कुटनीतिज्ञको यौनशोषणमा परेको महिलाको उद्धार
काठमाडौं: लोग्नेको मृत्युपछि मोरङकी ५० वर्षीया रमा (नाम परिवर्तन) मा जिम्मेवारी बढ्यो। दुई बच्चाको पालपोषण गर्न उनी साउदी अरेबियामा घरेलु कामदारमा जाने निर्णयमा पुगिन् । नेपाली एजेन्टले दुई लाख रुपैयाँसम्म मासिक तलब हुने आश्वासनसमेत रमालाई दिए।

रमाजस्तै बागलुङकी ३० वर्षीया साइली (नाम परिवर्तन) को परिवारमा पनि गरिबीको पीडा थपिएको थियो। लोग्नेको एपेन्डिसाइट अप्रेसन ऋण खोजेर गरिन्। एउटा बच्चाकी आमा साइलीलाई लोग्नेको अप्रेसन गर्दाको ऋण र परिवार धान्नुपर्ने जिम्मेवारी आएपछि विदेश जाने सोचमा पुगिन्।


गत वैशाखमा काठमाडौंमा रमा र साइलीले नेपाली एजेन्टसँग भेट गरे। एजेन्टले जेठ ४ गते सडक मार्ग हुँदै भारतको दिल्ली पुर्‍याए।


दिल्लीबाट मुम्बईको एक होटलमा १५ दिन उनीहरूलाई राखियो। प्रहरीसँगको बयानमा रमा र साइलीले दिल्लीस्थित साउदीका दलाल र साउदी दूतावासका कूटनीतिज्ञसँगको साँठगाँठपछि कूटनीतिज्ञले साउदी लिएर गए।

साउदीमा होटलमा राखिएका उनीहरूमाथि लगातार यौनशोषण भयो। काम गर्ने भन्दै घरमा पुर्‍याएपछि एक महिनासम्म उनीहरूले घरमालिक मात्रै नभई आफन्तसम्मको 'ग्याङरेप' को सिकार हनुपर्‍यो। साउदीमा एक महिनासम्म निरन्तर यौनशोषण भएपछि तिनै कूटनीतिज्ञले गत असारको मध्यतिर भारत फर्काए।

भारतको गुडगाउँस्थित घरमा राखिएका रमा र साइँली पुनः यौनहिंसाको सिकार हुनुपर्‍यो। ती कूटनीतिज्ञले पनि यौनशोषण गरे। सामान्य लेखापढ मात्रै भएका रमा र साइलीको कमजोरीको फाइदा उठाउँदै कूटनीतिज्ञले साउदी अरेबियाको जेदादेखि भारतको गुडगाउँ र नैनितालसम्म पुर्‍याएर यौनशोषण गर्न थाले।


भारतीय प्रहरीको सहयोगमा बिहीबार अपराह्न भारतबाट एयर इन्डिगोमार्फत नेपाल फर्काएका रमा र साइलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै केन्द्रीय अनुसन्धान ब्युरोमा पुर्‍याइएको छ। 'हामीले साउदी र भारतमा नर्कको जीवन बिताउनुपर्‍यो। अरू नेपाली महिलाले यस्तो भोग्नु नपरोस्’, रमा र साइलीले प्रहरीसमक्ष भनेका छन्।

उनीहरूको शरीरभर नीलडाम छ। 'हामीहरूले दर्दनाक पीडा र यौनशोषणको सिकार हुनुपरेको पीडा सुन्यौं। नेपालबाट भारत पठाउने दलालको खोजी गर्छौं', ब्युरोकी प्रवक्ता एसपी किरण बज्राचार्यले भनिन्।

रमा र साइलीका अनुसार दिल्ली प्रहरीले कडाइ गरेपछि दलालले श्रीलंका हुँदै साउदीमा युवती तस्करी गर्दै आएका छन्। श्रीलंकामा थुप्रै युवतीलाई यसैगरी बन्धक बनाइएको जानकारी पनि उनीहरूले दिएका छन्।


नेपाली युवती बलात्कारबारे भारतद्वारा साउदी राजदूतसँग स्पष्टीकरण
काठमाडौं: नेपालका दुई युवती साउदी कूटनीतिज्ञद्वारा भारतमा बलात्कृत भएको विषयमा भारतीय विदेश मन्त्रालयले साउदी अरेबियासँग जबाफ मागेको छ।


भारतीय विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल जयदीप मजुमदारले नयाँदिल्लीस्थित भारतका लागि साउदी अरेबियाका राजदूत साउद मोहम्मद अलसातीसँग बिहीबार स्पष्टीकरण लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले उच्च स्रोतको हवाला दिँदै बिहीबार जनाएअनुसार नेपालले उक्त घटनाको अनुसन्धान गर्न नयाँदिल्लीमाथि तीव्र दबाब दिएका कारण विदेश मन्त्रालयले साउदी राजदूतलाई बोलाएर स्पष्टीकरण लिएको हो।

‘साउदी अरेबियाका आरोपित ती कूटनीतिज्ञ अहिलेसम्म घटनामा पक्राउ नपर्नुको कारण उनले पाइरहेको कूटनीतिक उन्मुक्ति हो। तर भारतले अब साउदी अरेबिया सरकारलाई ती कूटनीतिज्ञमाथिको कुटनीतिक उन्मुक्ति हटाउन आग्रह गर्न सक्छ।


साउदीले भारतको प्रस्ताव अस्वीकार गरेमा भारतले ती कूटनीतिज्ञलाई देशनिकाला पनि गर्न सक्छ', दिल्लीस्थित स्रोतलाई उल्लेख गर्दै सिन्हवाले लेखेको छ।

गुडगाउँमा बस्दै आएका साउदी अरेबियाका एक कूटनीतिज्ञकहाँ स्थानीय कर्मचारीका रूपमा काम गर्दै आएका दुईजना नेपाली युवतीमाथि ती कूटनीतिज्ञ र उनका साथीले बलात्कार गरेको तथा यातना दिने गरेको सार्वजनिक भएको थियो। ती साउदी कूटनीतिज्ञ गुडगाउँस्थित निजी फ्ल्याट छाडेर अहिले दिल्लीस्थित साउदी दूतावासमै बसिरहेका छन्।

साउदी कूटनीतिज्ञको निजी फ्ल्याटबाट उद्धार गरिएका ती दुई नेपाली युवतीले साउदी कूटनीतिज्ञ र उनका साथीले आफूमाथि बारम्बार बलात्कार गरेको तथा चरम यातना दिएको बताएका थिए।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले साउदी राजदूतलाई बोलाएर घटनाबारे जानकारी मागिएको बताउँदै घटनामा अनुसन्धान गरिरहेको हरियाणा प्रहरीलाई सहयोग गर्न साउदी दूतावासलाई आग्रह गरिएको ट्विटमार्फत उल्लेख गरेका छन्।

'चिफ अफ प्रोटोकलले साउदी राजदूतलाई डाकेर नेपाली दुई नागरिकसँग सम्बन्धित घटनामा हरियाणा प्रहरीलाई सहयोग पुर्‍याउन साउदी दूतावासलाई आग्रह गर्नुभयो' प्रवक्ता स्वरूपले ट्विटमा भनेका छन्।

साउदी अरेबियाको दिल्लीस्थित दूतावासले भने आफ्ना कूटनीतिज्ञको घटनामा कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses