रंगेली घटनालाई लिएर वीरगन्जमा आन्दोलन चर्कियो
वीरगन्ज–मोरङको रंगेलीमा बिहीबार भएको घटनाको विरोधमा मधेसी दलले आजदेखि वीरगन्जमा आन्दोलनलाई फेरि चर्काएका छन् ।  मधेसी दलका नेता कार्यकर्ताहरु वीरगन्जको चोक–चोकमा आज बिहानदेखि प्रदर्शनमा उत्रिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन, संघीय मधेसी मोर्चा र संघीय समावेशी मधेसी युवा गठबन्धनका नेता कार्यकर्ताहरुले वीरगन्जको विभिन्न चोकमा टायर बालेर सरकार र मुख्य तीन दलविरुद्ध नाराबाजी गरिरहेका छन् ।
आन्दोलनकारीहरुले वीरगन्जको घण्टाघर, माइस्थान, मुर्ली, पावरहाउस चोक, लक्ष्मणवा चोक लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका हुन् । संघीय समावेशी मधेसी युवा गठबन्धनका नेता कार्यकर्ताहरुले वीरगन्जको घण्टाघर चोकमा आज बिहान प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् । आन्दोलनकारी दलका नेता कार्यकर्ताहरुको प्रदर्शनका कारण वीरगन्ज बजार आज बिहानैदेखि बन्द भएको छ । यस्तै प्रदर्शनकारीहरुले वीरगन्जमा आज सार्वजनिक यातायातका सवारी साधनहरु र स्कुल बससमेत चल्न दिएका छैनन् ।
बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले वीरगन्जको घण्टाघर चोकमा सशस्त्र प्रहरीका एसपी भिम बहादुर थापा चढेको ना १ झ १५३० नम्बरको गाडीमा तोडफोड गर्नुका साथै बा १० च २३८४ नम्बरको गाडीमा पनि तोडफोड गरेका छन् । आन्दोलनकारीहरुले घण्टाघर चोकमा रहेको नेपाल दूर सन्चार कार्यालयमा पनि तोडफोड गर्नुका साथै दुई वटा क्याबिनेटमा आगजनी गरेका छन् । आन्दोलनकारीहरुको तोडफोड र आगजनीबाट दूरसञ्चार कार्यालयमा ५० लाखको क्षति भएको कार्यालयका निमित्त प्रमुख गिरिराज सुबेदीले बताए । क्याबिनेटमा आगजनी गरिएका कारण सात सय टेलिफोन लाइनको सेवा पनि अवरुद्ध भएको सुबेदीले जानकारी दिए । आन्दोलनकारीहरुले दूरसन्चार कार्यालयमा ढुङगामुढा गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा दुवै पक्षबिच झडप पनि भएको छ ।
प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुई जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । यस्तै बाराको कलैयामा पनि मधेसी दलका कार्यकर्ताहरुले आज बिहानैदेखि प्रदर्शन गरेका छन् । उनीहरुले कलैयामा बजार बन्द गराउनुका साथै सार्वजनिक यातायातका सवारी सधान पनि चल्न दिएका छैनन् । आन्दोलनकारीहरुले कलैयामा आज बिहान दुई वटा मोटरसाइकलमा आगजनी पनि गरेका छन् । तेल ओसारेको भन्दै मधेसी दलका कार्यकर्ताहरुले कलैयाको बाल मन्दिर नजिकबाट लु १ प ९५७० र ना १० प २८२५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर भरत चोकमा लगी आगजनी गरेका हुन् ।
मोटरसाइकलमा आगजनी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा आन्दोलनकारी र प्रहरीबिच कलैयाको भरत चोकमा झडप पनि भएको थियो । मधेसी दलका कार्यकर्ताहरुले बाराको मटिअर्वा, बबुआइन, बरियापरपुर, पिपराडी, जितपुर, परवानीपुर लगायतका स्थनामा पनि बिहानै देखि टायर बालेर प्रदर्शन गरेका छन् । सीमाङ्कन र संविधान प्रति असन्तुष्ट मधेसवादी दलले आन्दोलन थालेको आज एक सय ६१ दिन पुगेको छ । यस्तै वीरगन्ज रक्सौल नाकामा मधेसी दलको नाकाबन्दी आज एक सय २१ औं दिन पनि जारी रहेको छ ।
मधेसी दलहरुले गत असोज ७ गतेदेखि वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पार्दै आएका छन् । मधेसी दलका नेता कार्यकर्ता नाकाबन्दी गर्न धर्नामा बसेका कारण चार महिना देखि रक्सौलबाट कुनै पनि मालवाहक सवारी साधन वीरगन्ज छिर्न सकेको छैन ।
ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses