गाडीमा आगजनी गर्ने तमलोपाका नेता जितेन्द्र प्रहरी नियन्त्रणमा
सिमरा : बाराको लिपनीमालमा रहेको उद्योग र गाडीमा आगजनी गरेको भन्दै प्रहरीले तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनललाई नियन्त्रणमा लिएको छ ।पथलैया–वीरगन्ज सडकखण्डमा अन्तर्गत लिपनीमालमा रहेको दाल उद्योग र गाडीमा आगजनी गरेको भन्दै ईलाका प्रहरी सिमराबाट खटिएको प्रहरी टोलीले सोनललाई नियन्त्रणमा लिएको हो ।
सोनलसँगै तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष नवलकिशोर सिंह पनि पक्राउ परेका छन् । पक्राउ परेका सोनल र सिंहलाई ईलाका प्रहरी कार्यलय सिमरामा राखिएको छ ।
इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले बन्द गराउने क्रममा उद्योग र गाडीमा आगो लगाएपछि उनीहरूलार्इ नियन्त्रणमा लिइएको बताए ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक कारवाही अघि बढाइने खड्काले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका सोनलले मोटरसाईकल जुलुस निकाल्ने क्रममा प्रहरीले आफूलाई पक्राउ गरेको बताए ।
मोटरसाइकल जुलुस निकाल्ने क्रममा मधेसी मोर्चाका बन्दकर्ताले आधा दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका थिए । ना५ख ७३५ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।
आगजनीबाट ट्रकको केही भाग जलेको छ । वीरगन्जबाट आएको वारुणयन्त्रणको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ट्रकमा लागेको आगो निभाएका थिए ।
पछिल्लो समय शान्त देखिएको पथलैया–वीरगन्ज सडकखण्ड मंगलवार केही तनावग्रस्त बन्न पुगेको छ ।
बन्दकर्ताले जितपुर, परवानीपुर, लिपनीमाललगायतका क्षेत्रमा प्रदर्शन गरेपछि त्यस क्षेत्र केही तनावग्रस्त बन्न पुगेको हो ।
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखी उद्योग बन्द गराउदै हिडेका थिए । जुलुस निकाले बन्द गर्दै हिडेका मोर्चाका कार्यकर्ता तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरीले धरपकड गरेको हो ।
धरपकड गर्ने क्रममा मोर्चाका केही कार्यकर्ता घाईते भएका छन् । मोर्चाका कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि राजमार्ग क्षेत्रमा प्रहरी खटाइएको छ ।
प्रदर्शनकारीले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए भने प्रहरीले बल प्रयोग गर्दै सडकमा बालेको टायर हटाएका थिए ।
annapurnapost.com


0 comments
Write Down Your Responses