गृहमन्त्रीका पिएले क्वार्टरमै बोलाएर हतकडी लगाए’
काठमाडौँ, २७ भदौ । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको क्वार्टरमा बोलाएर बामदेवका स्वकीय सचिव सञ्जय भण्डारीले एमाले प्युठानका कार्यकर्ता भानु भट्टराईलाई हतकडी लगाएर हनुमान ढोका पुर्याएका छन् ।एमाले उपाध्यक्ष समेत रहेका गृहमन्त्री गौतमकै निर्वाचन क्षेत्र प्युठानका एमाले कार्यकर्ताले आफूलाई गृहमन्त्रालय भित्रै अन्याय भएको गुनासो गरे । अनेरास्ववियु प्युठान काठमाडौँ सम्पर्क कमितिको अध्यक्ष समेत रहेका भानुले भने, ‘मैले गृहमन्त्रालय भित्र अन्याय सहनु पर्यो ।’ अनाहकमा भानुलाई प्रहरीले बिहिबार चार बजे गृहमन्त्रीको क्वार्टरबाटै हथकडी लगाएर हनुमान ढोका लगेको थियो । भट्टराई पक्राउ गराउनमा गौतमका पिए भण्डारीको हात रहेको खुलासा भएको छ । भानुका अनुसार भण्डारीले भट्टराईलाई गृहमन्त्रीको क्वार्टरमा बोलाएर लागी गर्दै प्रहरीलाई हतकडी लगाउन लगाएका थिए ।
बिहिबार गौतमका पिए भण्डारीले निम्ता गरेपछि गौतमको क्वार्टर पुगेका भानुलाई गेटपास समेत भण्डारीले नै मिलाइदिएका थिए । गेटपास लिएर क्वार्टर प्रवेश गरेका भानुले केही बेर भण्डारीसँग राम्रो गफ गरे । तर, गफगाफकै क्रममा भण्डारीले चार जना प्रहरी बेलाएर भानुलाई पक्राउ गर्न लगाए ।
भानुले भने, ‘एकाएक प्रहरीले मेरो कठालो समातेर भ्यानमा कोचे । चार जना मध्ये एक जना प्रहरी पोशाकमा थिए । अन्य तीन जना सादा पोशाकमा थिए ।’
भट्टराईले गृहमन्त्रीको क्वार्टरमा बोलाएर आफूलाई बिना कारण हनुमानढोका पुर्याइएको प्रति आपत्ति जनाएका छन् । भानु भन्छन्, ‘बिहिबार गृहमन्त्रीको क्वार्टरबाट साँझ चार बजे पक्राउ परँे । प्रहरीले विभिन्न खालका गाली गलौज गरेर मानसिक पीडा दियो ।
केही समय हनुमान ढोकामा राखेर साँझ सात बजेपछि छोडिदियो । मैले केही गल्ती गरेकै छैन, मलाई किन पक्राउ गरेको भन्दा प्रहरीले माथिको आदेश भने ।’
भानुले हनुमान ढोका पुगेपछि आफूलाई हनाहकमा भण्डारीले प्रहरी लगाएको भनेर गृहमन्त्री गौतमका पहिलो नम्बरका स्वकीय सचिव विजयविराज विष्टलाई फोन गरेका थिए । विजयले समेत मैले केही गर्न नसक्ने बताएको भानुले सुनाए ।
आफूलाई अपराधीको शैलीमा विनाकारण पक्राउ गरिएको भन्दै भट्राईले गृहमन्त्रालयप्रति नै आपत्ति जनाएका छन् । मन्त्री क्वार्टरबाटै पक्राउ परेका भट्टराई प्युठानका एमाले कार्यकर्ता हुन् । उनी अनेरास्ववियु प्युठान–काठमाडौँ सम्पर्क कमिटीका अध्यक्षको रुपमा कार्यरत छन् ।
भट्टराई पक्राउ पर्नुको रहस्य
भट्टराई पक्राउ पर्नुको रहस्य भने अलि फरक भएको खुलासा भएको छ । अर्का एमाले कार्यकर्ता लक्ष्मण आचार्यले कसैको पैसा हिनामिन गरेका रहेछन् । पीडितले गृहमन्त्रालयमा उजुरी गरेपछि उक्त केश मिलाउने नाममा लक्ष्मणको कल डिटेल हेर्दा भानु भट्टराईसँग धेरै सम्पर्क भएको देखिएको थियो । सोही अनुसार गृहमन्त्रीका पिएले आफ्नै हातमा कानुन भए झै गरी भानुलाई गृहमन्त्रीकै क्वार्टरमा बोलाएर प्रहरी लगाएका रहेछन् ।
गृहमन्त्रीका पिए भण्डारीले भानुले बिचौलियाको काम गरेको भन्दै पक्राउ गराएको बुझिएको छ । यता भानुले भने लक्ष्मणसँग आफ्नु कुनै कारोबार नभएको बताएका छन् ।
भानुका अनुसार लक्ष्मण अहिले उनीसँग समेत सम्पर्कमा छैनन् । भानु भन्छन्, ‘लक्ष्मणले दुई चार महिना अघि मलाई फोन गरेको नाममा मलाई बिचौलिया भनेर गृहमन्त्रालयको क्वार्टरमै बोलाएर पक्राउ गर्ने अधिकार गृहमन्त्रीका पिएलाई कसले दियो ?’
भानुले सामान्य सोधपुछ गर्न सकिने विषयमा गृहमन्त्रीका पिएले आफूमाथि अन्यय गरेको गुनासो गरेका छन् ।
www.etajakhabar.com


0 comments
Write Down Your Responses