भारतबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने
काठमाडौँ, २ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि आज भारत प्रस्थान गर्नुभएको छ । नयाँ सरकार गठन भएका सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि भारत प्रस्थान गर्नुभएको हो ।
त्यसतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपप्रधानमन्त्री निधिले आफ्नो भ्रमण प्रमुख रुपमा नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको विषयमा केन्द्रित रहने बताउनुभयो । उहाँले भन्नुभयो– “मेरो भारत भ्रमणको प्रमुख उद्देश्य नेपालका राष्ट्रपतिका तर्फबाट भारतका राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निम्ता दिने र नेपाल भ्रमणको शीघ्र मिति तय गर्न आग्रह गर्ने हो, त्यस्तै नेपालका प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीले निम्ता गर्नुभएको छ, त्यो शीघ्र भ्रमणको पनि तयारी सम्बन्धमा छलफल हुनेछ र नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका बेला नेपाल–भारतका बीचमा हुने छलफलका विषयमा पनि प्रारम्भिक तयारी गर्ने उद्देश्य रहेको छ ।” दुई देशको सम्बन्धलाई थप सुदृढ तुल्याउन आफ्नो भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री निधिले नेपालको राष्ट्रिय हित र सकारात्मक परिवर्तनका पक्षमा भारत सरकार र त्यहाँका जनताको साथ रहने अपेक्षा गर्नुभयो । त्यसैगरी नेपालको संविधानको कार्यान्वयनका क्रममा रहेका चुनौतीलाई सफलतापूर्वक सम्पन्न गर्न यहाँ भइरहेको राजनीतिक घटनाक्रमको चर्चा पनि उहाँले गर्नुहुनेछ । गृहमन्त्री निधिले दिल्लीमा रहँदा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, गृहमन्त्रीलगायत त्यहाँका राजनीतिक दल र उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्नुहुनेछ । रासस dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses