लुटेरा र प्रहरीबीच गोली हानाहान
थ्री नट थ्री राइफलसहित एक पक्राउतुलसीपुर : शुत्रबार बिहान बसका यात्रु लुटेर भागेकालाई सल्यान प्रहरीले जंगलमै घेरा हालेको छ । घेरा हालेर खोज्ने क्रममा शुक्रबार साँझ र शनिबार बिहानसमेत लुटेरा र प्रहरीबीच गोली हानाहान भएको छ ।
शुक्रबार साँझ प्रहरीले जाजरकोटका सविन रानालाई थ्रीनट थ्री राइफल र एक लाख नगदसहित पक्राउ गरेको थियो ।
अरु लुटेरालाई खोज्ने क्रममा शनिबार बिहान फेरि प्रहरी र लुटेराबीच गोली हानाहान भएको थियो ।
राप्ती अञ्चल प्रहरी कार्यालयका अनुसार पक्राउ परेका रानाबाट सशस्त्र प्रहरीले प्रयोग गर्ने कम्ब्याट, थ्री नट थ्री र त्यसको ६ राउन्ड गोली, मोबाइल तथा २ थान खुकुरी पनि प्रहरीले बरामद गरेको छ ।
शुक्रबार बिहान १ बजेतिर सल्यान सुइकोटमा ३ वटा बसका यात्रु लुटिएका थिए । तीनवटा बसका यात्रुबाट करिब १२ लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको ठूलो संख्याले घेरा हालेर लुटेराहरु खोजिरहेको छ ।
ती बस नेपालगञ्जबाट रुकुम जाँदै थिए । बसमा लुटिनेहरु अधिकांश भारतमा कमाएर दशैं मान्न घर फर्किएकाहरु छन् ।annapurnapost.com


0 comments
Write Down Your Responses