मधेसी नेताको जवाफ– ‘काठमाडौं जाँदैनौं, बरु यहीं गोली खान्छौं’
कपिलवस्तु । काठमाडौंमा प्रमुख तीन दलले संविधानसभाको जारी प्रकृया दुई दिन रोक्ने निर्णय गरेको तीन घण्टा पछि आन्दोलनरत मधेसवादी दलका नेताहरुले वार्तामा नजाने बताएका छन् ।कपिलवस्तुको तौलिहवामा आयोजित विरोध सभामा बोल्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सहमति कायान्वयन नगर्ने बेइमान तीन दलसँग वार्तामा जानुको औचित्य नहुने बताए ।
उनले विगतमा गरिएका ८, १६ र २२ बुँदे कार्यान्वयन नभएसम्म वार्ता नहुने बताए । उनले वार्ताकालागि भन्दै धाएर काठमाडौं जाने फुर्सद आफुहरुलाई नभएको बताउँदै बरु आन्दोलनमै गोली खान तयार रहेको बताए ।
संयुक्त मधेसी मोर्चाले आयोजना गरेको कार्यक्रममा महतोले सक्ने भए मधेसमा आएर वार्ता गर्न चुनौति समेत दिए । कार्यक्रममा संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले आफुहरुको सर्त पुरा नभएसम्म वार्तामा नजाने बताए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले अझै वार्ताको वातावरण नबनाएकाले काठमाडौं नजाने बताए । उनले सरकार मधेसका मुद्दामा उदासीन भएको आरोप समेत लगाए ।
त्यस्तै तराई मधेस सद्भावनाका अध्यक्ष महेन्द्र रायले तीन दलले प्रकृया रोकेको नाटक गरेर आफुहरुको आन्दोलनको अवमुल्यन गरेको बताए । मधेसवादी दलका नेताहरुले मधेसको समस्या समाधानकालागि मधेसमै वार्ता हुनुपर्ने बताएका थिए ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses