आइतबारबाट मतदानमा जाने निर्णय
काठमाडौं : मुख्य तीन दलले संविधान निर्माण प्रकियालाई आइतबारबाट मतदानमा लैजाने निर्णय गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहानदेखि भएको तीन दलको शीर्ष बैठकले संविधान निर्माणको प्रक्रियालार्इ दुर्इ दिन रोकेर आन्दोलनकारीसँग वार्ता गर्ने निर्णय गरेका हुन्। वार्ता भए पनि नभए पनि आइतबारबाट मतदान प्रकिया नरोकिने निर्णय दलहरुले गरेका छन्।
बालुवाटारमा भएको आजको बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत तीन दलका नेताहरुको उपस्थिति थियो ।
बैठकबाट बाहिरिँदै एमालेका उपाध्यक्ष भीम रावलले मधेसी दलसहितका आन्दोलनकारीसँग दुर्इ दिनसम्म वार्ताको प्रयास भइरहेको जनाउँदै आइतबारबाट मतदान प्रकियामा जाने निर्णय भएको जानकारी दिए ।
'मधेसीसहितका आन्दोलनकारी दलसँग वार्ताको प्रयास भइरहेको छ', उपाध्यक्ष रावलले भने, 'हामीले यो निर्णय कसैको दवाब र प्रभावमा गरेका होइनौं, संविधानको प्रक्रियासँगै वार्ता पनि जारी राख्ने निर्णय भएको छ ।'
कांग्रेस महामन्त्री तथा संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले असन्तुष्ट पक्षहरुलार्इ समेट्ने अन्तिम प्रयासस्वरुप दुर्इ दिन कुर्ने निर्णय भएको जानकारी दिए ।
'यो अन्तिम अवसर हो, दुर्इ दिनमा वार्ता भएपनि नभए पनि प्रक्रियामा जाने निर्णय भएको छ', सिटौलाले भने ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिको प्रयास सकारात्मक हुँदै गएकाले दुर्इ दिन पर्खेर मतदान प्रक्रियालार्इ अघि बढाइने जानकारी दिए ।
संविधानसभाको कार्यसूची अनुसार संविधानको परिमार्जित विधेयक, २०७२ माथि शुक्रबार दफाबार छलफल सकेर मतदान गर्ने कार्यक्रम थियो ।annapurnapost.com


0 comments
Write Down Your Responses