झुटो प्रेम गरी करोड ठग्ने प्रेमिका जेल पुगिन्
वीरगन्ज :  झुटो मायाजालमा पारेर प्रेमीको एक करोड रुपैयाँ बढी ठगी गर्ने प्रेिमका जेलको बास बस्न पुगेकी छन् ।
वीरगन्ज मुर्लीका २५ वर्षीय आकाश सिकारियालाई माया प्रेमको झुटो आश्वासनमा परेर एक करोड ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ काठमाडौंकी युरिका ढकाललाई जिल्ला अदालत पर्साले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

बुधबार मूख्य न्यायाधीश भोलानाथ चौलागाईँको एकल इजलाशले युरिकालाई पुर्पुक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई बुधबार साँझ नै वीरगन्ज कारागार पठाइएको अदालतका तहसिल्दार शम्भु बस्नेतले जानकारी दिए ।  (अर्काकी श्रीमतीसँगको चक्करले एक करोड स्वाहा)

ठगीमा संलग्न युरिकाका बुबा हिक्मत ढकालसँग भने अदालतले १३ लाख रुपैयाँ धरौटी मागेको छ । युरिकाका भाइ मन्जिल ढाकाललाई साधारण तारेखमा रिहा गरिएको पर्सा जिल्ला अदालतले जनाएको छ ।

आदलतले माग गरे बमोजिमको धारौटी रकम बुझाउन नसकेका कारण युरिकाका बुबा हिक्मतलाई पनि कारागार पठाइएको तहसिल्दार बस्नेतले जानकारी दिए ।

गीमा संलग्न युरिकाकी दिदी अरिका ढकाल महत भने फरार छिन् । पर्सा जिल्ला अदालतमा गत मंगलबार भएको बहसमा जिल्ला न्यायाधीधवक्ता भुवनेश्वर पौडेल, जाहेरवाला आकाशका तर्फबाट अधिवक्ताहरु वीरेन्द्र यादव, विनय सिंह र मुकुन्द अधिकारीले पैरवी गरेका थिए ।

प्रतिवादीहरुका तर्फबाट अधिवक्ताहरु प्रमोद साह, गाणेश बहादुर खत्री, मन्सुर सिद्धिक र राजन अधिकारीले बहश पैरवी गरेका थिए ।

यसअघि गत सोमबार भएको सरकारी वकिल र अदालत दुवैसँगको बयानका क्रममा युरिकाले आफुले आकाशसँग पटक पटक गरेर ७९ लाख रुपैयाँ लिएको स्वीकारेकी सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै दुवै बयानमा युरिकाका बुबा हिक्मतले पनि आफुले आकाशसँग ६ लाख ९० हजार रुपैयाँ लिएको सकारेका थिए ।

आकाश सिकारीया, पेट्रोलियम पर्दाथर्का व्यवसायी रामजी सिकारीयाका छोरा हुन् । युरिका झापाको अर्जुनधारा गाविस–२ स्थायी घर भइ हाल ललितपुर उपमहानगरपालिका–१४ निवासी हिक्मत ढाकालकी कान्छी छोरी हुन् ।

युरिकाले प्रेमको झुठो जालमा पारेर आफुसँग एक करोड ६ लाख रुपैया ठगी गरेको भन्दै आकाशले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए । आकाशको उजुरीको आधारमा पर्सा प्रहरीले युरिका, उनका बुबा हिक्मत र भाइ मन्जिललाई गत असार २८ गते ललितपुरबाट पक्राउ गरि तीनै जनाविरुद्ध ठगी मुद्धा दर्ता गरेको थियो ।

चार वर्ष देखिको प्रेमलाई साकार पार्न आकाशले काठमाण्डौमा रहेकी प्रेमीका युरिकालाई बिहेका लागि गत जेठ १० गते वीरगन्ज बोलाएका थिए । तर काठमाडौंबाट वीरगन्ज आएकी युरिकाले आफु अर्कैको पत्नी  भएकाले बिहे नगर्ने बताएपछि आकाशले आफु ठगिएको थाहा पाएका थिए ।

अविवाहित भनिएकी प्रेमिका अर्कैकी पत्नी भएको थाहा पाएपछि आकाशले युरिकाविरुद्ध ठगीको मुद्धामा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए ।

आकाशले आफुसँग पटक पटक पटक गरेर युरिका, उनका बुबा र भाइले एक करोड ६ लाख रुपैयाँ ठगेको आरोप लगाएका थिए । ७९ लाख रुपैया बैंक र आइएमइमर्फत युरिका र उनकी दिदीको खातामा तथा बाँकी २७ लाख रुपैयाँ नगदै दिएको आकाशको भनाइ छ ।

उजुरीसँगै आकाशले युरिकाको बैंक खातामा रकम पठाएको बैंकको स्टेटमेन्ट, युरिकाले बनाएका दुईवटा नागरिकता लगायतका प्रमाण पनि पेश गरेका थिए ।

युरिकाको सात वर्ष पहिले काठमाडौँको महाबौद्ध निवासी भुपेन्द्र राजभण्डारीका छोरा लोकेन्द्र राजभण्डारीसँग बिहे भइसकेको थियो । उनका ६ वर्षका छोरा पनि छन् ।annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses