गरिएपछि उनकी साथीले यस्तो धारणा राखेको जनाइएको छ । वायुसेनाका प्रवक्ता मेजर जोएल हार्परले ‘वायुसेनाले सावधानपूर्वक गरेको र उनका सहकर्मीले भनेको कुरालाई आधार बनाएर सैनिक अधिकारीले कारबाही गरेको’ बताए ।

विन्स्टनले कडा शब्दमा भने, ‘स्कन्फेल्ड क्रिस्चियन होइनन्, उनी हिन्दु हुन् । उनले ड्युटीमा आफ्नो कर्तव्य पूरा गर्नुपथ्र्यो । यसका बारेमा मिलिट्री रिलिजियस फ्रिडम फाउन्डेसनलाई नै सोध्नुस् ।’ यद्यपि यस्तो कार्य निकै गलत भएको पनि उनले स्वीकार गरे ।

स्कन्फेल्डलाई उनकी एक सहकर्मीले योग र ध्यान गरेर जीवन अन्धकारमा फालेको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । उनले येशु क्राइस्टको प्रार्थना गर्न भनेकी थिइन् । उनले भनिन्, ‘उनले गरेको ध्यान र योगबाट अरू सैनिकहरूमा पनि दोष देखिएको भन्दै ममाथि आरोप लगाएका थिए ।’

स्कन्फेल्डका सहकर्मीले टाइम्ससँगको कुराकानीमा उनीहरूको भनाइ सत्य भएको खुलासा गरे । आफ्नी एक साथीको व्यवहार दिक्कलाग्दो भएपछि स्कन्फेल्डले हिन्दु धर्म मान्ने र योगाभ्यास गर्ने भएकाले उनलाई ‘हिन्दु बोक्सी’ भन्न थालेको उनीहरूले स्वीकार गरेका छन् ।

एमआरएफएफले अनुसन्धान गर्दा अधिकांश सैनिकले स्कन्फेल्डले हिन्दु धर्मको अभ्यास गर्दा सैतानको विशेष शक्तिलाई कार्यालयमा बोलाउने गरेको जवाफ दिएका थिए । उनले सेनामा रहँदा क्रिस्चियन धर्ममा विश्वास नगरेको र उनले क्रिस्चियनको सर्वोच्चता स्वीकार नगरेको भन्ने सैन्य अधिकारीले बताएको एमआरएफएफले जानकारी दिएको छ ।

यसैगरी क्रिस्चियन चाडवाड नमनाएको र त्यस्ता खालका अभ्यासमा सहभागी नहुनु पनि उनको दोष देखाइएको उक्त संस्थाले उद्धृत गरेको छ । सैनिक सेवामा कार्यरत सबैले क्रिस्चियन भजन गाउँदा उनी हिन्दु भजन वा हिन्दी गीत सुनेको भन्दै सहकर्मीले आक्रोश व्यक्त गरेका छन् ।

यसैगरी अमेरिकी सर्वोच्च अदालतले समलैंगिक विवाहका पक्षमा दिएको निर्णयको पनि विरोध गर्न भनिएको थियो । यस्तो विवाह क्रिस्चियन मान्यताविरुद्ध भएको भन्दै आक्रोश व्यक्त गरिँदा उनले साथ नदिएको भेटिएको पनि एमआरएफएफले स्पष्ट पारेको छ । अमेरिकी सेनामा अझै पनि क्रिस्चियनलाई धर्मलाई सर्वोपरी मानेर अँगाल्नुपर्ने स्थिति रहेको दाबी गरिएको छ ।

कतिपय अधिकारीले भने उनले हिन्दु धर्म मानेकोमा दण्ड नदिएको र क्रिस्चियनका मान्यता र चाडवाड नमनाएका कारण सेवाबाट हटाइएको बताएका छन् । क्रिस्चियनबाहेकका धर्मलाई सेनामा स्थान नदिइएको त्यहाँ कार्यरत जवानले बताएका छन् ।
www.annapurnapost.com
, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses