यस्तो छ प्रधानमन्त्री चयनको प्रक्रिया
काठमाडौँ— व्यवस्थापिका–संसद् सचिवालयले प्रधानमन्त्री चयनसम्बन्धी निर्वाचन तालिका प्रकाशित गरेको छ । संसद्को आजको बैठकमा सभामुख सुवास नेम्वाङले प्रधानमन्त्रीको निर्वाचन सम्बन्धी आवश्यक व्यवस्था मिलाउन दिएको निर्देशनअनुसार नै कार्यतालिका प्रकाशित गरेको हो ।आज प्रकाशित सुचनाअनुसार भोलि शनिबार ११ बजेदेखि चारबजेसम्म प्रधानमन्त्रीका उम्मेदवारी दर्ता गराउने समयसीमा तोकिएको छ । एक जना प्रस्तावक र समर्थकले समर्थन गरेको प्रस्ताव संसद भवन नयाँ बानेश्वरमा दर्ता गर्नुपर्नेछ । आवेदन दर्ता भएपछि शनिबार ४:३० बजे सचिवालयले दर्ता भएको प्रस्तावको अन्तिम सूची प्रकाशित गर्नेछ ।आइतबार विहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको उम्मेदवारका समर्थक र प्रस्तावकले आ–आफ्नो धारणा राखेपछि मतदान प्रक्रियामा प्रवेश गर्नेछ । राष्ट्रपति डा रामवरण यादवले सहमतिको आधारमा प्रधानमन्त्री चयन गर्न दिएको समयसीमा विहिबार सकिएपछि आजबाट बहुमतीय प्रक्रियाका आधारमा पम चयनको प्रक्रिया अगाडि बढेको हो । प्रधानमन्त्रीमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली मैदानमा ओर्लिइसकेका छन् । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय कार्य समितिको बैठकले वर्तमान प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल तीनै जानाले उम्मेदवार बन्ने इच्छा व्यक्त गरेको बताइएको छ । काँग्रेस बैठकमा चर्को विवाद भएपछि तीनै जना प्रधानमन्त्रीको उम्मेदवार बन्ने बताएका हुन् । सुशील कोइराला बोलिरहेको बेला पौडेलले माइक खोसेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । www.ratopati.com


0 comments
Write Down Your Responses