नेपाली युवाले २ भारतीयलाई कुटेपछि बेलहिया नाका फेरि बन्द
रुपन्देही, ४ कात्तिक । दुई जना भारतीय नागरिक सीमा नाका बेलहियामा नेपाली युवकको कुटपिटबाट घाइते भएपछि केही दिनयता सुचारु रुपन्देहीको नेपाल भारत सीमानाका बेलहिया बिहानैदेखि बन्द भएको छ । बेलहियाको सेरे पञ्जाब होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा बेलहियाका सचिन थैव, सुनील रानाले भारतीय नागरिक अजय सिंह राजकोट, कृष्ण मुरारी मधेसीयालाई कुटपिट गरेको विषयलाई लिएर बेलहिया नाका बन्द भएको हो ।
कुटपिटबाट भारतीय नागरिक घाइते भएपछि मङ्गलबार रातिदेखि नै असहज बनेको बेलहिया नाकामा भारतीय पक्षले अहिलेसम्म कुनै पनि गाडी नेपाल प्रवेश गर्न दिएको छैन । घाइते राजकोटको चिउडोमा चोट लोगेको छ भने मधेसीयाको हातमा सामान्य चोट लागेको र उनीहरुको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भारतीय पक्षले नेपालतर्फ मालबहाक तथा सवारीसाधन आउन रोक लगाएपछि बेलहिया नाकाबाट भारतबाट रोजगारी गरी फर्कने नेपाली मात्रै आएका छन् । मङ्गलबार साँझको उक्त घटना पछि दुवै देशका सुरक्षा अधिकारीले बेलहिया नाकामा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । नेपालका तर्फबाट पनि बेलहिया नाकामा यसअघिभन्दा केही बढी सुरक्षाकर्मी खटाएको रुपन्देही प्रहरीले जनाएको छ ।
भारतीय पक्षले मालबहाक तथा सवारीसाधन नेपाल आउन रोक लगाएपछि नेपालबाट भारततर्फ जाने गाडी पनि भारत जानबाट रोक लगाइएको छ । कुटपिट गर्ने फरार रहेको र खोजी कार्य जारी राखेको रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । रासस
internetkhabar.com
0 comments
Write Down Your Responses