७० वर्षदेखिको सपना बल्ल साकार हुँदैछ : प्रचण्ड
काठमाडौँ : एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले आफै संविधान लेख्‍ने ७० वर्षदेखिको सपना साकार हुन लागेको बताएका छन्।

उनले संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको र केही दिनभित्रै जारी हुने भएकाले आफ्नो ध्यान पार्टीलाई सुदृढ गर्नमा लाग्नेतर्फ केन्द्रित हुने बताएका छन्। एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित स्वर्गीय नेता पोष्टबहादुर बोगटीको पहिलो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगत ७० वर्षदेखि नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत संविधान लेख्ने चाहना पूरा भएको उल्लेख गरे।


अध्यक्ष दाहालले संविधान लेखन प्रक्रियाले पूर्णता पाएपछि पार्टीलाई एकीकृत र केन्द्रीकृत गर्ने अभियानमा पार्टीको सम्पूर्ण शक्ति लाग्ने बताउँदै हाल प्राप्त भएको उपलब्धीमा टेकेर थप उपलब्धीका लागि सङ्घर्ष गर्ने अध्यक्ष दाहालको कथन थियो ।


लामो समयदेखि संविधान लेखन प्रक्रियामा लाग्दा अन्य महत्वपूर्ण विषय छुटेको भन्दै उहाँले आगामी दिनमा जनताको एजेण्डामा झन् प्रतिबद्ध भएर लाग्ने विचार व्यक्त गरे।

अध्यक्ष दाहालले आफ्नो पार्टीले २०५७ सालमा सम्पन्न गरेको दोस्रो राष्ट्रिय सम्मेलनले संविधानसभामार्फत संविधान लेखनको कामलाई अगाडि बढाउने निर्णय गरेको स्मरण गर्दै संविधानसभाको महत्वपूर्ण कार्यभारबाट आफूहरू पछाडि हट्न नसक्ने तर्क गरे।

प्रचण्डले नेपाली राजनीतिक नेतृत्वमा इमान्दारिता र नैतिकताको खडेरी परेका बेला स्वर्गीय नेता बोगटीले देखाउनुभएको मार्गलाई आत्मसात् गर्दै अगाडि बढ्नु नै महत्वपूर्ण कार्यभार भएको बताए। सो अवसरमा उनले स्वर्गीय नेता इमान्दारिता र पारदर्शीताको प्रतीक रहनुभएकाले नेपाली राजनीतिमा उहाँको अभाव सधै खड्किरहने बताए।


कार्यक्रममा एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्वर्गीय नेता बोगटीले जनयुद्ध, जनआन्दोलन तथा नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्‍याउनुभएको योगदानको चर्चा गरेका थिए। गत साल हृदयाघात भएपछि नर्भिक अस्पतालमा उपचारको क्रममा भदौ ३० गते नै एमाओवादीका उपाध्यक्षसमेत रहनुभएका बोगटीको निधन भएको थियो । रासस
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses