सेना सडकमा निस्केपछि वीरगन्ज सुनसान
पर्साका गाउँ गाउँमा विरोध जुलुसवीरगन्ज : प्रहरी र प्रदर्शनकारीको हिंसात्मक झडपले मंगलबार दिनभर तनावग्रस्त वीरगञ्ज बुधबार बिहानैदेखि सुनसान देखिएको छ ।
वीरगन्जमा स्थानीय प्रशासनले सोमबारदेखि लगाएको अनिश्चितकालीन कर्फ्यू बुधबार तेश्रो दिन पनि जारी छ ।
यस्तै स्थानीय प्रशासनले वीरगन्जलाई मंगलबारदेखि दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरेको छ । वीरगन्जका मुख्य सडक र टोलहरुमा बुधबार बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
वीरगन्जमा बुधबार बिहान नेपाली सेनाले पनि केही बेर पैदल गस्ती गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय पर्साले सेना परिचालन नगरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले सेना परिचालन भएको हल्ला चलेपनि वीरगञ्जमा सेना परिचालन नभएको बताए । उनले वीरगन्ज नाकामा रोकिएका मालवाहक गाडी स्कर्टिङ गरेर पठाउने क्रममा केही बेर सेनाले गस्तीमात्र गरेको बताए ।
वीरगन्जस्थित नेपाली सेनाको बरख गणका गणपति प्रमुख सेनानी सुरेश हमालले पनि वीरगन्जमा सेना परिचालन नभएको बताए । सवारी साधनको स्कर्टिङ भने सेनाले नै गरेको उनले बताए । कर्फ्यू जारी रहेकाले घर बाहिर ननिस्कन सर्वसाधरणलाई प्रहरीले चेतावनी दिइरहेको छ ।
पर्साका गाउँ गाउँमा विरोध जुलुस
यसैबीच आन्दोलनको समर्थन र प्रहरी दमनको विरोधमा पर्साको ग्रामीणक्षेत्रमा भने बुधबार बिहानैदेखि प्रदर्शन भइरहेको छ ।
वीरगञ्जको परवानीपुर, गण्डक, हिमाल आईरन, चैनपुर, नितनपुर लगायत क्षेत्रमा बिहानैदेखि प्रदर्शन शुरु भएको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिए ।
त्यस्तै आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै विरोधमा पर्साको पोखरीयामा बुधबार स्थानीय बासिन्दाले विहानैदेखि प्रदर्शन जारी राखेका छन् । स्थानीयवासीले गाउँ परिक्रमा गरी ठाउँ ठाउँमा टायर बालेर प्रर्दशन गरिरहेको स्थानीय दिपनारायण रौनियारले जनाएका छन् ।
बिन्दवासीनीको तिलावे पुल नजिक रहेको कांग्रेसका नेता स्वर्गीय आत्मराम ओझाको शालिक बुधबार प्रदर्शनकारीहरुले तोडफोड गरेका छन् । यसैगरी पर्साको परवानीपुरमा बुधबार स्थानीयले प्रहरीको दमनको विरोधमा लाठी जुलुश प्रदर्शन गरेका छन् ।
उनीहरुले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपि ओली र गृहमन्त्री वामदेव गौतमको पुत्ला दहन पनि गरेका छन् । यसैगरी पर्साको पटेर्वा सुगौलीमा रहेको इलाका प्रहरी कार्यालय बुधबार स्थानीयवासीले घेराउ गरेका छन् ।
करिब दुई सयको संख्याका स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेर प्रदर्शन गरिरहेको स्थानीय चिरन्जीवी यादवले जानकारी दिए । यस्तै पर्साको देउरवाना गाविसमा मधेसी दलका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका छन् । मधेसी दलको आन्दोलनको समर्थन गर्दै स्थानीय बासिन्दाले मनवा बजार बन्द गर्नुको साथै प्रर्दशन गरेका छन् ।
मंगलवार वीरगन्ज र कलैयामा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो भने ४० जना भन्दा बढी घाइते भएका थिए । मृतक चार जनाको शव नारायणी उपक्षेत्रिय अस्पतालमा र एक जनाको शव कलैया अस्पतालमा राखिएको छ ।
सरकारले मृतकहरुलाइ शहिद घोषणा नगरेसम्म शव नबुझने मृतकका आफन्तहरुले अडान लिएका छन् ।
मालबाहक सवारी गन्तव्यतर्फ
यसैबीच प्रहरीले आज विहान स्कर्टिङ गरेर वीरगञ्जबाट ठूलो संख्यामा मालबाहक सवारी साधनलाई विभिन्न गन्तव्यमा पठाएको छ । मुलुकको मुख्य भन्सार नाका वीरगन्जमा थन्किएका मालबाहक सवारी साधनलाई प्रहरी स्कर्टिङ्गमा गन्तव्यतर्फ पठाइएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशीलप्रसाद शर्माका अनुसार, आज कूल एक सय २९ मालबाहक गाडीलाई स्कर्टिङ गरि पठाइएको हो ।
इन्धनका टयांकर ७२ वटा, एलपी ग्यास बोकेका १८ वटा बुलेट, केरा बोकेका ९ ट्रक, ४ वटा नयाँ मिनी र केही कोइला तथा एचाआरसिट जस्ता औद्योगिक कच्चा पदार्थ बोकेका मालबाहक गाडी स्कर्टिङ गरेर पठाइएको शर्माले बताए ।
annapurnapost.com
0 comments
Write Down Your Responses