किन घट्यो नेपालमा सुनको भाउ
काठमाडौं : दुई वर्षको अन्तरमा नेपालमा सुनको भाउ झन्डै १५ हजारले गिरावट आएको छ। दुई वर्षअघि प्रति तोला ६२ हजार सम्म पुगेको सुनको भाउ घटेर अहिले ४७ हजार पाँचसय झरेको छ। गिरावटको क्रम अझै जारी छ।२०६९ माघमा सुन प्रतितोला ६१ हजार ८ सय ५० रुपैयाँसम्म कारोबार भएको थियो। बुधबार तोलाको ४७ हजार पाँचसय रुपैयाँका दरले सुनको कारोबार भइरहेको छ। सोमबार सुनको भाउ तोलाको ४७ हजार आठसय रुपैयाँ रहेको थियो। मंगलबार सुनको भाउ तोलामा तीनसय रुपैयाँले घटेको हो। बुधबार पनि त्यही भाउ कायम भयो।
केही समयदेखि नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ। सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा विगत पाँच वर्षयताकै सस्तो भएको छ। विश्व बजारमा भाउ घटेकाले यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परिरहेको छ। सुन खरिद गर्न ग्राहको चाप बढे पनि बजारमा भने सुनको अभाव देखाइएको छ।
अमेरिकी डलरको भाउ बढेर अन्तर्राष्ट्रिय अर्थतन्त्र बलियो हुँदै गएकोले पनि सुनको भाउ घटेको विश्ललेषण गरिएको छ। त्यसैगरी सबैभन्दा धेरै सुनको कारोबार हुने चीनमा पछिल्लो समयमा सुनको खपत र माग घटेको छ। पुँजी बजारमा गिरावट आएपछि त्यसको नकारात्मक असर सुन बजारमा देखिएको छ।
सुनभन्दा सेयर बजारमा लगानी गर्दा छिटो र बढी प्रतिफल पाइने विश्वासले गर्दा पनि सुन कारोबारको आकर्षण घट्ने क्रममा छ। नेपालमा सरकारले भन्सारमा प्रति १० ग्राममा १ हजार रुपैयाँ छुट दिएका कारण पनि सुनको मूल्य गिरावट हुन थालेको हो।
annapurnapost.com
0 comments
Write Down Your Responses