जिल्ला टुक्राएको विरोधमा बागलुङबासी सडकमै सुते
पर्वत : जिल्ला टुक्राएको विरोधमा १४ दिनदेखि आन्दोलनमा उत्रिएका बागलुङबासीले शनिबार सडकमै सुतेर विरोध जनाएका छन् ।बागलुङ टुक्राएको विरोधमा नागरिकहरु सडकमा सुतेर विरोध प्रर्दशन गरेका हन् । बागलुङलाई दुई प्रदेशमा राखेको विरोधमा अनिशिचतकालीन बन्दसहित आन्दोनलका कार्यक्रम गर्दै आएका छन् ।
बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा महिला र पुरुष बागलुङ बजारको सडकमा सुतेका थिए । लोकतान्त्रिक चोकदेखि धौलागिरी चोक हुँदै जीपपार्क चोकसम्म सडकमा सुतेका हुन् ।
‘समग्र बागलुङ’ लाई प्रदेश नं. ४ मा राख्न माग गर्दै कांग्रेस, एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा र अखण्ड पार्टी लगायतका दलले नेतृत्व गरेको आन्दोलनमा उद्योग बाणिज्य संघ, गैर सरकारी संस्था महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल बार एसोसिएसन र पत्रकार महासंघ लगायतका संस्थाले ऐक्यवद्धता जनाउँदै आएका छन् ।
‘बागलुङ टुक्राउन पाइँदैन, दाङ हामी गइँदैन, शीर्ष नेतृत्व होसियार,’ लेखेका प्लेकार्ड टाँसेर उनीहरु पल्टिएका थिए ।
निरन्तरको बन्दले बागलुङ जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दले सवारी साधन संचालन भएका छैनन् । बागलुङ बजार, गल्कोट हटिया, कुश्मिशेरा, बरेङ, खरवाङ, भिमगिठे र बुर्तिवाङ लगायतका बजार बन्द छन् ।
बन्दले शैक्षिक संस्था, उद्योग र कलकारखाना पनि ठप्प छन् । दुई साता भन्दा बढी शैक्षिक संस्थाहरु ठप्प हुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
उता टुक्राउने निर्णय सच्चाउन माग गर्दै बागलुङसहित धौलागिरीका १७ जना सभासदले पनि दबाब दिँदै आएका छन् । यसअघि आन्दोलनकारीले शुक्रवार अर्धनग्न जुलुस र बिहीबार साङ्ले जुलुस लगायतका बिरोधका कार्यक्रम गर्दै आएका छन् ।
www.annapurnapost.com
0 comments
Write Down Your Responses