दंगाग्रस्त क्षेत्र घोषणासँगै बारामा कर्फ्यू
सेना परिचालनको तयारी, गोली हान्ने अनुमतिकलैया : संयुक्त मधेसी मोर्चाको प्रदर्शनका कारण तनावग्रस्त बाराको कलैया र राजमार्गक्षेत्रलाई स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गर्दै कफ्र्यु लगाएको छ ।
मोर्चा र प्रहरीबीचको झडपका क्रममा प्रदर्शनले स्थिति बिगे्रपछि जिल्ला प्रशासनले कार्यलयले कलैयादेखि पथलैयासम्मको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै रातिको समयमा कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले तनाव साम्य गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ‘ख’ अनुसार दंगाग्रस्त क्षेत्र घोषणा गरी कर्फ्यू आदेश जारी गरिएको बताए ।
पन्थीका अनुसार कलैयास्थित नेपाल टेलिकमको कार्यलयदेखि पश्चिम त्रिभुवन राजपथसम्म पुग्ने बिन्दुसम्मको सहायक राजमार्ग र दक्षिण परवानीपुरको ज्योति फार्मनजिकै रहेको मुक्ति आयल स्टोर्सदेखि पथलैयासम्मको त्रिभुवन राजपथलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
दुबै राजमार्गको करिब पाच सय मिटर दायाँबायाँको क्षेत्र पनि दंगाग्रस्त क्षेत्र भित्र पर्ने पन्थीले जानकारी दिए ।
प्रशासनले दंगाग्रस्त क्षेत्र घोषित राजमार्गमा बेलुका ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यूसमेत लगाएको छ । दंगाग्रस्त क्षेत्र भित्र सभा, जुलुस, बैठक, भेला, प्रदर्शन र पोस्टर पर्चा टाँस्न नपाइने प्रजिअ पन्थीले बताए । कर्फ्यूमा प्रशासनको अनुमति नलिई नहिँड्नसमेत प्रजिअ पन्थीले बिज्ञप्तीमार्फत आग्रह गरेका छन् ।
दंगाग्रस्त क्षेत्र घोषणा र कफर्यु आदेशपछि प्रशासनले सेना परिचालनको तयारी गरेको छ । प्रजिअ पन्थीले दंगाग्रस्त क्षेत्र घोषणा भएलगत्तै सेना परिचालनको बाटो खुलेको भन्दै आवश्यकता अनुसार नेपाली सेना तैनाथ गरिने जानकारी दिए ।
पन्थीले जारी गरेको बिज्ञप्तीमा सुरक्षाका तीनवटै निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई गोली हान्नसमेत आदेश दिइएको उल्लेख छ ।
‘अब दंगाग्रस्त क्षेत्र भित्र त्यस्ता कुनै किसिमका गतिविधि गर्न पाईदैन्, कसैले गरेमा गोली समेत हान्न सकिनेछ’ पन्थीले भने ‘त्यसैले अब राजमार्गमा प्रर्दशन र अवरोध नगर्न सबैलाई अनुरोध गर्दछु ।'
मोर्चा र प्रहरीबीचको झडपमा मंगलवार कलैयामा २० वर्षीय हिफाजत मिया अंसारीको गोली लागेर मृत्यु भएको थियो ।
प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै प्रदर्शनकारीले राजमार्गका बिभिन्न ठाउँमा बिजुलीको पोल, हयूम पाईप र ढुंगा राखेर टायर बाल्दै प्रदर्शन गर्दै आएका छन् ।
यसैगरी अघिल्लो दिनको तुलनमा बुधवार कलैयाको जनजीवन सामान्य देखिएको छ । प्रहरी र प्रदर्शनकारीबीच मंगलवार दिनभर झडप भएको थियो । झडपकै क्रममा अन्सारीले ज्यान गुमाएका थिए । प्रमुख जिल्ला अधिकारी पन्थीले कलैयाको स्थितीमा सामान्य बन्दै गएको बताए ।
यसैगरी कचोर्वा गाविसमा रहेको चौकी जलाउन पुगेका प्रदर्शनकारीलाई स्थानीयले रोकेका छन् । चौकीमा आगो लगाउन पुगेका प्रदर्शनकारीलाई भित्र पस्न नदिएर स्थानीयले बाहिरै रोकेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।www.annapurnapost.com
0 comments
Write Down Your Responses