काभ्रेमा दुर्घटनाग्रस्त बस चालकको लाइसेन्स नै नक्कली
बुधबार, १ भदौकाठमाडौं । सोमबार काभ्रेको बिर्ता देउरालीमा दुर्घटनाग्रस्त बसचालकको सवारी अनुमतिपत्र (लाइसेन्स)नक्कली भएको तथ्य खुलेको छ ।
भौतिक पूर्वाधार एवं यातायातमन्त्री रमेश लेखकले पछिल्लो समय सडक दुर्घटना बढेपछि सरोकारवाला पक्षलाई मन्त्रालयमै बोलाएर मंगलबार गरेको छलफलमा सो तथ्यको खुलासा भएको हाे ।
छलफलमा दिएको सूचनाअनुसार सोमबार दुर्घटनामा परेको बसका चालकको लाइसेन्स नक्कली भएको फेला परेको छ ।
बसचालकले प्रयोग गरेको अनुमतिपत्रको नम्बर यातायात व्यवस्था कार्यालयबाट अर्कैको नाममा जारी भएको रेकर्डबाट फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
पानी परेको समय, कच्ची उकालो भीरको बाटो भए पनि क्षमताभन्दा तीन दोब्बर भारवहन र चालकको लापर्बाहीकै कारण दुर्घटना निम्तिएको सरोकारवालाको निष्कर्ष छ ।
बा३ख १०६ नम्बरको यात्रुवाहक बस सोमबार दिउँसो दुर्घटना हुदा २७ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी यात्रु घाइते भएका थिए ।
काठमाडौं बसपार्कबाट १९ यात्रु लिएर हिँडेको सो बसमा बीच बाटोबाट भूकम्पबाट घर भत्किएकाका लागि उपलब्ध गराउने पैसा लिन हिँडेका व्यक्ति धेरै चढेका थिए । क्षमताभन्दा निकै बढी यात्रुलाई चढाएको र चालकको अनुमतिपत्र नक्कली भएको कारण सो दुर्घटना भएको निष्कर्ष छलफलका क्रममा निस्किएको बैठकमा सहभागीहरूको भनाइ छ । यसैबीच, सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीको तत्काल रुट परमिट र चालकको लाइसेन्स खारेज हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभाग तथा सडक विभागका अधिकारी, यातायात व्यवसायी, नेपाल प्रहरी र ट्राफिक प्रहरी अधिकृतसहित सरोकारवालासित मंगलबार बैठक गरी यस्तो निर्णय गरेको हो । क्षमताभन्दा बढी यात्रु बोकेकै कारण काभ्रेमा सोमबार बस दुर्घटना भएको मन्त्रालयको निष्कर्ष छ ।
बैठकमा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रमेश लेखकले पछिल्लो समय सडक दुर्घटनाका घटना बढेकोप्रति गम्भीर चासो व्यक्त गरेका छन् । सरोकारवाला पक्षलाई मन्त्रालयमै बोलाएर मन्त्री लेखकले काभ्रेमा भएको सडक दुर्घटनालाई गम्भीर र संवेदनशील घटनाका रूपमा लिएर यातायातसम्बन्धी कानुनलाई कडाइका साथ कार्यान्वयन गर्न मातहत निकायका पदाधिकारीलाई निर्देशनसमेत दिए । अाजकाे राजधानीमा समाचार छ ।
nepalsandesh
0 comments
Write Down Your Responses