भारतमा साउदी कुटनीतिकबाट शोषणमा परेका दुई नेपाली महिलाबारे थप रहस्य खुल्दै
मुम्बाई साउदीका कुटनितीज्ञको कब्जाबाट छुटेका दुई महिलालाई नेपालकै एक महिलाले बेचेको भारतीय प्रहरीले बताएको छ । यसअघि साउदी कूटनितीज्ञले उनीहरुमाथि पटक पटक बलात्कार गरेका थिए ।प्लेसमेन्ट एजेन्सीका एक व्यक्तिले यि दुई महिलालाई उनीहरुको छालाको रंग हेरेर कूटनितीज्ञ समक्ष पठाउनका लागि छानेका थिए । भारतीय प्रहरीले यस सम्बन्धी उजूरी लिइसकेको छ ।
तर नेपालको परराष्ट मन्त्रालयसँग अनुमति लिएपछि मात्रै थप कारबाही अघि बढाउने बताइएको छ । यसअघि भूकम्पपछि घर भत्किएका कारण गरिबी टार्न यि दुई महिला भारत गएको बताइएको थियो ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएअनुसार दुई महिलामध्ये एक महिलाको आफ्ना पतिसँग सम्बन्ध विच्छेद भइसकेको छ । उनकी एक छोरी पनि छिन् । उनले छोरीका लागि पैसा कमाउन भारत आएको बताएकी छिन् । त्यस्तै अर्की महिलाका
पति बिरामी छन् । उनका पतिलाई क्यान्सर भएको छ । पतिको उपचारका लागि भारत गएको उनले प्रतिक्रिया दिएकी थिइन् । उनीहरु दुबैलाई बुधबार राती नेपाल फर्काइएको थियो । प्रहरीले उनीहरु दुबैलाई जागिर दिलाइदिने प्रलोभनमा एक नेपाली महिलाले भारत ल्याएको जनाएको छ ।
३० हजार थियो तलब
भारतीय प्रहरीले दिएको जानकारीअनुसार दुई महिलालाई महिनाको ३० हजार तलब दिने बताइएको थियो । बेचिनुअघि उनीहरु गुडगाँउको एउटा सानो डेरामा बसेका थिए । त्यहाँ अन्य २८ महिला समेत थिए । उक्त डेरामा रहेका महिलाहरुमध्ये अधिकांश नेपाली रहेको बताइएको छ । त्यहीँबाट छानेर अनवरले दुई महिलालाई साउदीका कूटनितीज्ञ समक्ष लगेका थिए । लाइटहाउस फाउन्डेशनकी तिज्या लामाले बताएअनुसार दुई महिलालाई छुटाउँदा उनीहरुको अवस्था निकै खराब थियो । कपडा च्यातिएको थियो र उनीहरुसँग चप्पल समेत थिए । उनीहरु मानसिक तथा शारिरीक रुपमा विक्षिप्त रहेको समेत लामाले बताएकी छिन् । उनीहरुले नै लामालाई घर फर्काइदिन आग्रह गरेका थिए । भारतको गुडगाउँ प्रहरीले यो घटना ठूलो यौनधन्दासँग जोडिएको आशंका गरेको छ । छुटेपछि दुई महिलाले आफूहरुमाथि जनावरलाई भन्दा पनि नराम्रो व्यवहार गरिने गरेको बताएका छन् । उनीहरुले भनेका छन्, जब कूटनीतिज्ञ र उनकी पत्नि बाहिर जान्थे त्यतिबेला हामीलाई एउटा कोठामा बन्द गरिन्थ्यो । हामीलाई दिल्ली, मुम्बई र श्रीलंका समेत लगियो । त्यसपछि हामी साउदी अरब गयौँ । साउदीबाट फर्किएपछि नै बलात्कारको शृंखला सुरु भयो । बलात्कार प्राय राती तथा कहिलेकाँही दिउँसै हुन्थ्यो । त्यस्तो समयमा कूटनीतिज्ञका छोरी तथा श्रीमती बाहिर हुन्थे । कहिलेकाँही हामीलाई एकै रात १० जनाले समेत बलात्कार गरे ।
कल्पना नामकी नेपाली महिलाले बेचेकी थिइन्
जागिर दिलाइदिने बहानामा उनीहरुलाई भारत लग्ने नेपाली महिलाको नाम कल्पना रहेको बताइएको छ । कल्पनाले नै उनीहरुलाई प्लेसमेन्ट एजेन्सीसम्म पुर्याएको भारतीय प्रहरीले जनाएको छ । उनले त्यसबापत २ लाख भारु कमिसन समेत लिएको भारतीय प्रहरीको दाबी छ । कल्पनाले अहिलेसम्म २८ नेपाली महिलालाई भारतमा बेचिसकेको भारतीय प्रहरीले जनाएको छ । कल्पनाले प्लेसमेन्ट एजेन्सीमा लगेपछि अनवर नामक एक भारतीयले उनीहरुलाई कूटनीतिज्ञ समक्ष पुर्याएका थिए । उनीहरुसँगै अन्य ३० महिला समेत थिए ।
प्रहरी अनवरलाई खोज्दै
भारतीय प्रहरीका अनुसार उनीहरुलाई कूटनीतिज्ञसमक्ष लग्ने अनवर गुडगाँउमा बस्छन् । उनले नेपाल तथा भारतकै उत्तराखन्डका युवतीहरुलाई त्यसरी बेच्ने गरेको छल । उनले राम्रा महिलाहरुलाई विदेशमा बेच्ने गरेको प्रहरीको दाबी छ । कम सुन्दर युवतीहरुलाई भने उनले दिल्लीमा काम मिलाईदिने गरेका छन् ।www.ratopati.com
0 comments
Write Down Your Responses