प्राण घातक रोक स्क्रब टाइफसबाट यसरी टाढा रहने
काठमाडौं, ३ साउन । संखुवासभाका एक बालकलाई हनहन्ती ज्वरो आयो । टाउको दुख्ने, जोर्नी दुख्ने समस्या सँगै देखियो । घरमै निको पार्ने प्रयासस्वरूप परिवारले उनलाई तातोपानी पिउन आग्रह गरे । अन्य घरेलु उपाय अपनाए । केही सीप नलागेपछि नजिकैको पसलबाट औषधि किनेर बालकलाई खुवाइयो ।

आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – नतिजाको पर्खाइमा अभिभावकले कडा ज्वरो आएका ती बालकलाई सात दिनसम्म घरमै राखे । थला परेपछि मात्रै उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका लागि लगियो ।

चिकित्सकले जाँचका विभिन्न उपाय अपनाउँदा पनि उपलब्धि नभएपछि उनको रगत निकालेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो । नजितामा ती बालकको रगतमा स्क्रब टाइफस रोग पुष्टि भयो । सोहीअनुसारको उपचार प्रक्रिया अघि बढाइए पनि ढिलो अस्पताल ल्याउँदा बालकले ज्यान गुमाउनु पर्‌यो ।

बालकको ज्यान गएपछि मात्र उनका अभिभावकले स्क्रब टाइफस कस्तो रोग हो भन्ने थाहा पाए । यो एउटा उदाहरण हो । स्क्रब टाइफसबारे जानकारी समयमै नपाउँदा वा नलिँदा अनायासै यस वर्ष अन्य दुईजनाले ज्यान गुमाउनु परेको छ । जब कि यो रोगको समयमै उपचार भयो भने निको हुन्छ ।

मुसामा पाइने किर्नाजस्तै कीरा (माइटको लार्भा)ले टोक्दा मानिसमा फैलिने उक्त रोगबाट वैशाखयता ९१ जनामा उक्त रोग पुष्टि भइसकेको छ । ‘पहिले केही थाहा थिएन । अरू नै कारणले ज्वरो आएको होला भन्ने लाग्यो र कतै गइनँ । ज्यानै जालाजस्तो भयो अनि अस्पताल आएँ,’ टेकुस्थि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका एक बिरामीले भने, ‘अहिले थाहा भयो यो त निकै डरलाग्दो रोग रेहछ ।’

रोगका लक्षण
–कडाखाले ज्वरो (१०२ देखि १०५ डिग्री फरेन हाइटसम्म) आउने
–टाउकोमा धेरै दुखाइ हुने
–श्वासप्रश्वासमा समस्या पैदा हुने
–जीउ, जोर्नी र मांसपेशीमा पीडा हुने
–खोकी लाग्ने
–पेट दुख्ने र पखाला लाग्ने
–शरीरका विभिन्न भागमा गुलाबी बिमिरा देखिनु
स्क्रब टाइफसबाट बच्ने उपाय
–घरवरपर सफा राख्ने र आफूले पनि सरसफाइमा ध्यान दिने
–लामो बाउला भएको कपडा लगाउने
–मुसाबाट टाढै रहने
–सामान्य रूपमा ज्वरो आउने वा खोकी लाग्नेजस्ता समस्या देखिमा एक दुई दिन घरमै आराम गरी तातो र झोलिलो खाने ।
–त्यसो गर्दा नभए सम्बन्धित चिकित्सकको सल्लाहमा उपचार अघि बढाउने ।
–असामान्य लक्षण देखिँदा शरीरमा भएका दागहरू नियाल्ने । केहीले टोकेकोजस्तो लाग्यो भने तुरुन्त चिकित्सकको सल्लाह लिने

उपचारविधि
यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र कीराले टोकेको दाग देखेर पनि गरिन्छ । रगत परीक्षणअन्तर्गत सीबीसी काउन्ट, लिभर फंग्सन टेस्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रूत परीक्षणसमेत गर्न सकिन्छ ।

नेपालमा हाल एलाइजा टेस्टबाटै काम चलाउने गरिएको छ, जुन हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने गरेको छ । महाशाखाका चिकित्सक गुणनिधि शर्माका अनुसार स्क्रब टाइफसको आशंका भएका बिरामीलाई प्रयोगशाला प्रतिवेदन आउनुभन्दा पहिलेदेखि नै एन्टिबायोटिक औषधि दिन सकिन्छ ।khabardabali
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses