‘आन्दोलनमा मरेका परिवारलाई ५० लाख नदिए राजेन्द्र महतोले देश छोडेर भाग्ने अवस्था आउछ’
विश्वराज पछल्डङ्ग्या
नेपालगञ्ज, २४ भदौ । नेपालमा बहुभाषिक, बहुजातिय र बहुसँस्कृतिको समिश्रण भएकोले नेकपा (एमाले) ले जातिय, क्षेत्रीय र भेगीयताको आधारमा संघीय राज्य हुन नहुने पक्षमा अडिग भएर लागेको युवा संघ नेपालका कोषाध्यक्ष माधव बास्तोलाले बताएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमपछि देशमा भइरहेको हिंसात्मक र अमानवीय घटनालाई मध्यनजर गरी शान्ति र सद्भावका लागि पश्चिममा खटिएका कोषाध्यक्ष बास्तोलाले जातिय, क्षेत्रीय र भेगीय नाराले विद्यमान शान्ति, सद्भाव विग्रन गई समाजमा द्वन्द्व हुने भएकोले जातिय आन्दोलनमा नलाग्न सुझाव दिए ।
आन्दोलनका क्रममा मरेकालाई ५० लाख दिने राजेन्द्र महतोले दिएको अभिब्यक्ति अनुसार मृतकका परिवारलाई दिन लगाउने अभियान युवा संघले थाल्ने जानकारी दिए । ‘आफैले दिएको अभिब्यक्ति महतोले पूरा गर्न नसके देश छोडेर भाग्ने अवस्था आउन सक्छ,’ बास्तोलाले भने, ‘गलत अभिब्यक्ति दिनेहरु विरुद्ध हाम्रो अभियान जारी छ ।’
तत्कालिन माओवादीले रोपेको जातियताको नाराले देश विखण्डनको दिशातर्फ उन्मुख भएको बताउँदै उनले गलत फल रोपेका कारण देशले अहिलेको अवस्था भोगिरहेको धारणा राखे ।
उनले राष्ट्र र राष्ट्रियता जोगाउन युवा संघ नेपालले कुनै कसर बाँकी नराख्ने बताउँदै शान्ति, सद्भाव कायम गर्नका लागि युवा संघ तराईमा परिचालन भएको जानकारी दिए । ‘राष्ट्र र राष्ट्रिय अखण्डताको रक्षाका लागि युवा संघका कार्यकर्ता कात्रो बाँधेर सडकमा उत्रिन तयार छन्,’ उनले भने ।
संविधान निर्माण अन्तिम चरणमा पुगेको बेला केही विदेशी दलालहरु संविधान बन्न नदिने हर्कतमा लागेको उनको भनाई थियो । उनले भने, ‘अस्थिरताको फाइदा उठाउन पल्केकाहरु संविधान बन्न नदिन विभिन्न किसिमका हर्कत गरिरहेका छन् । यसबाट युवा संघ चनाखो भएर अगाडी बढेको छ ।’
सीमाङ्कन र नामकाङ्कनको विषयलाई लिएर तराईमा बलेको आगो निभाउन युवा संघ तराईमा आएको उनले जिकिर गरे । तराईमा जारी आन्दोलन भड्काउन युवा संघ परिचालन भएको आरोप सरासर गलत भएको उनले स्पष्ट पारे । बास्तोलाले भने, ‘जातिय र क्षेत्रीय आन्दोलनका कारण तराईमा बलेको आगोलाई निभाएर शान्ति, सद्भाव कायम गराउन हामी यहाँ आएका हौँ । जातिय सद्भाव विगार्न होइन ।’
कोषाध्यक्ष बास्तोलाले आन्दोलनका क्रममा मरेकालाई ५० लाख दिने राजेन्द्र महतोले दिएको अभिब्यक्ति अनुसार मृतकका परिवारलाई दिन लगाउने अभियान युवा संघले थाल्ने जानकारी दिए । ‘आफैले दिएको अभिब्यक्ति महतोले पूरा गर्न नसके देश छोडेर भाग्ने अवस्था आउन सक्छ,’ बास्तोलाले भने, ‘गलत अभिब्यक्ति दिनेहरु विरुद्ध हाम्रो अभियान जारी छ ।’
एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङले बर्गीय मुक्तिका लागि लड्ने कम्युनिष्टहरु जातिय आन्दोलनमा लाग्न नहुने बताए । उनले बर्गीय मुक्तिबाट मात्र जातिय मुक्ति सम्भव भएको बताए ।
युवा संघका केन्द्रीय सदस्य रविन्द्र लम्सालले सामाजिक सद्भावका लागि युवा संघ बलिदानी दिन तयार रहेको बताए । विभिन्न नाममा भइरहेका आन्दोलनले देशमा लागेको आगो निभाउने अभिभार युवाको काँधमा आएको उनले धारणा राखे । उनले भने, ‘सर्वसाधारणलाई भुल्भुलैयामा पारी आन्दोलनमा लगेर गलत क्रियाकलाप गराउने विरुद्ध युवा संघ कडा रुपमा प्रस्तुत हुने छ ।’
युवा संघ बाँकेका सचिव खेमराज शर्माको अध्यक्षतामा भएको भेलामा एमाले भेरी अञ्चल कमिटीका पूर्व सदस्य रामदास थारु, बाँकेका सचिवालय सदस्य पदम धिताल, क्षेत्र नं. १ का अध्यक्ष घननाथ खनाल, युवा संघ बर्दियाका अध्यक्ष दुर्गा थापा, अनेरास्ववियु बाँकेका सचिव टेकेन्द्र मल्ल लगायतले भनाई राखेका थिए ।
ainiknepal.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses