मध्यराति दिल्लीबाट फर्केर उपेन्द्र यादवले भने, ‘आन्दोलन र नाकाबन्दी खुल्दैन’
काठमाडौं, २४ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले मधेसको माग पूरा नगर्दासम्म जारी आन्दोलन नरोकिने बताउनु भएको छ ।
चार दिवसीय भारत भ्रमण सम्पन गरेर बुधबार मध्यराति स्वदेश फिर्ता हुनुभएका अध्यक्ष यादवले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै सरकारको रवैया समाधानमुखी नभएकोले आन्दोलनको जारी रहने बताउनुभयो ।

नाकाबन्दीबारे सञ्चारकर्मीको जिज्ञासामा फोरम नेपालका अध्यक्ष यादवले भन्नुभयो, ‘हामीले समाधान खोज्न भारत भ्रमणमा गएका थिएनौं, समाधान नेपालभित्रै खोज्ने हो । तर, मधेसको माग पूरा नहुँदासम्म आन्दोलन जारी रहन्छ । नाकाबन्दी खुल्दैन ।’
उहाँले मोर्चाको भारत भ्रमणले मधेस आन्दोलनबारेको भ्रम हटेको दाबी गर्नुभयो । ‘नेपाल सरकार तथा विभिन्न राजनीतिक दलहरूले मधेस आन्दोलनबारे भारतमा विभिन्न किसिमका अनर्गल भ्रमहरू फैलाएका थिए, त्यसलाई चीर्न मोर्चा सफल भएको छ’, अध्यक्ष यादवले भन्नुभयो, ‘मधेस आन्दोलन र यसका विभिन्न पक्षहरूबारे हामीले आफ्ना कुराहरू खुलस्त रुपमा राख्यौं, दुई पक्षबीच विचार आदानप्रदान भयो, यसले नयाँ सिराबाट छिमेकीसँग सम्बन्ध स्थापित भएको छ ।’
अध्यक्ष यादवले नेपाली कांग्रेसको प्रस्तावमा सरकारले ल्याएको संशोधन प्रस्ताव आन्दोलनको भावना विपरित रहेको टिप्पणी गर्नुभएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच राजनीतिक समिति बनाएर तीन महिनाभित्र सीमाङ्कनको विवाद टुंग्याउने गरी शुक्रबार भएको सहमतिलाई अध्यक्ष यादवले ठाढै अस्वीकार गर्नुभएको छ ।
‘तीन दलको संशोधन प्रस्ताव मधेसलाई भुलाएर आन्दोलन तुहाउने षड्यन्त्र मात्रै हो’, सीमाङ्कन नै मोर्चाको प्रमुख मुद्दा भएको भन्दै यादवले भन्नुभयो, ‘प्रमुख मागबाट नै विमुख गर्न यो उधारो प्रस्ताव आएको छ । यो कुनै पनि हालतमा हामीलाई मान्य छैन ।’
उधारो सहमति मोर्चालाई मान्य नभएको भन्दै यादवले नयाँ संविधान जारी गर्दा तीन दलका नेताहरुले गरेको त्रुटि सच्याउनु पर्ने बताउनु हुँदै त्यसबेलासम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।
फोरम नेपालका अध्यक्ष यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर मात्रै बुधबार मध्यराति स्वदेश फर्कनु भएको छ ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses