यसरी भयो यूएन मिशनमा जान परीक्षाको तयारीमा रहेका प्रहरी विकको हत्या, पाँचजना सम्पर्क विहिन
जलेश्वर, भदौ २५ – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आन्दोलनकारीहरुको कुटपिटबाट सशस्त्र प्रहरी असई नेपालगञ्ज निवासी थमन बहादुर विश्वकर्माको मृत्यु भएको छ । हत्या गरिएका विक संयुक्त राष्ट्रसंघको मिशनमा भाग लिनको लागि पथलैयाबाट परिक्षा दिएर आउदै थिए । उनी एक्लै रहेको वखत जलेश्वरका आन्दोलनकारीहरुले उनलाई जलेश्वर नगरपालिकानिर फेला पारेर लखेटेपछि उनी ज्यान बचाउन त्यही रहेको पोखरीमा हामफालेका थिए तर पनि आन्दोलनकारीहरुले उनलाई पोखरीबाट बाहिर निकालेर बाँसको भाटा लगायतबाट कुटपिट गरेका थिए । जलेश्वरमा नै आन्दोलनकारीहरुले बिहान साढे ८ बजे कुटपिट गरेका विकलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको थियो । टाउकोमा चोट लागेको उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि अस्पतालकै एम्बुलेन्सबाट जनकपुर लग्दै थिए । मुख्य बाटो ठाउँ ठाउँमा अवरुद्ध भएका कारणले उनलाई गाउँको बाटो भएर लाग्दै थिए तर महोत्तरी गाविसको अनैठा गाविस पुग्दा आन्दोलनकारीहरुले सो एम्बुलेन्सलाई रोकेर आगजनी गरेका थिए । एम्बुलेन्समा रहेका अन्य पाँचजनालाई पनि कुटपिट गर्न थालेपछि उनीहरु भागेका छन् । तर असई विक भाग्न नसकेपछि उनलाई थप कुटपिट गरेपछि त्यही मृत्यू भयो । विकको शव एम्बुलेन्स जलेको ठाउँबाट करिब ५ सय मिटरको खेतमा फेला परेको सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक धिरेन्द्र पाण्डेले बताए । एम्बुलेन्समा रहेका सशस्त्र प्रहरीका सियापति पासमान, चालक, अस्पतालका एक कर्मचारी तथा सशस्त्रका कर्मचारी राजकुमार झा अहिलेसम्म सम्पर्कमा नरहेको सशस्त्र प्रहरीले जनाएको छ । त्यसैगरी बिहीबार मात्रै आन्दोलनकारीहरुले सशस्त्र प्रहरीकै जवान सुधिर शर्मालाई पनि कुटपिट गरेको बेला उद्धार गरेका थिए । बाराको पिलुवा गणमा कार्यरत उनी महोत्तरीकै पर्सापतैलीका स्थानीय थिए । घर आएको बेला उनलाई जलेश्वरमा स्थानीयहरुले कुटपिट गर्न थालेपछि सुरक्षाकर्मीले हवाईफायर र अश्रुग्याँस छोडदै उनको उद्धार गरेका थिए । www.ratopati.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses