डिआईजीले नै आईजीपीलाई भ्रष्ट भनेपछि
काठमाडौं, २१ साउन । सशस्त्र प्रहरी बलभित्रको भ्रष्टाचारले संगठनकै अधिकारीहरुको शिर निहुरीन थालेको छ ।
सशस्त्रका आईजीपी कोषराज वन्तले केही अधिकृतलाई हातमा लिएर संगठनभित्र ब्रम्हलुट गर्दै आएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सेटिङ मिलाएकाले आफुलाई कसैले छुन नसक्ने भन्दै उनले असुलीलाई अझै बढाएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
सशस्त्रभित्र कति धेरै भ्रष्टाचार छ भन्ने कुरा हालै डिआईजी दुर्गाबहादुर कुँवरले खोलेका छन् । हालै राजिनामा दिएका उनले सशस्त्रको नेतृत्व भ्रष्ट भएको भन्दै ट्वीटरमा लेखेका छन् ।
राजिनामा दिएर बिदेश घुमघाममा रहेका उनले ट्वीट गरेका छन्–‘जब भ्रष्टाचारले सीमा नाघ्छ, भ्रष्टहरुले शासन गर्छन्, तथ्य कुरा तोडमोड हुन्छ र सत्य मौन हुन्छ ।’ आईजीपी वन्तलाई लक्षित गरी उनले यस्तो लेखेका हुन् ।
स्रोतका अनुसार बिदेशी पिआरका कारण उनले राजिनामा दिएको भनिएपनि आईजीपी वन्तसँगको टकरावकै कारण उनले जागिर छाडेका हुन् ।
सशस्त्रका भावी आईजीपीका रुपमा हेरिएका कुँवर एकजना क्षमतावान् अधिकृतका रुपमा पनि सशस्त्रमा चिनिन्थे । तर आईजीपी वन्तले आफ्ना बिरोधीहरुको करिअर सखाप पार्ने नीति लिंदै आएका छन् ।
पहिला एआईजी ठाकुरमोहन श्रेष्ठ पक्षका प्रहरीलाई उनले छानी छानी कारबाही गरेका थिए । अहिले कृष्ण तामाङ, जीवन थापा र प्रकाश ओझासँग उनको सम्बन्ध राम्रो छैन ।
संगठनभित्र के भइरहेको छ भन्ने एआईजीलाई समेत थाहा हुँदैन । केही सिमित व्यक्तिहरुलाई हात लिएर उनले संगठनमा ब्रम्हलुट मच्चाउँदै आएका छन् ।
अवकाश हुन करिब ६ महिना मात्र बाँकी भएकाले पनि सशस्त्रमा भ्रष्टाचार बढ्दै गएको छ । संगठनभित्र वन्तले कुन हदसम्मको लुट गरेका छन् भन्ने कुरा पूर्वडिआईजी कुँवरको ट्वीटबाट पनि थाहा हुन्छ ।
बजेटमा भ्रष्टाचार मात्र नभई सीमा कार्यालयमा समेत मोलतोल गरेर नियमित पैसा पठाउनेलाई मात्र उनले सरुवा गर्दै आएका छन् । आम्दानी हुने कार्यालयमा आफु निकटलाई मात्र राख्दै आएको स्रोत बताउँछ ।
dainiknepal.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses