ओलीले भारतीय राजदूतलाई भने–संविधानको प्रक्रिया रोकिन्न
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जारी संविधान निर्माणप्रक्रिया नरोक्ने स्पष्ट पारेका छन् ।आन्दोलनरत मधेसी दलका मागलाई सम्बोधन गर्न संविधान निर्माण प्रक्रिया रोक्नुपर्ने आशयसहित बालकोट पुगको भारतीय राजदूत रञ्जीत रेलाई ओलीले यो जबाफ दिएका हुन् ।
संविधान निर्माण प्रक्रिया रोकेर मधेसी दलका माग सम्बोधन गरी अघि बढ्न सुझावसहित बालकोट पुगेका राजदूत रेलाई अध्यक्ष ओलीले अन्तिम अवस्थामा आएर संविधान निर्माण नरोकिने प्रष्ट पारेका हुन् ।
‘संविधान निर्माणको प्रक्रिया रोकिन्न । अहिले चलिरहेको प्रक्रियाबाट संविधान जारी गर्छौं’, रञ्जीत रेसँगको भेटमा अध्यक्ष ओलीको भनाइ उधृत गर्दै उनका स्वकीय सचिव रमेश आचार्यले अन्नपूर्णसँग भने, ‘आन्दोलनरत मधेसी दललाई सरकारले पटक पटक वार्तामा बोलाउँदा पनि आउन मानेका छैनन् । अहिलेकै प्रक्रियामा रहेर पनि उनीहरुका माग सम्बोधन गर्न सकिन्छ ।’
मधेसी दलले उठाएका मागबारे छलफल गर्न पार्टीको तर्फबाट, नेताको तर्फबाट र व्यक्तिगरुपमा पनि वार्तामा डाक्दा उनीहरु नआएकाले समस्या भएको ओलीको भनाइ थियो ।
‘मधेसलगायतमा चलेको आन्दोलनमा जे कुरा उठेको छ’, ओलीले रेसँग भने, ‘त्यसलाई सम्बोधन गर्न सरकारको तर्फबाट फार्टीको तर्फबाट, पार्टीका नेताको तर्फबाट र व्यक्तिगत पहलमा वार्तामा आउन भनेका छौं । तर उहाँहरु आउन मान्नु भएको छैन ।’
अध्यक्ष ओलीले मधेसीसहितले उठाएका मागलाई संविधान जारी गरिसकेपछि संशोधनमार्फत सम्बोधन गर्न सकिने विकल्प अझै बाँकी रहेको ओलीको भनाइ थियो ।
आधा घन्टासम्म भएको अध्यक्ष ओलीसँगको भेटमा राजदूत रेले घुमाउरो भाषामा मधेसी दलका मागलाई सम्बोधन गर्न संविधान निर्माणप्रक्रिया रोक्नुपर्ने सुझाव दिएका थिए ।
‘सबैको सहमति र सबैको सहभागितामा संविधान आउनुपर्छ’, राजदूत रेले ओलीसँग भने, ‘संविधान आउनुमात्रै ठूलो कुरा होइन । सबैलाई सहमति गराएर संविधान ल्याउनुस् ।’
राजदूत रेले शुक्रबार बिहानै एमाओवादीका अध्यक्ष प्रचण्डलाई पनि भेटेर मधेसी दलको माग सम्बोधन गर्न जारी संविधान निर्माण रोक्न आग्रह गरेका थिए । annapurnapost.com


0 comments
Write Down Your Responses