वार्ता गर्न आन्दोलनरत मधेसी दलसँग कुनै माग छैनन् : पौडेल
काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वार्ता गर्न आन्दोलनरत मधेसी दलसँग खास कुनै पनि माग नभएको बताएका छन् ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ३ तथा नेपाली जनसम्पर्क समिति अमेरिकाको संयुक्त आयोजना भएको कार्यक्रममा नेता पौडेलले मधेसी दलको खास माग भए चाँडो वार्तामा आउन आग्रहसमेत गरेका छन् । पौडेलले भने, ‘आन्दोलनरत दलसँग कुनै पनि माग छैन, त्यसैले उनीहरु वार्तामा आउन आनकानी गरिरहनुभएको छ ।’

पौडेलले अब बन्ने नयाँ संविधानमा लोकतन्त्र, मौलिक अधिकार, समावेशितासहितका प्रावधानले दक्षिण एसियाकै उत्कृष्ट हुने जिकिर गरे  । उनले भने, ‘नयाँ बन्न लागेको संविधानले महिला, मधेसी, दलित, आदिवासी, पिछडिएका सबै क्षेत्रको प्रतिनिधित्व गर्ने छ ।’

उपसभापति पौडेलले सहमतिका लागि केही दिन प्रक्रिया स्थगन गरिएकोे बताउँदै सो समयसम्म पनि वार्तामा नआए संविधान निर्माणलाई अगाडि बढाइने बताए ।

कार्यक्रममा कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले आन्दोलनरत दलको मागअनुसार प्रक्रिया रोकेर वार्तामा आउन आह्वान गरिएकाले तत्काल वार्तामा आउन आग्रह गरे । उपप्रधानमन्त्री सिंहले  भने, ‘अधिकतम सहमति गरेर संविधान जारी होस् भन्ने प्रयत्न भइरहेकाले वार्तामा आउन कुनै पनि आनकानी नगर्नुहोस् ।’

कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारीले नेता पौडेल, सिंह, सभासद् डा प्रकाशशरण महत, बालकृष्ण खाँड, शङ्कर भण्डारी, दीपक गिरी, धनराज गुरुङ र दीपक कुइँकेललाई संविधानको अन्तिम हस्ताक्षरका लागि कलम प्रदान गरेका छन् ।

रासस
www.etajakhabar.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses