बैकल्पीक आपूर्ति व्यवस्था गर्न संयन्त्र गम्भीर, पाँच सदस्यीय मस्यौदा समिति गठन
काठमाडौं, ७ कात्तिक । उच्चस्तरीय राजनीतिक संयन्त्रले सरकारको न्यूनतम साँझा कार्यक्रमको मस्यौदा तयार पार्न पाँच सदस्यीय समितिको गठन गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संयन्त्रको बैठकले पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समितिमा एमालेका तर्फबाट उपाध्यक्ष भीम रावल र स्थायी समिति सदस्य शंकर पोखरेल, एकीकृत माओवादीका स्थायी समिति सदस्य वर्षमान पुन, मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक)का उपाध्यक्ष जितेन्द्र देव र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य सुरेश आचार्य रहनुभएको छ ।
बैठकमा आपूर्ति व्यवस्थामा देखिएको असहजता, बैकल्पीक व्यवस्था, मधेसी मोर्चासँगको वार्ता र मागलगायतका विषयमा पनि छलफल भएको थियो ।
संयन्त्रका संयोजकसमेत रहनुभएका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री के.पी. ओलीलगायतका नेताहरूको पनि सहभागिता रहेको थियो ।
बैठकमा प्रधानमन्त्री ओली र संयोजक दाहालले न्यूनतम साँझा कार्यक्रमका बारेमा मस्यौदा समितिलाई नीतिगत निर्देशन दिनुभएको प्रेस सल्लाहाकार दाहालले बताउनुभयो ।
उहाँहरूको निर्देशन अनुसार मस्यौदा समितिले कार्यक्रमको मस्यौदा तयार पारी बैठकमा प्रस्तुत गर्नेछ ।
मस्यौदा समितिको बैठक भोलि आइतबार बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।
dainiknepal.com


0 comments
Write Down Your Responses