प्रतिबद्धता हैन आश्वासन मात्र लिएर नेपाल फर्किए मन्त्री थापा
नाकाबन्दी लगाइरहेका बेला नयाँ सरकार गठन भएपछि सो सरकारका परराष्ट्रमन्त्री कमल थापालाई भारत भ्रमणमा बोलाएर आफ्ना कुरा राखेको भारतले नेपालमा भैरहेको नाकाबन्दी हटाएर आपूर्ति व्यवस्था सहज बनाउने आश्वासन दिलाएको मन्त्री थापाले बताउनुभएको छ ।सोमबार तीन दिने भारत भ्रमणबाट स्वदेश फर्कने क्रममा मन्त्री थापाले भारतीय पक्षसंग नेपालमा आपूर्ति व्यवस्था असहज हुँदा उत्पन्न समस्या र राजनीतिक गतिरोधको गाँठो फुकाउन चालिएका कदमहरुको जानकारी दिंदै आपूर्ति सहज पार्न आग्रह गर्नुभएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेश मन्त्री सुषमा स्वराजसंगको भेटवार्ता सकारात्मक भएको भन्दै मन्त्री थापाल स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै भारतले आपूर्ति व्यवस्था सहज बनाउने प्रतिबद्धता जनाएको बताउनुभयो ।
भारतले नाकाबन्दी नै नलागेको र नेपालमा भैरहेको आन्दोलनका कारण आपूर्तिमा समस्या उत्पन्न भैरहेको बताइरहेका बेला मन्त्री थापा समक्ष भारतीय सीमासम्म सहज रुपमा आपूर्ति गराउने विश्वास दिलाएको र सम्बन्धित नाकामा अबरोध भए अर्को नाकासम्मको पहुँचमा सघाउन विश्वास दिलाएको पनि बताउनुभयो ।
पत्रकार सम्मेलनमा मन्त्री थापाले भारतीय नेताहरुले नेपालको समस्याप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेको भन्दै आफूसंगको छलफलमा आपूर्ति व्यवस्थालाई सहज बनाउन कुनै पनि अवरोध हुने छैन । उपलब्ध नाकाहरुबाट लैजान सक्नुहुन्छ भनेको जानकारी दिनुभयो ।
त्यस्तै भारतीय अधिकारीहरुले उपलब्ध नाकाहरु नजिकका डीपोहरुबाट तेल लैजान सुझाएको बताउँदै भारतले बोर्डरहरुसम्म ल्याइदिने काम गर्ने त्यहाँबाट नेपालले लैजानुपर्ने बताएको समेत जानकारी दिनुभयो ।
यसका साथै नेपालमा बनेको नयाँ संविधानमा सबैको सामित्व कायम हुन सकोस् भन्ने प्रष्ट सन्देश दिल्लीले दिएको र कसरी सबैको स्वामित्व कायम गर्ने भन्ने नेपालको आन्तरिक मामिलाको कुरा भएको बताएको पनि जानकारी दिनुभयो ।
भारतले हरेकपटक आपूर्ति सहज बनाउने भन्दै आए पनि त्यस्तो वातावरण छैन । यसपटक मन्त्रीस्तरमै भएको छलफल भएकाले केही आश गर्ने ठाउँ रहे पनि भारतको व्यवहार सामुन्ने नआउँदासम्म यसै भन्न सकिने स्थति छैन । www.nepaljapan.com
0 comments
Write Down Your Responses