सर्लाहीमा जातीय प्रदेशविरुद्ध बिरोध सभा हुँदै, मधेसी मोर्चाका माग पूरा नगर्न खबरदारी
काठमाडौं, २५ मंसिर । चुरे भावर क्षेत्रलाई समेटेर संघीय राज्य बनाइनु पर्ने तथा सडक अबरोध गर्न नपाइने मागसहित चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आज सर्लाहीको हरिवनमा आमसभा गर्दैछ ।मधेसी मोर्चाको आन्दोलनले नाकाबन्दी लगाएर पूर्वपश्चिम महेन्द्र राजमार्ग अबरोध गरेपछि प्रतिकारमा उत्रिएको चुरे भावर पार्टीले आज हरिवनमा आमसभा गर्न थालेको हो ।
सभामा हज्जारौँ नेता तथा कार्यकर्ता ओरालिने सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । बिरोध सभा मध्यान्ह १२ बजेपछि हुनेछ ।
उहाँले चुरे भावर क्षेत्रलाई समेटेर अलग संघीय राज्य दिनुपर्ने माग गर्नुभएको छ । ‘बिगतमा सरकारसँग भएको सहमतिअनुसार चुरे भावर क्षेत्रलाई समेटेर अलग संघीय प्रदेश बनाइनुपर्छ’, अध्यक्ष न्यौपानले भन्नुभयो, ‘मधेसी मोर्चाको नाजायज दबावमा परेर चुरे भावर प्रदेशको अस्तित्व मेटाउने कार्यको बिरोधमा हामी आन्दोलित भएका छौँं ।’
मधेसी मोर्चाको आन्दोलनले जनताले दुःख पाएपछि कांग्रेस, एमाले र एमाओवादीले गर्न नसकेको काम आफूहरूले गरेको बताउनुभएका अध्यक्ष न्यौपानले भन्नुभयो, ‘राष्ट्र र राष्ट्रियताका लागि हामी कटिबद्ध छौँ । हामीलाई कसैले राष्ट्रियताको पाठ नसिकाए हुन्छ ।’
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले मधेसी मोर्चालाई महेन्द्र राजमार्गबाट हटाएपछि मधेस आन्दोलन तहिएको अध्यक्ष न्यौपानेको दाबी छ ।
‘हामीले मधेसी मोर्चाका आन्दोलनकारीलाई सर्लाही र इटहरीबाट नलखेटेको भए तराई अझै असान्त हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘हामी मिलेर बसेका जनतालाई चुरे भावर प्रदेश अनिर्वाय रुपमा चाहिन्छ । दुई नम्बरमा लगेर हामीलाई मिसाइएको छ । यो स्वीकार्य छैन ।’
हरिवनको आजको प्रदर्शनमा चुरे भावर पार्टीले आफ्ना युवाहरूलाई अग्रस्थानमा राखेर प्रदर्शन गर्ने तयारी गरेको छ । चुरे भावरको आजको प्रदर्शनलाई लिएर सर्लाही जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
dainiknepal
0 comments
Write Down Your Responses