यसपाली दशैंमा घर जान पाइन्छ कि पाइँदैन ?

काठमाडौ । महान् चाड दसैँमा घर जान नपाइने चिन्ताले सर्वसाधारण पिरोलिएका छन् ।
वर्षदिनमा एकपटक मात्र दसैँमा घर जाने सुदूर पूर्व र सुदूर पश्चिमका यात्रुले छिटो यातायातको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
विगत वर्षहरुमा दसैँ आउनु डेढ दुई महिना अघि नै टिकट अग्रिम बुकिङ हुने गरेकामा यस वर्ष पेट्रोलियम पदार्थको अभावका कारण बुकिङ काउन्टर सुनसान छ । यसले गर्दा यात्रु अन्योलमा परेका छन् । पेट्रोलियम पदार्थको अभावका कारण विगत वर्षमा झैँ यसपटक अग्रिम बुकिङ नगरिएको यातायात व्यवसायीले बताएका छन् ।
‘बसको टिकट खोज्न लागेको एक हप्ता भइसक्यो, अझै पाउन नसकिएकाले यो वर्ष दसैँमा घर जान पाइने सम्भावना देखिएन, काठमाडौँमा एक्लै बस्नुपर्ने भयो’, दाङबाट आई राजधानीमा अध्ययनरत श्याम चौधरीले भने ।
यो समस्या चौधरीको मात्र होइन, उपत्यकामा यस वर्ष यो समस्याबाट पिरोलिनेको सङ्ख्या अत्यधिक छ । पाँचथरकी रमा ढुङ्गाना पनि बसको टिकट बुकिङका लागि गौशाला, कोटेश्वर, कलङ्की, नयाँ बसपार्क र चावहिल लगायतका टिकट काउन्टरमा घुम्दा पनि टिकट पाउन नसकिएको गुनासो गर्छिन ।
‘बसको टिकट नपाएका कारण यस वर्षको दसैँमा घर पुगिएला जस्तो छैन, १५ दिनदेखि टिकट खोज्न दैनिक दौडधुप गरेपनि हात लाग्यो शून्य भएकाले ग्यास नपाई समस्याकै बीचमा वर्ष दिनको पर्व मनाउने बाध्यतामा फसिने भइयो’, एक्लै काठमाडौँमै बस्नुपर्ने अवस्था देखिएको सुनाउँदै उनले भनिन् ।
पेट्रोलियम पदार्थको अभावमा यातायात व्यवसायीले टिकट बुकिङ नभई लाखौँ यात्रु अलपत्र पर्ने अवस्थामा सरकारका सम्बन्धित निकायले ध्यान नदिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए ।
‘प्रत्येक वर्ष दसैँमा २० लाख मानिस काठमाडौँ बाहिर जान्छन्, यो समयमा धेरै सङ्ख्यामा टिकट अग्रिम बिक्री हुने गरेकामा यस वर्ष पेट्रोलियम पदार्थको अभावका कारण पर्याप्त मात्रामा सवारी साधन हुँदा पनि बुकिङ हुन सकेको छैन, यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कुनै पहल गरेन’, उनले भने ।
अब आठ–दस दिनका लागि पेट्रोलियम पदार्थको व्यवस्था गरिदिए यात्रुलाई गन्तव्यमा पुर्‍याउन पहल गरिने पनि उनले बताए । यसका लागि गृह मन्त्रालय र नेपाल आयल निगमसँग बैठक चलिरहेको महासङ्घले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्की पेट्रोलियम पदार्थको नियमनको विषय वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत पर्ने भएकाले समन्वयको पहल भइरहेको बताउछन् ।
‘पेट्रोलियम पदार्थ नै ल्याउने काम मन्त्रालयले गर्न सक्ने कुरा भएन, तेल आएपछि व्यवस्थापन गरेर सवारी साधनलाई गन्तव्यसम्म पुर्‍याउन पहल गर्नेछौ’, उनले भने । रासस
www.nepalsandesh.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses