द्वन्द्वकालको झल्को दिने गरी बिप्लव माओवादीद्वारा जनसरकार घोषणा
माघ १०, २०७२- द्वन्द्वताकाको झल्को दिने खालका साँस्कृतिक कार्यक्रम गरी नेकपा माओवादी बिप्लव समूहले आज बझाङ जिल्लामा जनसरकार घोषणा गरेको छ ।जिल्ला सदरमुकाम चैनपुरको खुलामञ्चमा आयोजित कार्यक्रममा नेकपा माओवादी बिप्लव समूहका पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनले जनसरकारको घोषणा गरेका हुन् ।
चन्द्रबहादुर सिंहको संयोजकत्वमा रहेको १७ सदस्यीय जिल्ला जनपरिषद्को घोषणा गर्दै पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले सरकार र संसदवादी दलहरु नसच्चिएमा यसै परिषदले जिल्लामा समानान्तर सरकार चलाउने बताए ।
'नेपालमा माओवादी बिनाको सत्ता, सरकार र सेना कुनैपनि हालतमा हामीलाई स्वीकार्य हुने छैन,' पुनले भने, 'अब ७५ वटै जिल्लामा जनसरकारहरु पुनर्जिवित हुनेछन् । जनताको न्याय र सेवाको काम जनसरकारले गर्नेछ ।'
आफूहरुको बेवास्ता गर्दै सरकार र प्रमुख दलहरु अघि बढेमा छिट्टै जनअदालत र जनसेना समेत गठन गर्ने उनले बताए ।
एकिकृत माओवादीले तत्कालीन जनयुद्धको एजेन्डालाई बिर्सेर जनतालाई धोका दिए पनि आफूहरु जनताको साथमा रहेको र जनवादी सत्ताको लागी बलिदान गर्न तयार रहेको बताउँदै कार्यक्रमका वक्ताहरुले जनताको साथ खोज्न सडकमा आएको बताएका थिए ।
केन्द्रीय जनपरिषदका सदस्य धनबहादुर मल्ल र पूर्व सभासद शंकर खड्का समेत सहभागी रहेको उक्त कार्यक्रममा सामना साँस्कृतिक परिवारका कलाकारहरुले युद्ध पोसाकमा नक्कली हतियार सहितको साँस्कृतिक प्रस्तुति गरेका थिए ।
जिल्लाका विभिन्न गाउँबाट कार्यक्रम हेर्न आएका सर्वसाधारणहरुले बिप्लव माओवादीको यस कार्यक्रमले फेरि अर्को विद्रोहको संकेत गरेको बताए । कार्यक्रमका सहभागी एक पत्रकार शैलेन्द्र रोकायाले भने 'जनयुद्धताकाको झल्को आयो । शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको अवस्थामा भएको यस्तो कार्यक्रमले फेरि अर्को संकटको संकेत गर्दछ ।'
आइतबार गर्ने कार्यक्रमबारेमा एकहप्ताअघिदेखि नै स्थानीय रेडियोहरुबाट प्रचारप्रसार गरिएको थियो । कार्यक्रममा सर्वसाधारण र विप्लव माओवादीका समर्थकहरुको बाक्लो उपस्थिति रहेको भए पनि सुरक्षाकर्मीहरुको औपचारिक उपस्थिति थिएन ।
kantipur.ekantipur
0 comments
Write Down Your Responses