राजेन्द्र महतोको दबाबपछि मधेसी मोर्चा पछि हट्यो
दसैं-तिहारमा पनि आन्दोलन जारी राख्नेकाठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दसैं-तिहारमा पनि आन्दोलन जारी राख्ने भएको छ । मोर्चाको सदस्य घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको आपत्तिपछि कात्तिक ३ गतेदेखि ९ गतेसम्म बन्द फिर्ता लिने निर्णयबाट मोर्चा पछि हटेको हो ।
मोर्चाले सोमबार पत्रकार सम्मेलन गरेर आफ्ना मागहरुको सम्बोधन नभएसम्म दसैं-तिहारमा पनि आन्दोलन जारी राख्ने जानकारी गराएको हो । मोर्चाले आफ्ना राजनीतिक मुद्दाहरू नछोडेको जनाउँदै 'प्रतिगामी संविधान' पनि स्वीकार नगरिएको मंगलबार पत्रकार सम्मेलन गरेर जनाएको हो ।
‘हामीले आफ्ना राजनीतिक मुद्दाहरू छोडेका छैनौँ र प्रतिगामी संविधान स्वीकार गरेका पनि छैनौँ,' मोर्चाले भनेको छ, 'त्यसैले, यस प्रतिगामी संविधानको विरोधमा हामीले उठाएका मुद्दाहरूप्रति हाम्रो प्रतिवद्धता यथावतै छ ।’
मोर्चाले प्रधानमन्त्रीको निर्वाचनमा भोट हालेर मधेसी मोर्चाले संविधान स्वीकार गरेको हल्लाको पनि खण्डन गरेको हो । ‘मधेसी, थारु, आदिवासी जनजाति, शिल्पी-दलित, मुस्लिम, महिला, पिछडा वर्ग र सीमान्तकृत समुदाय लगायत सम्पूर्ण उत्पीडित वर्ग तथा समुदायहरूको हक अधिकारलाई संवैधानिक रूपले सम्बोधन नगरेसम्म हाम्रो आन्दोलन निरन्तर जारी रहने छ', उसले भनेको छ ।
दसैं-तिहारमा बन्द फिर्ता लिने निर्णयसहितको विज्ञप्ती पत्रकारहरुलार्इ सुनाउन तयार मोर्चाका नेतालार्इ महतोले फोन गरेर कुनै हालतमा बन्द फिर्ता नलिन चर्को दबाब दिएपछि मोर्चाले चाडपर्वमा पनि सीमानामा नाकाबन्दी जारी राख्ने भएको हो ।
बन्द फिर्ता गर्ने निर्णयसहितको विज्ञप्ती मोर्चाका नेताहरुले फोन गरेर सुनाएपछि महतोले त्यसमा कडा आपत्ति जनाउँदै बन्दका कार्यक्रम यथावतै राख्नुपर्ने अडान लिएका थिए ।
सोमबारको बैठक बहिष्कार गरेको सद्भावनाका तर्फबाट आजको बैठकमा लक्ष्मणलाल कर्ण सहभागी थिए । बन्द फिर्ता लिने कुरामा कर्णले पनि सहमति जनाएका थिए । तर राजेन्द्र महतो पड्किएपछि मोर्चाले दसैं-तिहारमा पनि आन्दोलन गरिरहने अप्रिय निर्णय लिएको हो ।
महतोले आपत्ति जनाएपछि अन्तिम समयमा बन्द फिर्ता लिने निर्णय हटाउँदै मोर्चाले अर्को विज्ञप्ती बनाएको थियो । जसमा राज्यले संकिर्ण राष्ट्रवादको कुरा गरिरहेको आरोप लगाउँदै छिमेकीहरुसँगको सम्बन्ध विगार्न पनि राज्य लागिरहेको उल्लेख गरिएको छ ।
‘देशभित्र जातीय विद्वेष फैलाउनु, छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई कमजोर पार्नु र आफ्नै देशका फरक अनुहार र नश्लका नागरिकहरूले गरेको आन्दोलनलाई दमन गरेर राष्ट्रवादको कुरा गर्नु सङ्किर्ण अन्ध राष्ट्रवाद हो', उसले भनेको छ, 'नेपाली जनताले पञ्चायत कालको जस्तो एकल जातीय राष्ट्रवाद होइन, सबै जातिको पहिचान सहितको वहुलतायुक्त राष्ट्रवाद चाहेका छन् ।’
annapurnapost.com


0 comments
Write Down Your Responses